रुसविरुद्ध युक्रेनी प्रत्याक्रमण सुरु भइसकेको जेलेन्स्कीको भनाइ

तस्बिर स्रोत, Reuters
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्।
उनले भने, "प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।"
तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्।
ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ आएका हुन्।
युक्रेनी फौजहरू देशको पूर्वमा बक्मुत नजिकै र दक्षिणतर्फ जापोरिज्या नजिकै अगाडि बढिरहेको बताइएको छ।
उनीहरूले रुसी निशानामा लामो दूरीको क्षेप्यास्त्र हमलाहरू समेत गरिरहेको बताइएको छ।
तर अग्रमोर्चाको वास्तविकताको आकलन गर्ने काम जटिल छ।
युद्धरत दुवै पक्षले परस्पर विरोधी विवरण दिइरहेका पाइन्छन्: युक्रेनले प्रगति गरिरहेको दाबी गरेको छ र रुसले हमलालाई परास्त गरिरहेको जनाउँछ।


दाबी

तस्बिर स्रोत, EPA
मस्को नजिकैको रुसको कलुगा क्षेत्रका गभर्नरले टेलिग्राममा लेख्दै स्ट्रेलकोभ भन्ने गाउँमा आइतवार बिहानै एउटा ड्रोन दुर्घटना भएको लेखेका छन्।
बीबीसीले स्वतन्त्र रूपमा त्यसको पुष्टि गर्न सकेको छैन।
शुक्रवार प्रसारित एक भिडिओ अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजले प्रत्याक्रमण सुरु गरे पनि अगाडि बढ्ने प्रयासहरू धेरैजनाको हताहतीबिच असफल भएको बताएका छन्।
शनिवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग वार्ता गरेपछि किएभमा बोल्दै जेलेन्स्कीले रुसी नेताका शब्दलाई "रोचक" बताए।
जेलेन्स्कीले रुसले "उनीहरूसँग लामो समय बाँकी नरहेको" अनुभूत गर्नु महत्त्वपूर्ण रहेको बताए।
उनले रुसी सैन्य कमान्डरहरू सकारात्मक मुडमा रहेको भन्दै "पुटिनलाई त्यो कुरा बताइदिन" भने।
ट्रुडोले घोषणाबिनै किएभ पुगेर ५० करोड क्यानेडिअन डलर बराबरको नयाँ सैन्य सहायता घोषणा गरेका छन्।
वार्तापछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा क्यानडाले "अवस्थाहरूले दिँदाको अवस्थामा सक्दो छिटो" नेटो सदस्य हुन सघाउने उल्लेख छ।
ट्रुडोले जुलाई महिनामा लिथुआनियामा हुने नेटो सम्मेलनमा त्यसबारे छलफल गरिने समेत बताएका छन्।


युक्रेनी रणनीति
यसैबीच पछिल्ला दिनमा मुख्य दक्षिणी क्षेत्र जापोरिज्यामा लडाइँ चर्किएको रुसी अधिकारीहरूले जनाएका छन्।
युक्रेनी फौजहरूले दक्षिणतर्फ केन्द्रित हुँदै रुसी फौजलाई विभाजित गर्न चाहिरहेको ठानिएको छ।
उनीहरू रुसलाई क्राइमियासँग जोड्ने कब्जा गरिएको भूभागको नियन्त्रण तोड्न खोजिरहेको ठानिएको छ।
त्यस क्षेत्रमा अग्रसरता बढाउने आशालाई गत साता देशको दक्षिणमा पर्ने कखोभ्का बाँध ध्वस्त भएपछि सिर्जना भएको ठूलो डुबानले प्रभावित पार्न सक्छ।
उक्त डुबान ड्नीप्रो नदिको दुवैतर्फ झण्डै ५९६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।
आफ्नो रात्रीकालिन सम्बोधनका क्रममा जेलेन्स्कीले डुबानमा परेको खेअर्सन र मिकोलाइभ क्षेत्रहरूबाट ३ हजार मानिसहरूको उद्धार गरिएको बताए।
नेटो र युक्रेनी सेनाले रुसले उक्त बाँध ध्वस्त पारेको आरोप लगाएका छन् भने रुसले युक्रेनललाई नै दोष दिएको छ।
तर बीबीसीका पोल एडम्सका अनुसार त्यस बाँध नियन्त्रण गरेका रुसी फौजले नै त्यसलाई ध्वस्त पारेका हुनसक्ने सम्भावना उच्च छ।
यसले जारी प्रत्याक्रमणका बेला युक्रेनी फौजलाई उक्त नदी पार गर्न थप कठिन हुने बताइन्छ।












