यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको र सहयोग दिने प्रस्ताव गरेको बताएका छन्।
आफ्नो त्रास सही निस्किएको र रुसले आक्रमण गर्न सक्ने चेतावनी मिलेको उनको भनाइ थियो।
जोनसनले भनेः रुसका राष्ट्रपति पुटिनले युरोपमा युद्ध आरम्भ गरेका छन्। एउटा मित्रराष्ट्रमाथि कुनै पत्यारलाग्दो निहुँबिनै आक्रमण गरेको उनको भनाइ थियो।
उनका अनुसार पूरै बेकसुर जनतामाथि बमको वर्षा भइरहेको छ।
"आकाशबाट र समुद्रबाट ठूलो आक्रमण भइरहेको छ।"
युरोपको दोस्रो ठूलो देश युक्रेनले दशकौँदेखि स्वतन्त्रता र प्रजातन्त्र उपभोग गर्दै आएको स्मरण गर्दै जोनसनले भने, "हामी स्वतन्त्रतालाई मासिन दिन सक्दैनौँ। हामी सक्दैनौँ र बेवास्ता गर्दैनौँ।"
युक्रेनलाई यूकेले प्रतिरक्षाका लागि अस्त्र पठाएको उल्लेख गर्दै उनले अरू साझेदारहरूले पनि त्यसै गरेको तथा आगामी दिनमा पनि यूकेले सघाउने उनको भनाइ छ। तर त्यसबारे उनले थप खुलाएनन्।
टेलिभिजन सम्बोधनमा जोनसनले रुसी आक्रमणलाई "पुटिनको घृणित र बर्बर काम" भनेर निन्दा गरे।
पुटिनले युक्रेनमा "हिंसाको ज्वारभाटा" सिर्जना गरेको आरोप जोनसनले लगाए।
रुसी जनतालाई सम्बोधन गर्दै उनले "तपाईँहरूको नाममा" यसो भइरहेको आफूलाई विश्वास नलागेको बताए।
युक्रेनी जनतालाई सम्बोधन गर्दै जोनसलने भनेः "हामी तपाईँहरूको साथमा छौँ। हामी तपाईँहरू र तपाईँहरूका परिवारका लागि लागि प्रार्थना गर्दैछौँ।"