रोहिंज्या समस्या: एकतर्फी युद्धविराम घोषणा

रोहिंज्या

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आफ्ना गाउँ सेनाले जलाइदिएको रोहिंज्याले बताउँछन् तर म्यानमारले सेना "आतंकवादी"सँग लडिरहेको बताउँछ

रोहिंज्या मुस्लिम विद्रोहीहरुले सुदुर पश्चिममा उत्पन्न मानवीय संकटलाई सहज बनाउने प्रयत्न गर्न भन्दै म्यानमारमा आइतबारदेखि शुरु हुनेगरी एकतर्फी युद्धविराम घोषणा गरेका छन्।

उत्तरी रखाइन राज्यमा एकमहिना लामो युद्धविराम घोषणा गरिएको हो।

आर्कन रोहिंज्या साल्भेसन आर्मी (आर्सा)ले २५ अगष्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारवाही शुरु गरेको थियो।

जसका कारण सैनिक कारवाही शुरु भए यता तीन लाख रोहिंज्या छिमेकी बांग्लादेशतर्फ भागेका छन्।

क्रुर अभियान

रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यत मुस्लिम अल्पसंख्यक हुन्।

राज्यबिहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले आफूहरु विरुद्ध गाउँ जलाउँदै क्रुर अभियान चलाएको बताउँछन्।

म्यानमारले त्यसलाई अस्वीकार गर्छ र सेना रोहिंज्या "आतंकवादी"सँग लडिरहेको बताउँछन्।

विद्रोही समुहले सुरक्षा फौजलाई उनीहरुको जस्तै युद्धविराम गर्न र मानवीय सहायताकर्मी संस्थाहरुलाई आफ्नो काम पुन: शुरु गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्र संघले म्यानमार छोडेर भागेका सहायता समुहलाई ७ करोड ७० लाख डलर आवश्यक पर्ने बताएको छ।