आप्रवासन नीतिविरोधी उच्चअधिकारी ट्रम्पद्वारा बर्खास्त

तस्बिर स्रोत, AFP
कतिपय मुलुकका शरणार्थीहरुमाथि प्रतिवन्ध लगाउने आफ्नो कदमको वैधानिकतामाथि प्रश्न उठाउने कार्यवाहक महान्यायाधिवक्तालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बर्खास्त गरेका छन्।
ट्रम्पका पूर्ववर्ती बराक ओबामाको पालोमा नियुक्ति पाएकी स्याली एट्सले राष्ट्रपतिको कार्यकारी आदेश कार्यान्वयन नगर्न न्याय मन्त्रालयका वकीलहरुलाई भनेकी थिइन्।
एउटा वक्तव्यमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एट्समाथि 'धोका दिएको' आरोप लगाएको छ।
एट्सको स्थानमा ड्याना बोयन्टे नियुक्त भएका छन्।
विवाद
ट्रम्पले महान्यायाधिवक्तामा भने जेफ सेसन्सलाई मनोनयन गरेका छन्।
तर उनको मनोनयनलाई संसदको माथिल्लो सदन सिनेटले अनुमोदन गर्न बाँकी छ।
एट्सले आफ्ना कर्मचारीहरुलाई लेखेको पत्र अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
त्यसमा एट्सले ट्रम्पको आदेशलाई चुनौती दिँदै अदालतमा अधिकारक्षेत्रबारे थुप्रै मुद्दा परेको उल्लेख गरेकी छन्।

तस्बिर स्रोत, Reuters
उक्त पत्रमा उनले आफ्नो जिम्मेवारी, न्याय मन्त्रालयको धारणा कानूनी रुपमा प्रतिरक्षा गर्न सकिने सुनिश्चित गर्नुमात्रै नभइ कानुनमा के छ भन्नेबारे जानकारी गराउनु पनि रहेको बताएकी छन्।
'घातक'
अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुले अमेरिकाले मुसलमानहरुको बाहुल्य रहेका सात देशका यात्रुमाथि लगाएको अस्थायी प्रतिवन्धको आलोचना गर्दै एउटा मस्यौदा पत्र आन्तरिक रुपमा मातहतका कर्मचारीलाई पठाएका छन्।
बीबीसीले हेरेको उक्त मस्यौदाको केही विवरणमा अस्थायी प्रतिबन्धले आतंककारी हमलालाई रोक्ने ट्रम्पको उद्देश्य हासिल नहुने उल्लेख गरिएको छ।
सार्वजनिक हुन बाँकी उक्त पत्रमा बरु अस्थायी प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको नीति आफ्नै लागि घातक हुनसक्ने उल्लेख गरिएको छ।








