महासभामा डोनाल्ड ट्रम्पले के के भने?

ट्रम्प र अन्य नेताहरु

तस्बिर स्रोत, UN / EVN

संयुक्त राष्ट्रसंघको महासभाको आफ्नो पहिलो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दा उच्चारण समेत गरेनन्। उनले उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गरिदिने चेतावनी दिए र इरानको चर्को निन्दा गरे।

ट्रम्पले आफ्नो देशलाई धम्की दिइरहे उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गरिदिने चेतावनी दिएका छन्।

उनले इरान, भेनेजुएला लगायतका देशका शासकहरुको आलोचना गर्दै क्षेत्रिय अस्थिरताका लागि उनीहरु जिम्मेवार रहेको आरोप लगाए।

ट्रम्पले आफ्नो सम्बोधनमा उच्चारण समेत नगरेको जलवायु परिवर्तनका कारण दशौँ लाख मानिसहरु जोखिममा परिरहेको धारणा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंले राखेका छन्।

आक्रोश

महासभामा ट्रम्पले राष्ट्रसंघको सुरक्षा परिषदका प्रतिबन्धहरुका वावजुद क्षेप्यास्त्र परीक्षणलाई कायम राखेको उत्तर कोरियाविरुद्ध आफ्नो आक्रोश पोखेका थिए।

उनले उत्तर कोरियाली नेता किम जोङ अनलाई 'आत्महत्याको पथमा अघि बढिरहेका रकेट म्यान' को संज्ञा दिए।

उत्तर कोरियाको परमाणु कार्यक्रमबाट विश्वलाई जोखिम रहेको बताउँदै उनले भने, 'संयुक्त राज्य अमेरिकासँग अथाह शक्ति र धैर्य रहेको छ तर यदी आफ्नो र आफ्ना साझेदारको रक्षा गर्न वाध्य पारियो भने हामीसँग उत्तर कोरियालाई पूर्ण रुपले नष्ट गरिदिनु बाहेकको विकल्प हुनेछैन।'

उनले उत्तर कोरिया विरुद्ध सुरक्षा परिषदबाट लगाइएका प्रतिबन्धलाई लिएर रुस र चीनलाई धन्यवाद दिए।

सुरक्षा परिषदको निर्णयप्रति प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले थप प्रतिबन्ध र दबाबले आफ्ना परमाणु कार्यक्रमलाई अझ अघि बढाउन सघाउ पुर्‍याउने चेतावनी दिएको थियो।

पछिल्लो पटक उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी शुक्रबार क्षेप्यास्त्र परीक्षण गरेको थियो।

महासभाको शुरुमा बोल्दै राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले उत्तर कोरियाको परमाणु कार्यक्रमको निन्दा गरेका थिए र सुरक्षा परिषदको एकताले मात्रै उत्तर कोरियालाई परमाणु अस्त्रबाट निरस्त्रीकरण गर्न सक्ने बताएका थिए।

करिब पौने एक घण्टा लामो आफ्नो सम्बोधनका क्रममा ट्रम्पले इरान सरकारले आंतकवादीहरुलाई समर्थन गरिरहेको भन्दै आफ्ना पूर्ववर्ती बराक ओबामाले परमाणु कार्यक्रमबारे इरानसँग गरेको सहमति लज्जास्पद किसिमको भएको बताए।

त्यसबाहेक भेनेजुएलामा पूर्ण प्रजातन्त्र बहाली हुनुपर्ने र त्यहाँ प्रजातन्त्रका लागि भएका आन्दोलन विरुद्ध सरकारबाट भएका दमनलाई अमेरिकाले हेरेर नबस्ने उल्लेख गरे।

सुधार

अमेरिकाले राष्ट्रसंघको बजेटको २२ प्रतिशत रकम उपलब्ध गराइरहेको भन्दै ट्रम्पले राष्ट्रसंघमा सुधार ल्याउनुपर्ने बताए।

'१ सय ९३ सदस्य राष्ट्रमध्ये अमेरिका एउटा मात्रै हो तर हामीले उपलब्ध गराएको खर्चको अनुपात एकदमै असन्तुलित छ।'

'प्रायजसो यो संस्थाको जोड परिणाममा नभइ कर्मचारीतन्त्र र प्रक्रियामा रहेको छ, निक्कै खराब मानवअधिकारको आँकडा भएका देशहरु राष्ट्रसंघको मानवअधिकार परिषदमा छन् जुन लाजमर्दो विषय हो।'

अमेरिकी जनताबाट चुनिएकाले आफूले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने भन्दै उनले अन्य विश्वनेताहरुलाई पनि आफ्नो देशलाई पहिलो प्राथमिकता दिन भनेका थिए।

ट्रम्पअघि बोलेका राष्ट्रसंघका महासचिव गुटेरसले शरणार्थी समस्या, आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरुमा ध्यान दिन आह्वान गरेका थिए।

उनले संसारलाई सुधार्न विश्व नेतालाई आग्रह गर्दै आफूले राष्ट्रसंघको सुधारका लागि काम गर्ने वाचा गरे।

ट्रम्पले चर्चा नै नगरेको जलवायु सम्बन्धी प्यारीस सम्झौतालाई फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले प्रमुखताका साथ उठाएका थिए।

उनले सबै देशले उक्त सम्झौता कार्यान्वयन गर्न लाग्नुपर्ने भन्दै त्यसमा आपसी सहमतिका आधारमा केही संशोधन भने गर्न सकिने बताए।

आफूलाई अर्बौ डलर नोक्सानी हुने भन्दै अमेरिकाले प्यारीस जलवायु सम्झौताबाट अलग हुने निर्णय गरेसँगै उक्त सम्झौताको भविष्यलाई लिएर चिन्ताहरु प्रकट भएका छन्।