तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक भन्दै कांग्रेसको आपत्ति

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकांक्षालाई थप उजागर’ गर्ने बताएका छन्।

लाइभ कभरेज

  1. धन्यवाद।

    हाम्रो लाइभ पेजमा जोडिनु भएकोमा धन्यवाद।

    आजका प्रमुख समाचारहरू पढ्न तल हेर्नुहोला।

    हामी भोलि बिहान ७:१५ मा रेडियोमा उपस्थित हुनेछौँ। वेबसाइटमा प्रमुख खबरहरू अपडेट हुने नै छन्।

    शुभ रात्री!

  2. पक्राउ परेका आन्दोलनकारी रिहा

    प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका केही मानवअधिकारकर्मी लगायतलाई अघि साँझ रिहा गरिएको छ।

    बालुवाटारमा प्रधानमन्त्री निवासअगाडि उनीहरूले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका थिए।

    सो क्रममा प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको उनीहरूले बताएका थिए।

    आन्दोलनकारीलाई नियन्त्रणमा लिनुअघि प्रहरीबाट पानीका फोहरा पनि प्रयोग गरिएको प्रदर्शनकारीले बताएका छन्।

    प्रदर्शनमा सहभागीमध्ये एक अधिकारकर्मी कृष्ण पहाडीले नागरिकहरू अब जागरुक भइसकेको बीबीसी नेपालीलाई बताए।

  3. राष्ट्रिय एकदिवसीय क्रिकेटको अन्तिम चार टोलीको टुङ्गो

    काठमाण्डूमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपाल प्रहरी, बागमती प्रदेश, सशस्त्र प्रहरी बल र त्रिभुवन सैनिक क्लब खेल्ने भएका छन्।

    सोमवार भएको अन्तिम लीग खेलमा नेपाल प्रहरीले प्रदेश नं २ लाई ४ विकेटले हराउँदै समूह ‘ख’बाट सेमीफाइनलमा स्थान पक्का गरेको हो। सो समूहबाट बागमती प्रदेश समूह विजेता बन्दै सेमीफाइनलमा पुगेको छ।

    समूह ‘क’ बाट भने सशस्त्र र सेनाको टोली सेमीफाइनलमा पुगेका हुन्। उनीहरू बीचको सोमवार सम्पन्न लीग खेलमा सशस्त्रले ६ रनको विजय हात पारेको थियो।

    दशवटा टोली सम्मिलित प्रतियोगिताको सेमीफाइनल बुधवार र बिहीवार एवं फाइनल शनिवार कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ।

  4. चुनाव सर्न सक्छ: गृहमन्त्री

    गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने धारणा राखेको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति राससले जनाएको छ।

    कालीकोटको मान्ममा सोमवार बोल्दै गृहमन्त्री थापाले भने, “वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ। निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्।”

    “अदालतको फैसला कुरिरहेका छौँ। अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला।”

    राससका अनुसार थापाले नेकपा एक हुन अहिले सम्भव नभएको बताएका छन्।

    “चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पुरानै पार्टीलाई निरन्तरता दिएको छ। दुई भागमा विभाजन भएको पार्टीलाई एक ठाउँमा ल्याउन अहिले सम्भव छैन,” राससले थापालाई उद्धृत गरेको छ।

  5. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन्’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने बताएका छन्।

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको कांग्रेसको भनाइ छ।

    प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई 'धूलिसात्' बनाउँदै लगेको काङ्ग्रेसको दाबी छ।

    आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा छ, “उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन,लज्जास्पद पनि छ।”

  6. सुनखानीमा नौ जनाको शव भेटियो

    चीनको सुनखानीमा फसेका नौ जना मृत फेला चीनको एउटा सुनखानीमा दुई सातादेखि फसेका नौ श्रमिकको शव फेला परेको छ।

    एघार जनालाई जीवितै उद्धार गरिएको भोलिपल्ट सोमवार नौ जना मृत फेला परेका हुन्। एक जना अझै सम्पर्कविहीन छन्।

    ज्यानुअरी १० मा सुनखानीको मुख एउटा विस्फोटनपछि थुनिएपछि ती श्रमिकहरू अलपत्र परेका थिए।

    यो पनि पढ्नुहोस्

    • फसेका ११ श्रमिक जमिनमुनि कसरी दुई हप्तासम्म बाँचे
  7. निर्वाचन आयोगको निर्णयबारे नेकपाको दुई पक्षको प्रतिक्रिया

    नेकपाबारे निर्वाचन आयोगको निर्णयबाट केपी शर्मा ओली पक्ष दङ्ग देखिन्छ भने प्रचण्ड पक्षका एक नेताले निर्णयमाथि प्रश्न उठाएका छन्।

    के छन् उनीहरूका तर्क? यहाँ पढ्नुहोस्

  8. पहिलो चरणमा कसले पाउँछन् कोभिड खोप?

    भारतले अनुदानमा दिएको कोभिशील्ड खोपको १० लाख मात्रा आइतवार विभिन्न प्रदेशमा पठाइएको छ। सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा पठाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा प्राथमिकतामा परेका समूहलाई खोप दिइनेछ।

    • स्वास्थ्यकर्मी: २,७०,०००
    • महिला स्वास्थ्य स्वयंसेविकाः ६०,०००
    • कैदीबन्दी र जेल सुरक्षाकर्मीः ३०,०००
    • अन्तर्राष्ट्रिय सीमा प्रवेशबिन्दुका कर्मचारीः १९,०००
    • फोहरमैला व्यवस्थापन सङ्कलक र चालकः १५,०००
    • एम्बुलेन्स तथा शववाहन चालक: १०,०००
    • खोप केन्द्रमा खटिने सुरक्षाकर्मीः ५,०००
    • स्वंयसेवक र वृद्धाश्रममा बस्ने तथा व्यवस्थापन गर्ने मानिसः ५,०००
  9. राजधानीमा लाखौँ मानिस भेला गर्ने ओली पक्षको घोषणा

    माघ २३ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी ओली समूहले उक्त दिन लाखौँ मानिसहरू सरकारको समर्थनमा भेला हुने बताएको छ।

    सोमवार पत्रकार सम्मेलन गरेर उक्त समूहले देशभित्र र अन्तर्राष्ट्रिय जगत् दुवैलाई आफ्नो पक्षको शक्ति देखाउने उद्देश्यसहित लाखौँको सङ्ख्यामा मानिसहरू सभामा आउने दाबी गरेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभामा सम्बोधन गर्दै अहिलेसम्म गोप्य रहेको असाध्यै महत्त्वपूर्ण विषय जानकारी गराउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

    उक्त पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध लगाइएको आरोपपत्र फिर्ता लिने र घोषित चुनावमा भाग लिने प्रतिबद्धता अर्को पक्षले जनाए पार्टी एकता कायमै रहने बताएका थिए।

  10. भीरको बाटो

    म्याग्दीको रघुगङ्गा गाउँपालिका हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने गरी अजिङ्गर भीरमा बाटो निर्माण भएको छ।

    सो बाटो गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा निर्माण गरिएको बताइएको छ।

    तस्बिर: रासस

  11. मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड

    मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यान्वेल लोपेस ओब्र्याडोरलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।

    ट्विटरमा लेख्दै ६७ वर्षीय राष्ट्रपतिले आफूलाई सामान्य लक्षण देखिएको र घरबाटै काम गर्ने जनाएका छन्। मेक्सिकोमा केही समययता सङ्क्रमितको सङ्ख्या बढेको छ। अहिलेसम्म त्यहाँ डेढ लाख जनाले कोभिडका कारण ज्यान गुमाइसकेका छन्।

    मेक्सिकोले रुसले कोभिड-१९ नियन्त्रण गर्न बनाएको स्पुत्निक भी खोप किन्ने प्रयास गरिरहेको छ। राष्ट्रपति ओब्राडोरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग खोपबारे कुरा गर्ने बताएका छन्।

    यो पनि हेर्नुहोस्

  12. तेस्रो चरणको आन्दोलन निर्णायक हुने प्रचण्डको भनाइ

    प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव कुमार नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

    राजधानीमा सोमवार बिहान आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त आन्दोलन निर्णायक हुने भन्दै त्यसले छिनोफानो गरिदिने बताए।

    नेकपाको केन्द्रीय सङ्घर्ष समितिले निकालेको प्रेस विज्ञप्तिमा माघ १३ देखि २८ गतेसम्मका आन्दोलनका कार्यक्रमहरू समावेश गरिएको छ।

    त्यसमा माघ १५, १६ र १७ गते बुटवल, विराटनगर र धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने अनि माघ २८ गते काठमान्डूमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने उल्लेख गरिएको छ।

    माघ २८ गतेको सभाका लागि प्रदेश नम्बर २ बाट कम्तीमा २५,००० व्यक्तिहरूलाई काठमाण्डू ल्याउन प्रचण्डले नेताहरूलाई निर्देशन दिएका छन्।

  13. भारतीय र चिनियाँ सेनाबीच 'फेरि भिडन्त'

    भारत र चीनका सैनिकहरूबीच सिक्किमको सीमावर्ती क्षेत्रमा भिडन्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    उक्त भिडन्त तीन दिनअघि भएको बताइएको छ।

  14. निर्वाचन आयोगले किन देखेन नेकपाको 'विभाजन?

    निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै खेमाबाट पार्टीको आधिकारिकता दाबी नगरिएकाले त्यसबारे कुनै निर्णय नगरिएको बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले तथा प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका दुवै समूहले आयोगमा आफ्नो पक्ष आधिकारिक भएको दाबी गरेका थिए।

  15. कोभिड खोपको पहिलो चरण बुधवारदेखि

    बुधवारदेखि सुरु हुने भनिएको कोरोनाभाइरसविरुद्धको खोप अभियानको पहिलो चरण बढीमा १० दिन भित्रमा सम्पन्न हुने अधिकारीहरूले बताएका छन्।

    नेपालभरि करिब ३०० खोप केन्द्र बनाएर सञ्चालन गरिने अभियानअन्तर्गत झन्डै साढे चार लाख सर्वसाधारणलाई खोप दिइने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

    पहिलो चरणमा प्राप्त खोप जनसङ्ख्याको तीन प्रतिशतलाई लगाइने र जोखिम समूहमा रहेका १७ प्रतिशत सर्वसाधारणहरूका लागि आवश्यक पर्ने थप खोप खरिदको कार्य अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  16. नमस्कार! स्वागतम्।

    शुभ प्रभात। हाम्रो लाइभ पेजमा स्वागत छ।

    आज माघ १२ गते सोमबार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सामग्रीहरू हामी यहाँ पस्किनेछौँ।

    तपाईँको कुनै सुझाव र जिज्ञासा भए हामीलाई सम्पर्क गर्ने इमेल [email protected] हो।