टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी

टर्की

तस्बिर स्रोत, Reuters

टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११,००० नाघेको छ।

टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ८,५७४ पुगेको छ।

सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ २२६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन्।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्।

मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।

सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्।

भूकम्प पीडित

तस्बिर स्रोत, Getty Images

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो।

उद्धार कार्य कति प्रभावकारी?

केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन्।

टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन्। तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास "अपर्याप्त" भएको जनाइरहेका छन्।

धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन्। उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन्।

भूकम्प अघि र पछिको दृश्य

नेपालको बारा जिल्ला घर भई हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बीबीसीसँग बताएका छन्।

उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन्।

यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्।

नक्सा

महत्त्वपूर्ण पूर्वाधारमा क्षति

भूकम्पका कारण टर्कीको इस्केन्दरुन बन्दरगाहमा आगलागी भएको थियो। अहिले आगो निभाइएको अधिकारीहरूले बताएका छन्।

त्यहाँ रहेका कयौँ ढुवानी गर्ने कन्टेनरमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि विमान तथा हेलिकप्टर प्रयोग गरिएको थियो।

प्रमुख ढुवानी कम्पनीहरूले त्यस क्षेत्र नजिकका अन्य बन्दरगाहहरूमा जहाज डाइभर्ट गर्न थालेका थिए।

सिरियामा सहायताबारे अन्योल

संयुक्त राष्ट्रका पूर्व सहायता प्रमुखले उत्तरी सिरियामा उक्त क्षेत्र नियन्त्रणमा लिन प्रयासरत कुनै गुटको साटो मानवीय र अन्तर्राष्ट्रिय समूहहरूमार्फत सहायता पठाइनु पर्ने बताएका छन्।

बीबीसीको एक कार्यक्रममा यान एगल्यान्डले त्यस्ता सहायता "सिरियाका सरकारी पक्ष वा उनीहरूका विपक्षीलाई दिन नहुने” बताएका हुन्।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित उत्तरी सिरियाको केही भागहरू अझै पनि देशको गृहयुद्धका सशस्त्र विपक्षी समूहहरूद्वारा नियन्त्रित छन्।

सिरियाली विदेशमन्त्री फैसल मेकदादले युरोपेली देशहरू समक्ष सहायता पठाउन आह्वान गरेका छन्। तर, सन् २०११ मा युद्ध सुरु भएयता त्यहाँको सरकारले उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास स्वरूप विपक्षी नियन्त्रित क्षेत्रहरूमा पटकपटक सहायता रोकेको आरोप लाग्दै आएको छ।

यो मानवीय मामिलामा काम गर्ने संस्थाहरूका लागि "निकै जटिल राजनीतिक परिदृश्य" भएको एगल्यान्ड बताउँछन्।

नक्सा

तस्बिर स्रोत, Getty Images

"मलाई लाग्छ सहायता पूर्ण रूपमा संयुक्त राष्ट्रका निकायहरू, रेड क्रस र रेड क्रिसेन्टजस्ता गैर-सरकारी संस्थाहरूको प्रणालीमार्फत पुर्‍याइनु पर्छ," उनले थप भने।

उनले भूकम्पबाट प्रभावित अधिकांश क्षेत्र "शरणार्थी शिविरहरूको समूह" हुनसक्ने बताए।

"उत्तरी सिरिया र दक्षिणी टर्कीका भूकम्प प्रभावित क्षेत्रहरूमा युद्धबाट विस्थापित भएका लाखौँ मानिसहरू छन्," उनले भने।

उद्धार कार्य

तस्बिर स्रोत, Getty Images

दक्षिण कोरियाद्वारा सिरियालाई सहयोग घोषणा

उत्तर कोरियाली नेता किम जङ-अनले पनि भूकम्प पीडितहरूलाई समवेदना पठाएका छन्। उनले टर्की र सिरियामा झन्डै ८ हजारको ज्यान जाने गरी गएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षीलाई समवेदना पठाएका हुन्।

"यहाँको नेतृत्वमा सिरियाली सरकार र जनताले भूकम्पबाट भएको क्षति पार लगाउनु हुनेछ र प्रभावित मानिसहरूको जीवन स्थिर बन्छ भन्ने कुरामा म विश्वस्त," किमले सिरियाका राष्ट्रपति बशर अल असदलाई पठाएको सन्देशमा भनिएको मङ्गलवार राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ।

दक्षिण कोरियाले टर्कीलाई आपत्कालीन मानवीय सहायताका लागि ५० लाख डलर उपलब्ध गराउने र त्यहाँ खोज र उद्धार कार्यमा मद्दत गर्न ११० जना कामदार पठाउने बताएको छ। दक्षिण कोरियाले चिकित्सकीय आपूर्ति पनि पठाउने त्यहाँका विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलवार जानकारी दिए।

भूकम्पपछिको भग्नावशेष

तस्बिर स्रोत, Getty Images

आमाको मृत्यु, नवजात शिशुको उद्धार

उत्तर–पश्चिम सिरियाको एउटा ध्वस्त भवनको भग्नावशेषमुनिबाट एक नवजात शिशुको उद्धार भएको छ।

उनकी आमा प्रकोप लगत्तै सुत्केरी भएकी थिइन् र सन्तानलाई जन्म दिएपछि उनको मृत्यु भएको एक आफन्तले बताइन्। भूकम्पमै परेर उनको बुबा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाए।

एक भिडिओको नाटकीय दृश्यमा ती शिशुलाई धुलोले ढाकेको अवस्थामा भग्नावशेषबाट निकालिएको देखिन्छ। टर्कीको सीमा नजिकै रहेको इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो।

नजिकै रहेको अफ्रिनस्थित अस्पतालका एक चिकित्सकले शिशुको अवस्था स्थिर रहेको बताए।

परकम्प

परकम्प गएका ठाउँहरू

भूकम्प गएका क्षेत्रमा परकम्पहरू जाने क्रम नरोकिएको बताइएको छ।

परकम्पका कारण कतिपय क्षेत्रमा उद्धारमा समेत कठिनाइ भएको विवरण आएका छन्।

भूकम्पमा घरबाट बाहिर निस्किएकाहरू परकम्पको डरले पुन: घरमा फर्कन नसकेको सञ्चारमाध्यमहरूमा जनाइएको छ।

प्रभावित क्षेत्रमा राष्ट्रपति

टर्कीमा राहत र उद्धार कार्यमा सरकारले ढिलासुस्ती गरेको भनेर आलोचना बढिरहेका बेला राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन्।

उद्धारको प्रयास सरकारी स्तरमा सुस्त हुँदा भूकम्प अति प्रभावित क्षेत्रमा परिवारहरूले आफन्तलाई खोज्न आफैँले मद्दत गरिरहेको बताएका छन्।

राष्ट्रपति एर्दोआनले भने प्रारम्भिक अवस्थामा प्रतिक्रिया जनाउन कठिनाइ भएको स्वीकार गरेका छन् र त्यसको दोष क्षति पुगेका सडक र विमानस्थललाई दिएका छन्।

भूकम्पको असर सिरियामा पनि ठूलो स्तरमा परेको छ।

त्यहाँको विद्रोही नियन्त्रित क्षेत्रमा मानिसहरूको उद्धारमा खटिएको द ह्वाइट हेल्मेट्स नामक समूहले मानिसहरूको ज्यान बचाउन समय घर्किरहेको जनाएको छ।

सिरियाको इड्लिब सहरमा भग्नावशेषमा फसिरहेका एउटै परिवारको ६ जनाको जीवितै उद्धार भएको नाटकीय भिडिओ सामाग्री बाहिरिएको छ।