तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरिया रोजगारीप्रति नेपाली युवा आकर्षणका प्रमुख तीन कारण
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
नेपालबाट दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा पठाउन भाषा परीक्षाका लागि आवेदन दिने समय शुक्रवार राति १२ बजे सकिएको छ।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाका निर्देशकका अनुसार कोरिया जान हालसम्मकै सबैभन्दा धेरै इच्छुक देखिएका छन्।
“भाषा परीक्षाका लागि निर्धारित समयभित्र एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका छन्,” निर्देशक गुरुदत्त सुवेदीले बीबीसी न्यूज नेपालीसँग भने।
विभागका अधिकारीहरूका अनुसार धेरै मान्छेले आवेदन दिँदा परीक्षा लिन महिनौँ लाग्नसक्ने देखिएरै आवेदन दिन पाउने म्याद छोटो राखिएको थियो।
कोरियाको उत्पादनमूलक क्षेत्रमा जान चाहने आकाङ्क्षीहरूलाई पुस २ गतेदेखि ६ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन विभागले समय तोकेको थियो।
अनुत्तीर्णलाई पनि मौका
कोरियामै शिप बिल्डिङका लागि जान भनेर हालै भाषा परीक्षा दिँदा अनुत्तीर्ण भएकालाई विभागले पछिल्लो आवेदनमा सहभागी हुन रोक लगाएको थियो।
तर पाटन उच्च अदालतले उनीहरूलाई पनि समेट्न बिहीवार आदेश दिएपछि अर्को व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।
“उहाँहरूले मात्र आवेदन दिन पाउने गरी सम्भवतः आइतवार हामी सूचना निकाल्छौँ,” निर्देशक सुवेदीले भने।
यसको अर्थ उत्पादनमूलक क्षेत्रमा जानका लागि कोरियाली भाषा परीक्षा दिन चाहने आकाङ्क्षीको सङ्ख्या अझ थपिने स्पष्ट छ।
कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङमा कामदार लैजाँदै गरेकोमा अब निर्माण र सेवामा पनि लैजान खोजिरहेको छ।
निर्देशक सुवेदीका अनुसार कोरियाले उत्पादनमूलक क्षेत्रका लागि भनेर लैजाने कामदार साना तथा मझौला उद्योगमा काम गर्नेछन्।
योग्यता के चाहिन्छ?
उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकको हकमा खासै शैक्षिक योग्यता नचाहिने विभागका अधिकारीहरूले बताएका छन्।
“शैक्षिक योग्यता खासै चाहिँदैन। साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुगेको र ३९ वर्ष ननाघेको हुनुपर्छ,” निर्देशक सुवेदीले भने।
शैक्षिक योग्यता नचाहिने भएर पनि यसपालि भाषा परीक्षाका लागि ठूलो सङ्ख्यामा युवाहरूले आवेदन दिएको विभागको ठम्याइ छ।
कसरी छनोट गरिन्छ?
सुवेदीका अनुसार भाषा परीक्षामार्फत् १६ हजार जनाको हाराहारीमा छनोट हुने अनुमान छ।
“तर त्यो सङ्ख्या केही थपघट पनि हुन सक्छ,” उनले प्रस्ट पारे।
आवेदकहरूले अनलाइनमार्फत् फारम भर्न पाउनेछन् जसको परीक्षा कोरियालीहरूले नै लिनेछन्।
दैनिक आठ सय जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको ईपीएस शाखाले जनाएको छ।
“भाषा परीक्षामा पास भएकाहरू सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराएर उनीहरूको नाम हामी रोस्टरमा चढाउँछौँ,” सुवेदीले भने।
“रोस्टरमा चढाइसकेपछि त्यसलाई रोजगारदाताकहाँ पठाइन्छ। उनीहरूबाट छनोट भएपछि यहाँ श्रम स्वीकृति जारी हुन्छ। अनि भिसा लागेर जाने प्रक्रिया हुन्छ।”
बढ्दो आकर्षण किन?
