‘दलित कृषकलाई साथ दिएकोमा बहिष्कार’

दक्षिण भारतीय राज्य तेलंगानाकी एक महिलाले आफूले दलित समुदायका एक जना कृषकलाई समर्थन गरेकोमा सामाजिक विभेदको सामना गर्नु परिरहेको बताएकी छन्।

५० वर्षीया समा इन्दिरा उपल्लो जात भनिने रेड्डी समुदायकी हुन्। उनले उनको समुदायको एउटा संगठनले आफूसँग बोल्ने जो कोहीलाई ५ हजार भारतीय रुपियाँ जरिवाना लगाउने निर्णय गरेको जानकारी दिइन्।

प्रहरीले एक जना दलित कृषकलाई उनले भाडामा दिएको जमिनबारे विवाद भएको जनाएको छ।

भारतका कैयौँ स्थानमा अझै पनि जातीय छुवाछुतको कुप्रथा कायम छ।

अछुत

भारतीय जात प्रणालीले हिन्दुहरुलाई चार वटा तहमा विभाजन गरेको छ। जात प्रणाली भन्दा बाहिर रहेकाहरुलाई 'अछुत' मान्दै विभेद गर्ने गरिएको छ।

शताब्दीयौँसम्म जातले भारतको धार्मिक र सामाजिक जीवनको लगभग सम्पूर्ण क्षेत्रलाई प्रभावित पारेको थियो तर भारतको संविधानले जातका आधारमा कुनै किसिमको भेदभाव गर्न प्रतिबन्ध लगाएको छ।

समाका परिवारले बीबीसी हिन्दीसँग कुरा गर्दै एक जना दलित कृषक कोपाभेली लक्ष्मीलाई १० वर्षअघि भाडामा दिइएको जग्गालाई लिएर विवाद भएको जानकारी दिएको छ।

उनीहरुका अनुसार रेड्डी समुदायको अर्को परिवारले समाको जमिन नजिकै जग्गा किनेको र उनको खेतीमा काम गर्न जाने दलित कृषकले उसको जमिन हुँदै हिँडेकोमा विरोध जनाएपछि पछिल्लो समस्या आएको हो।

विवाद

उक्त दलित परिवारले लगाएको सम्पूर्ण बालीमा क्षति पुर्याइएपछि कोपाभेली आफ्नी साहुनी समालाई लिएर प्रहरीकोमा उजुरी दिन गएकी थिइन्।

"गाउँको रेड्डी एशोसियसनले मैले उनीसँग गरेको जग्गा भाडा सम्झौता रद्द गरिदिउँ भन्ने चाहेका थिए मैले त्यसलाई अस्वीकार गरे किनकि लक्ष्मी मेरी बच्चैदेखिकी साथी हो, त्यही भएर उनीहरुले मलाई बहिष्कार गरिरहेका छन्।"

समुदायको कदमले आफूलाई गहिरो पीडा दिएको पनि उनले बताइन्।

रेड्डी समुदायको उक्त संगठनले प्रतिक्रिया दिन अस्वीकर गरेको छ।

एक जना वरिष्ठ प्रहरी अधिकारी सी माधवीले बीबीसीसँग भनिन्, "रेड्डी संगठनका सदस्यहरुले श्रीमती समाले जानीजानी ती कृषकलाई आफूहरु विरुद्ध उजुरी गर्न उक्साएको महसुस गरेका छन्।"

रेड्डी समुदायको उक्त संगठनका नौ जना पदाधिकारीविरुद्ध प्रहरीले तीन वटा मुद्दा दर्ता गराएको छ।

जातीय विभेदविरुद्ध कडा कारबाहीको व्यवस्था गरेको उक्त कानून अन्तर्गत मुद्दा खेप्नेमा संगठनका अध्यक्ष र उपाध्यक्ष समेत छन्।