ओपनहाइमरले जित्यो सातवटा ओस्कर पुरस्कार, अरू कुन फिल्म रहे सफल?

जेनिफर लेम र सिलियन मर्फी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, 'ओपनहाइमर' चलचित्रले यसपालीको अकेडेमी अवार्ड समारोहमा ७ वटा विधामा ओस्कर पुरस्कार जितेको छ

अणु बम निर्माताको ऐतिहासिक घटनामा आधारित हलिवुड चलचित्र ‘ओपनहाइमर’ले ९६औँ अक्याडमी अवार्ड्स समारोहमा धेरै पुरस्कार बटुलेको छ।

अमेरिकाको लस एन्जलस सहरमा आयोजित ‌ओस्कर पुरस्कारको नामले चिनिने उक्त समारोहमा ओपनहाइमरले उत्कृष्ट चलचित्रका साथै उत्कृष्ट निर्देशक (क्रिस्टोफर नोलन) र उत्कृष्ट अभिनेता ( किलियन मर्फी)को समेत गरी सातवटा विधामा सो पुरस्कार जितेको छ।

चलचित्र सम्पादन, छायाङ्कन तथा पार्श्व ध्वनिमा पनि यो चलचित्रले पुरस्कार जितेको छ।

विभिन्न १३ विधामा सो चलचित्र पुरस्कारका निम्ति मनोनित भएको थियो।

अरू विजेता कुन कुन?

‘पुअर थिङ्ग्स’ नामक काल्पनिक कहानीमा आधारित चलचित्रका निम्ति एमा स्टोनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्। यो उनको दोस्रो ओस्कर पुरस्कार हो।

सोही चलचित्रले उत्कृष्ट प्रोडक्सन डिजाइन, शृङ्गार एवं कस्ट्युम डिजाइनमा पनि पुरस्कार जितेको छ।

एमा स्टोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एमा स्टोनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्

गत वर्ष सबभन्दा धेरै कमाइ गरेको चलचित्र बार्बीले एकमात्र ओस्कर पुरस्कार पाएको छ - उत्कृष्ट गीतका निम्ति।

‘द जोन अफ इन्टरेस्ट’का लागि यूकेले उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको पुरस्कार जित्यो भने युक्रेनमा रुसको बर्बरतापूर्ण आक्रमणसम्बन्धी ‘ट्वेन्टी डेज इन मारिउपोल’ले उत्कृष्ट वृत्तचित्रको पुरस्कार पाएको छ।

गत वर्ष तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट बहुचर्चित गीत ' नाटू-नाटू' ओस्कर पुरस्कार जित्ने भारतीय चलचित्रको पहिलो गीत बनेको थियो।

९५औँ अक्याडमी अवार्ड्समा लेडी गागा र रिहानाजस्ता हस्तीका सिर्जनालाई पछि पार्दै उक्त गीतले 'उत्कृष्ट मौलिक गीत'को उपाधि हात पारेको थियो।

‘ओपनहाइमर’ र ‘बार्बी’ले कति कमाएका थिए?

सन् २०२३ मा दुईवटा हलिवुड चलचित्र ‘ओपनहाइमर’ र ‘बार्बी’ले सर्वाधिक चर्चा कमाएका थिए।

एकै बखत जस्तो प्रदर्शनमा आएका ती दुवै फिल्मले बक्स अफिसमा कमाइ पनि निकै गरेका थिए।

आइएमडिबीका अनुसार बार्बीले १.४४ अर्ब डलरको कारोबार गरेको थियो भने ओपनहाइमरले ९५ करोड ७० लाख डलरको कारोबार गरेको थियो।

विजेताको सूची

उत्कृष्ट चलचित्र: ओपनहाइमर

उत्कृष्ट अभिनेत्री: एमा स्टोन (पुअर थिङ्ग्स)

उत्कृष्ट अभिनेता: किलियन मर्फी (ओपनहाइमर)

उत्कृष्ट सहअभिनेत्री: डा’भिन जोय र्‍यान्डल्फ (द होल्डोभर्स)

उत्कृष्ट सहअभिनेता: रोबर्ट डाउनी जुनिअर (ओपनहाइमर)

उत्कृष्ट निर्देशक: क्रिस्टोफर नोलन (ओपनहाइमर)

उत्कृष्ट ओरिजिनल सङ: ह्वाट वाज आइ मेड फर (बार्बी)

उत्कृष्ट पार्श्व ध्वनि: ओपनहाइमर

उत्कृष्ट एडाप्टेड स्क्रीनप्ले: अमेरिकन फिक्सन

उत्कृष्ट ओरिजिनल स्क्रीनप्ले: एनाटमी अफ अ फल

उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र: द जोन अफ इन्टरेस्ट

उत्कृष्ट एनिमेटेड फिचर: द बोय एन्ड द हेरन

उत्कृष्ट वृत्तचित्र: ट्वेन्टी डेज इन मारिउपोल

उत्कृष्ट छायाङ्कन: ओपनहाइमर

उत्कृष्ट ध्वनि: द जोन अफ इन्टरेस्ट

उत्कृष्ट चलचित्र सम्पादन: ओपनहाइमर

उत्कृष्ट भिजुअल इफेक्ट्स: गोड्जिला माइनस वन

उत्कृष्ट कस्ट्युम डिजाइन: पुअर थिङ्ग्स

उत्कृष्ट प्रोडक्सन डिजाइन: पुअर थिङ्ग्स

उत्कृष्ट शृङ्गार तथा केश साजसज्जा: पुअर थिङ्ग्स

उत्कृष्ट एनिमेटेड शर्ट: वार इज ओभर! इन्स्पाइअर्ड बाइ द म्युजिक अफ जोन एन्ड योको

उत्कृष्ट डक्युमेन्टरी शर्ट: द लास्ट रिपेर शप

उत्कृष्ट लाइभ एक्सन शर्ट: द वन्डरफुल स्टोरी अफ हेनरी सुगर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।