कोरिया जाने नेपालीको सङ्ख्या बढ्दो क्रममा रहेको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन्।
“सन् २०२३ मा २० हजार जनाभन्दा बढीलाई हामीले कोरिया पठाएका छौँ। सन् २०२४ मा २५ हजारभन्दा बढी नै पठाउँछौँ भन्ने लागेको छ,” निर्देशक सुवेदीले भने।
श्रमविज्ञ तथा सरकारी अधिकारीहरूका कोरियाको रोजगारीप्रति नेपाली युवाहरूको आकर्षण बढ्दै जानुमा तीनवटा प्रमुख कारण देखिन्छः
१. अन्यत्रभन्दा राम्रो तलब
नेपालीहरू धेरै जाने गरेका खासगरी खाडी मुलुकहरूमा त्यति “आकर्षक तलब” नभएको स्वयं सरकारी अधिकारीहरू पनि स्वीकार्छन्।
तर कोरियामा चाहिँ नेपाली कामदारले तुलनात्मक रूपमा “राम्रो तलब” पाउने गरेका छन्।
“कोरियामा मासिक न्यूनतम तलब दुई लाख रुपैयाँ हुन्छ। ओभर टाइम काम गर्न पाउनेले अझ बढी कमाउँछन्,” सुवेदी भन्छन्।
त्यसमा श्रमविज्ञ मीना पौडेल पनि सहमति जनाउँछिन्।
“ज्याला धेरै हुनु आकर्षण बढ्नुको एउटा कारण हो,”बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
२.जीटूजीअन्तर्गत जान पाउनु
नेपालले सन् २००८ देखि जीटूजी अर्थात् सरकार-सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट नेपाली कामदारहरू कोरिया पठाउँदै आएको छ।
“जीटूजी भएकोले कामदारहरू ठगी र शोषणमा पर्ने सम्भावना न्यून हुन्छ,” अर्को कारणबारे श्रमविज्ञ पौडेलले भनिन्।
जीटूजी सम्झौताअन्तर्गत जान पाइने भएकोले कामदारमा विश्वास पनि कायम भएको ईपीएस शाखा निर्देशक सुवेदीको तर्क छ।
३.कोरियाबाट सिकिने सीप
नेपाली कामदारहरू जाने गरेका मुलुकमध्ये जापानपछि कोरिया अर्को विकसित मुलुक भएको श्रमविज्ञ पौडेल बताउँछिन्।
त्यहाँबाट नेपाली कामदारहरू कतिपय सीप पनि सिकेर आउँछन्।
“फर्केर आउँदा उनीहरू दक्ष श्रमिक भएर आउँछन्। त्यो सीप स्वदेशमा र अरू देशमा काम लाग्न सक्छ,” उनले भनिन्।
तर कोरियाले अहिले शीप बिल्डिङमा पनि नेपाली कामदार लैजान खोजिरहेकोले त्यससम्बन्धी सीप चाहिँ नेपालको हकमा काम नलाग्ने अर्का श्रमविज्ञ गणेश गुरुङ बताउँछन्।
“पानीजहाजको क्षेत्रमा हासिल गरेको अनुभव नेपालमै चाहिँ काम लाग्ने म देख्दिनँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
नेपाललाई कति कोटा?
दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५ हजार विदेशी श्रमिक लिने घोषणा हालसालै गरेको छ।
अधिकारीहरूका अनुसार उसले नेपालसहित १६ देशबाट सो सङ्ख्यामा कामदार लैजानेछ।
निर्धारित सङ्ख्यामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी श्रमिक जान पाउनेछन्।
उत्पादनमूलक क्षेत्रका लागि ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रका लागि १६ हजार जनालाई लगिनेछ।
त्यसैगरी शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रका लागि १३ हजार र अन्य आवश्यक क्षेत्रका लागि ३० हजार जना श्रमिक लैजाने कोरिया सरकारको योजना छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।