रोहिंज्या रोक्न नेपालद्वारा सीमामा कडाइ

भारतमा रहेका रोहिंज्या शरणार्थी नेपाल पस्न सक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताएको छ।
केही वर्षअघि प्रवेश गरेका केही रोहिंज्या नेपालमा बसिरहेका छन्।
पछिल्ला दिनमा म्यानमारमा भएको हिंसाका कारण आफ्नो देश छोड्न बाध्य भएका भनिएका त्यहाँका रोहिंज्या मुसलमान ठूलो संख्यामा बांग्लादेशमा शरण लिन पुगेका छन्।
तरंग
अन्तर्राष्ट्रिय ध्यान तानेको त्यस प्रकरणसँगै केही वर्षदेखि भारतमा शरण लिइरहेका हजारौं रोहिंज्यालाई त्यहाँको सरकारले देश निकाला गर्ने भनेपछि त्यसको तरंग नेपालसम्म देखिएको हो।

तस्बिर स्रोत, Reuters
म्यानमार फर्किन नसक्ने अवस्थामा रहेका उनीहरु विगतमा भुटानी शरणार्थी जस्तै नेपाल पस्ने चिन्ता गृहमन्त्रालयमा पाइन्छ।
त्यसो हुन नदिन भारतसँगको सीमा नाकामा कडाइ गरिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।
उनले भने, "उनीहरु नेपाल प्रवेश गर्न नपाऊन् भनेर हामीले दक्षिणी सीमा नाकामा रहेका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइसकेका छौं र त्यहाँ उच्च सतर्कता अपनाउन भनिएको छ।"
मान्यता
केही वर्षअघि नेपाल प्रवेश गरेकामध्ये २ सयभन्दा बढी रोहिंज्या मुसलमानले शरणार्थीको परिचयपत्र लिइसकेको बताइएको छ।
पछिल्ला दिनमा भने उनीहरु नेपाल प्रवेश नगरेको र नाकामा सूचना संकलनका लागि संयन्त्र परिचालन गरिएको गृह प्रवक्ता सुवेदीको भनाइ छ।
उनले भने, "स्थानीय स्तरमा हाम्रा सूचना संकलन गर्ने विभिन्न संयन्त्रहरु छन्। ती गोप्यरुपमा परिचालन गरिएका छन्। गैरकानूनी रुपमा कोही छिर्न खोज्यो भने हामीसम्म सूचना आइपुग्ने व्यवस्था मिलाएका छौं।"

केही वर्षअघिसम्म नेपालमा १ लाखभन्दा बढी भुटानी शरणार्थी पूर्वी नेपालमा बसिरहेका थिए।
अधिकांशजसोलाई तेस्रो मुलुकमा पुनर्स्थापित गरिएपछि अब १० हजारको संख्यामा भुटानी शरणार्थीहरु बाँकी छन्।
कैयौं तिब्बतीहरु पनि नेपालमा शरण लिइरहेका छन्।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयका अनुसार उनीहरु बाहेक अन्य देशका करिब ५ सयजना शरणार्थीका रुपमा नेपालमा बस्दै आएका छन्।








