तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पर्यटन विषयको जाँचमा भारतीय इतिहासको प्रश्नपत्र; लापरबाही कि प्राविधिक त्रुटि
जाँच दिन बसेको विषय पर्यटन, प्रश्न आए भारतीय इतिहाससम्बन्धी। साउन ८ गते सोमवारको घटना हो यो।
“एकछिन अलमल भएपछि हामीले गार्डलाई भन्यौँ, गार्डले केन्द्रका प्रमुखलाई बोलाए। प्रमुखले त्रिविका परीक्षा नियन्त्रकलाई फोन गरे। 'प्रश्नपत्र गलत परेको रहेछ, एकछिन धैर्य गर्नूस्' भनियो, अनि नयाँ प्रश्नपत्र आयो। त्यसैको जाँच दिएर आयौँ,” सोमवार दिउँसो १२ देखि ३ बजेको जाँचमा बसेका आरआर क्याम्पसका स्नातक तह तेस्रो वर्षका विद्यार्थी संगम लम्सालले बीबीसीलाई बताए।
देशकै सबभन्दा ठूलो र पुरानो विश्वविद्यालयको यो ‘हेलचक्र्याइँ’बाट लम्साल र उनका साथीहरू आहत बनेका छन्।
लम्साल भन्छन्, “पछि प्राप्त प्रश्नपत्र यति सजिलो थियो कि विद्यार्थी ‘ड्रपआउट’ धेरै भए भनेर त्यस्तो बनाएको हो कि जस्तो हामीलाई लागिरहेको छ।” लम्साल आफूले पाइरहेको शिक्षाको गुणस्तरबाट असन्तुष्ट र चिन्तित छन्।
गुणस्तरीय उच्च शिक्षाको खोजी गर्दै स्कूले पढाइ सकिनेबित्तिकै गैँडाकोटदेखि काठमाण्डू आएका र हाल स्नातक तहमा अङ्ग्रेजी मुख्य विषय बनाई अध्ययनरत लम्साल भन्छन्, “पर्यटन स्नातक तह तेस्रो वर्षमा रोज्न पाइने ऐच्छिक विषय हो, नेपालमा पर्यटनको महत्त्व बुझेर नै मैले यो विषय रोजेको थिएँ।”
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बीबीसी न्यूज नेपालीसँग भने, "८६९ जना परीक्षार्थी थिए त्यस दिन ऐच्छिक पर्यटन विषयमा। तर यो प्राविधिक समस्या मात्र हो, कसैले त्यसलाई बढाइचढाइ गर्यो।"
जोशीले त्यसलाई प्राविधिक समस्या भनेर उम्किन खोजे पनि उक्त प्रश्नपत्रको एकातिर कुनामा 'इतिहास- ४१० ऐच्छिक-२' भनिएको छ। अनि त्यसको ठ्याक्कै तल 'पर्यटन विकासको परिचय' भनिएको छ।
राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयको 'लापरबाही' गरेको आरोप लगाएका छन्।
त्रिभुवन विश्वविद्यालयले मानविकी सङ्कायअन्तर्गत चार वर्षे स्नातक तहको तेस्रो वर्षको विवादमा परेको प्रश्नपत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
खासमा त्यो पर्यटन विषयको जाँच थियो। तर प्रश्न भारतीय इतिहाससम्बन्धी आएको थियो।
पहिलो खण्डमा तीन प्रश्न छन्। त्यसमध्येबाट विद्यार्थीलाई कुनै दुई छान्न भनिएको छ।
दोस्रो खण्डमा छ प्रश्न छन्। त्यसमध्ये चारवटा प्रश्नको उत्तर दिन भनिएको छ।
जाँच तीन घण्टाको र पूर्णाङ्क ७० रहेको लेखिएको छ।
सामाजिक सञ्जालमा कस्ता चर्चा?
सामाजिक सञ्जालमा त्यसबारे भएका विभिन्न टीकाटिप्पणीमा त्रिविको प्रश्नपत्र बनाउने तरिकादेखि गुणस्तरसम्म प्रश्न गरिएको छ।
तिनैमध्ये केही टिप्पणी यस्ता छन्:
- “अरूले बनाएको प्रश्न सार्दा त्यस्तो समस्या आएको हो।”
- “त्रिविले कसरी बनाउँछ प्रश्नपत्र? कसरी भेरिफाइ गरेर पास गर्यो होला?”
- “देशको सबभन्दा जेठो विश्वविद्यालयमा यस्तो कसरी भयो?”
- “त्रिविको गुणस्तरीय शिक्षा?”
कतिले नेपाल सरकारको भारतमुखी चरित्र उदाङ्गिएको भन्दै उडाएका छन्। “यो परीक्षा नेपाली विद्यार्थीका लागि हो कि भारतको? हैट, सरकार भारतमुखी भएपछि सबै अवयवको भारतीयकरण गर्दैछ।”
ट्विटरमा पत्रकार ध्रुवहरि अधिकारीले लेखेका छन् “पहिलो प्रश्न नै शुद्ध छैन। 'क्विट' र 'क्वायट'को अन्तरसम्म पनि थाहा नभएको मानिसले प्रश्न लेख्ने भएपछि के हुने यसबाहेक?”
त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र कसरी बनाइन्छ?
परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र बनाउने कार्यविधि रहेको बताए।
उनका अनुसार "त्रिभुवन विश्वविद्यालयमा कम्तीमा १० वर्ष सम्बन्धित विषय पढाइसकेको व्यक्तिबाट प्रश्नपत्र मागिन्छ। त्यसरी प्राप्त प्रश्नलाई विषय समितिका सदस्यले सम्परीक्षण गर्छन् र यसरी भेरिफाई गरेपछि त्यस्ता प्रश्नलाई ‘प्रश्न ब्याङ्क’मा राखिन्छ।"
सोमवारको घटनाबारे उनले भने, “उनीहरूलाई त्यसको अघिल्लो दिनको आधुनिक भारत विषयको प्रश्न पुगेछ। कसरी त्यस्तो भयो भन्ने अनुसन्धान गर्न हामीले समिति गठन गर्नेछौँ र दोषीलाई त्रिविको नियमअनुसार कारबाही गर्नेछौँ।”
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, “यसबारे अनुसन्धान गर्ने त्रिभुवन विश्वविद्यालयको परिषद्ले हो। हामी त्यसबारे केही गर्दैनौँ, उसैले गर्छ।”