विश्वकप लीग २ क्रिकेट: नेपालको चारवर्षे चक्र सुरु

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

क्यानडाविरुद्धको दुई खेलमा लगातार अर्धशतक र शतक प्रहार गरेपछि अनिल साहलाई सोधिएको थियो - विश्वकप लीग २ मा नाम छैन। कस्तो लागिरहेको छ?

उनले जबाफ दिए - "त्यो मेरो क्षेत्र होइन। मैले सक्ने भनेको खेलिरहने हो। आफ्नो कर्म गरिरहने हो। मेरो वशमा त्यति मात्रै छ।"

अनिल साहलाई उनले गरेको कर्मको प्रतिफल तुरुन्तै प्राप्त पनि भयो। बिहीवारबाट सुरु हुने विश्वकप लीग २ को सूचीमा नपरेका उनलाई प्रशिक्षक मोन्टी देसाईले अन्तिम समयमा टोलीमा समाविष्ट गरे।

क्यानडासँगको शृङ्खलामा राम्रो प्रदर्शन गर्ने अनिल साहसहित युवा टोलीका कप्तान देव खनाललाई टोलीमा राखिएको छ भने विकेटकीपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

बुधवार आयोजित प्रि-म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक मोन्टी देसाईले भने, "जब कुनै खेलाडीले असाधारण खेलिरहेको छ र 'विन्डो' खुल्ला छ भने त्यस्ता खेलाडीलाई राख्नु टीमको चाहना हो।"

विश्वकप लीग २ को प्रत्येक खेल कति महत्त्वपूर्ण छ भन्ने बुझेका प्रशिक्षक देसाई खेलाडी छनोटमा निकै गम्भीर देखिनु स्वाभाविक नै थियो।

चारवर्षे चक्र

विश्वकप लीग २ मा प्रत्येक खेलबाट प्राप्त हुने अङ्क उत्तिकै महत्त्वपूर्ण छ।

असोसिएट ओडीआई क्रिकेट राष्ट्रबीचको चारवर्षे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको चक्रको विशेष महत्त्व छ।

यसले असोसिएट राष्ट्रको क्रिकेट ह्वात्तै उकास्ने काम गरेको देखिएको छ।

नेपाली क्रिकेटको ज्यान त यही प्रतियोगिताका कारण जोगिएको हो भन्दा फरक पर्दैन।

चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने मौका पाएको नेपालले ओडीआई मान्यता जोगाउँदै विश्वकप छनोट खेल्नुका साथै सन् २०२३-२०२७ सम्मको चक्रमा स्थान बनाएको थियो।

यसपालि ‌ओडिआई चक्रमा आठ राष्ट्र - क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच चार वर्षसम्म प्रतिस्पर्धा चल्ने छ।

अघिल्लो चक्रमा सूपर लीग खेलेको नेदरल्यान्ड्स यसपालि लीग २ मा थपिएको छ।

यी सबैले त्रिकोणात्मक शृङ्खलाको स्वरूपमा कुल १४४ एकदिवसीय खेल खेल्ने छन्। त्यसबाट शीर्ष चार टोलीले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट खेल्ने छन्।

गत चक्रमा जस्तै तल पर्ने चार टोलीको एकदिवसीय सम्भावना समाप्त हुने छ। तर तिनले प्ले-अफबाट फेरि ओडीआई मान्यता जोगाउने अवसर पाउने छन्।

क्यानडा प्ले-अफको बाटो हुँदै ओडीआई मान्यता जोगाएर यो चक्रमा छिर्न सफल भएको थियो।

नेपालको लक्ष्य

गत चक्र नेपालको लागि निकै सङ्घर्षपूर्ण बन्यो। बीचमा निकै खराब फर्मबाट गुज्रिएको नेपालको एकदिवसीय मान्यता लगभग गुमिसकेको अवस्था थियो।

नेपाली क्रिकेट जोगिन कुनै चमत्कार नै हुनुपर्ने अवस्था थियो।

यस्तोमा कोरोनाभाइरसको महामारीका कारण पूर्वनिर्धारित सबै कार्यक्रम बिथोलिएपछि १२ खेल नेपालमै खेल्ने अवसर पाउनु नेपालका लागि लाभदायक बन्यो।

तीमध्ये ११ खेल जितेर नेपालले ओडीआई मान्यता जोगायो।

विगतको चुनौती बुझेको नेपाली टोली यसपालि संयमित छ र अझ अगाडि बढ्ने लक्ष्यमा देखिएको छ।

नेपाली कप्तान रोहित पौडेल भन्छन्, "यसपालि तालिकाको शीर्ष स्थानमा रहने हाम्रो लक्ष्य हो।"

अनि यो सहज लक्ष्य होइन।

यसको लागि नेपाली भूमिमा प्राप्त हुने परिणाम महत्त्वपूर्ण रहेको उनी बताउँछन्।

कस्तो छ चुनौती

गत सीजनको चक्रमा टेस्ट राष्ट्रहरूसँग सूपर लीग खेलेको नेदरल्यान्ड्स कडा प्रतिद्वन्द्वी हो।

भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा बाङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएर चर्चा कमाएको उक्त टोली राम्रो फर्ममा देखिन्छ।

नामिबिया पनि कम छैन। गत सीजनमा 'शीर्ष तीन'मा ढुक्क भएर बसेको नामिबिया नेपालले लगातार ११ खेल जितेपछि प्ले-अफमा धकेलिएको थियो।

नेपालले केही वर्षयता एकदिवसीय क्रिकेट राम्ररी खेलिरहेको छ। टोलीको खेलस्तर पनि वृद्धि भएको छ।

कप्तान रोहित पौडेल पनि आफ्नो क्षमतामा विश्वास गर्न सक्नु महत्त्वपूर्ण पक्ष रहेको बताउँछन्। उनी भन्छन्, "हामीले आफ्नो क्षमता प्रदर्शन गर्ने हो, विपक्षीलाई याद गर्ने होइन। त्यो गर्न सके नतिजा सकारात्मक आइहाल्छ।"

भर्खरै मात्र क्यानडाविरुद्ध कीर्तिपुर क्रिकेट मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला जितेको हुनाले नेपालको लागि त्यही मैदान र घरेलु वातावरण बलियो पक्ष हुने छ।

प्रतिद्वन्द्वीहरूको लागि नेपालको यो पक्षसँग जुध्ने चुनौती छ।

नेपालको टोली:रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, र देव खनाल।

नेपालको खेल तालिका

  • फागुन ३ गते बिहीवार – नेपाल र नामिबिया
  • फागुन ५ गते शनिवार – नेपाल र नेदरल्यान्ड्स
  • फागुन ९ गते बुधवार – नेपाल र नामिबिया
  • फागुन १३ गते आइतवार – नेपाल र नेदरल्यान्ड्स

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।