ओलिम्पिक्स उद्घाटनको मुखैमा फ्रान्सको रेल सञ्जालमा 'आक्रमण'

रेलमार्गमा भएको क्षति हेर्दै कर्मचारी र सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, Reuters

प्यारिस ओलिम्पिक्स २०२४ को उद्घाटन समारोहको केही घण्टाअघि फ्रान्समा द्रुत गतिका रेलहरूको सञ्जालमा शृङ्खलाबद्ध आगजनी भएको अधिकारीहरूले बताएका छन्।

सरकारी रेल कम्पनी एसएनसीएफले "रेल सञ्जाललाई ठप्प पार्ने उद्देश्यले ठूलो आक्रमण भएको" जनाएको छ।

आगजनीका घटनापछि रेलसेवा र धेरै यात्रुहरू प्रभावित भएका छन्।

फ्रान्स

अहिलेसम्म घटना कसले र किन गराएको भन्ने खुल्न सकेको छैन।

सेवा सप्ताहान्तसम्मै प्रभावित हुने र त्यसबाट झन्डै आठ लाख यात्रुहरूलाई असर पर्ने एसएनसीएफले जनाएको छ। ग्राहकहरूलाई सम्भव भएसम्म यात्राको मिति पछि सार्न आग्रह गरिएको छ।

प्यारिस र लन्डनबीच चल्ने यूरोस्टार रेलको सेवा पनि प्रभावित भएको छ। यूरोस्टारका चारमध्ये एउटा सेवा सोमवारसम्म स्थगित भएको छ। ‍

शुक्रवार सार्वजनिक बिदा दिइएकाले रेलमा यात्रुहरूको चाप बढी थियो।

फ्रान्समा रेल सेवा प्रभावित

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, 'आक्रमणपछि' रेल सेवा प्रभावित भएको छ

कस्तो क्षति

प्यारिस जाने रेलका यात्रुहरू

तस्बिर स्रोत, Getty Images

एसएनसीएफका अनुसार उक्त ''ठूलो आक्रमणबाट" राजधानी प्यारिसलाई उत्तर, पूर्व र दक्षिणपश्चिमका सहरहरूसँग जोड्ने रेल्वे लाइनका सिग्नल बक्सहरूमा क्षति पुगेको छ।

दक्षिणतिरको एउटा रेल्वे लाइनमा गर्न खोजएको आक्रमण भने सुरक्षा अधिकारीहरूले विफल पारिएको जनाएका छन्।

एसएनसीएफका प्रमुख जाँ-पिएर फेरान्डूले सेवालाई निरन्तरता दिन आवश्यक पर्ने मर्मतकार्यबारे जानकारी दिँदै प्रभावित हिस्सलाई पूर्ववत् सञ्चालनमा ल्याउन काम गरिने बताएका छन्।

उनले आक्रमणकारीले "चालकहरूका निम्ति सुरक्षासम्बन्धी जानकारी" प्रसारित गर्ने अप्टिक फाइबर केबलहरूबाट आगो लगाउन सुरु गरेको बताए।

"धेरै ठूलो सङ्ख्यामा रहेका केबलका लट्ठाहरूलाई एकएक गरेर मर्मत गर्छौँ। उक्त कार्यका निम्ति सयौँ कामदारको खाँचो पर्छ," उनले भने।

रेल फ्रान्स

तस्बिर स्रोत, Getty Images

सरकार के भन्छ

रेल स्टेशनमा यात्रुहरूको भिड

तस्बिर स्रोत, THIBAUD MORITZ/AFP VIA GETTY IMAGES

तस्बिरको क्याप्शन, रेल स्टेशनमा यात्रुहरूको भिड

प्रधानमन्त्री ग्याब्रिअल आटालले प्रहरी र गुप्तचरहरू आक्रमणकारीहरूलाई पहिचान गर्न लागिपरेको बताएका छन्। उनले अन्य जानकारी दिएनन्।

उनले ओलिम्पिक्स समारोह सुरु हुनुअघि वक्तव्य दिने अपेक्षा गरिएको छ।

फ्रान्स

फ्रान्सका यातायातमन्त्रीले घटनाको निन्दा गर्दै यसलाई "सुनियोजित र दुर्भावनापूर्ण कार्य" भनेका छन्।

प्यारिसको अभियोजकको कार्यालयले अनुसन्धान सुरु गर्दै दोषीलाई लामो जेल सजाय तथा ठूलो जरिवाना हुने चेतावनी दिएको छ।

फ्रान्सका कैयौँ रेलवे सञ्जालहरूले संयुक्त विज्ञप्ति जारी गर्दै द्रुत गतिको रेल सञ्जालमाथिको आक्रमणको निन्दा गरेका छन्। त्यसलाई उनीहरूले 'एसएनसीएफ’ले जनतालाई गरिरहेको सेवामाथिको प्रहार’ भनेका छन्।

ब्रिटेनको यातायात मन्त्रालयले अहिलेको अवरोधबारे आफू युरोस्टार र फ्रान्सेली अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ।

उसले शुक्रवार यात्रा गर्न लागिरहेका व्यक्तिहरूलाई हिँड्नुअघि ध्यान दिन र विदेश मन्त्रालय अनि युरोस्टारका सुझावहरूलाई मान्नका लागि अनुरोध गरेको छ

ओलिम्पिक्स प्रभावित हुन्छ?

ओलिम्पिक कमिटीका अध्यक्ष

तस्बिर स्रोत, REUTERS

फ्रान्सकी खेलकुदमन्त्रीले उक्त आक्रमणलाई 'खेल र खेलाडी'माथिको आक्रमण भनेकी छन्।

अन्तर्राष्ट्रिय ओलिम्पिक्स कमिटीका अध्यक्ष टामस बाखले खेल प्रभावित नहुने सङ्केत गरेका छन्।

"म चिन्तित छैन," उनले ओलिम्पिक खेलग्राममा सञ्चारमाध्यमसँग भने।

"हामीलाई फ्रान्सका निकायहरूप्रति पूर्ण विश्वास छ," उनले भने।

फ्रान्सको सरकारले ओलिम्पिक्सको उद्घाटन समारोह तथा प्रतियोगिताभरि “अभूतपूर्व” सुरक्षा व्यवस्था गर्ने वाचा गरेको छ।

ओलिम्पिक्सका खेल हुने स्थान
तस्बिरको क्याप्शन, ओलिम्पिक्सको उद्घाटन समारोहमा खेलाडीहरूले सेन नदीमा नौका विहार गर्ने छन्

फ्रान्सका प्रधानमन्त्री ग्याब्रिअल आटालले सन् २०२४ को प्रारम्भतिर गुप्तचर निकायमार्फत् फ्रान्सविरुद्ध गरिएका दुइटा षड्यन्त्र विफल बनाइएको दाबी गरेका थिए। ती षड्यन्त्रहरू सन्दिग्ध इस्लामिक लडाकुहरूले बनाएको ठानिएको छ।

गत मे महिनामा ओलिम्पिक्सको 'टर्च रिले' मा आक्रमण गर्ने योजना बनाएको आशङ्कामा बोर्डोमा एक व्यक्ति पक्राउ परे। ओलिम्पिक्समा फुटबल खेल हुने एउटा रङ्गशालामा आक्रमण गर्ने योजना बनाएको आशङ्कामा देशको दक्षिणी भागबाट अर्का एक व्यक्ति पनि पक्राउ परे।

मध्यप्यारिसमा सेन नदीसँगैको क्षेत्रमा “आतङ्कवादविरोधी परिधि” बनाइएको छ।