जब जनतासँगै राजा पनि प्रदर्शनमा उत्रिए…

प्रदर्शन

तस्बिर स्रोत, Reuters

स्पेनको बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए।

सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन्।

सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्यु भएपछि स्पेनमा राजतन्त्रको पुनर्बहाली भएको थियो।

निन्दा

लस र्‍याम्ब्लसमा गराइएको आक्रमणमा परेकालाई सहयोग गर्ने आपतकालीन सेवाकर्मी र पसलेहरुले पनि प्रदर्शनमा सहभागिता जनाए।

अघिल्तिरको पंक्तिमा "म डराएको छुइनँ" लेखिएको ठूलो ब्यानर पछाडि दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शन

तस्बिर स्रोत, Reuters

स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री देखिएका थिए।

कतिपय प्रदर्शनकारीले मुस्लिमहरुसँग घुलमिल नरुचाउने कार्यको निन्दा गरिएको प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागी राजातिर सिठी बजाउँदै केही प्रदर्शनकारीले 'बाहिर' भनेका थिए।

एकढिक्का

क्याटालोनियाले आउँदो अक्टोबर महिनामा मान्यता नपाएपनि स्वतन्त्रतामाथि जनमत संग्रह गराउँदैछ।

प्रधानमन्त्री राखोयले क्याटालोनिया र स्पेनका बाँकी भाग 'आतंकवादविरुद्ध एकढिक्का रहेको देखाउन सबैलाई' प्रदर्शनमा सहभागी हुने प्रोत्साहित गरेका थिए।

यही अगस्ट महिनाको १७ तारिख हिँडिरहेका मानिसहरुमाथि भ्यान जोताइएको थियो।

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको थियो।