टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने: डब्ल्यूएचओ

तस्बिर स्रोत, Getty Images
- Author, टिफनी भेरटेमेर
- Role, बीबीसी न्यूज
सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुना बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
सोमवार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ५,००० जनाभन्दा बढीको मृत्यु भैसकेको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प त्योभन्दा पनि उत्तरी भेगमा गएको थियो।
उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवित रहेकाहरूको खोजी गरिरहेका छन्।
विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।
यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्।
भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।
पहिलो भूकम्पले सक्रिय तुल्याएको भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काह्रमानमराश प्रान्तको एल्बिस्तान जिल्लामा थियो।
त्यस क्षेत्रभरी नै परकम्पहरू पटकपटक गइरहेका छन्।

तस्बिर स्रोत, Getty Images
टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।
उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतकहरू फेला पारिरहँदा र भूकम्पमा ज्यान गुमाउनेहरूको सङ्ख्या हालको दाँजोमा आठ गुणासम्म बढ्न सक्ने विश्व स्वास्थ्य संघ, डब्लूएचओले चेतावनी दिएको छ।
"भूकम्प जाँदा दुर्भाग्यवश एक प्रकारका परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारेका प्रारम्भिक विवरणमा केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओकी वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन्।
स्मलवुडले हिउँ परिरहेको अवस्थाका कारण धेरै मानिसहरू आश्रयविहीन हुने र त्यसले जोखिमसमेत बढाउने बताएकी छन्।
धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै देशका भूभागमा रहेका शिविरहरूमा आश्रित छन्।
विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।
ध्वस्त भएका भवनहरू मध्ये 'गाजीयान्टेप कासल' ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।
टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयेबाट बीबीसीकी मध्यपूर्व संवाददाता आना फोस्टरले त्यहाँको विपदग्रस्त अवस्थाको वर्णन गरेकी छन्।
"पानी बेस्सरी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन।
"हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ," उनले भनिन्।

तस्बिर स्रोत, Getty Images

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास पाइपलाइनमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्।
टर्कीका ऊर्जा मन्त्री फातिह डोएनमेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन्।
टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्येको एकमा पर्दछ।
सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजान प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ।
टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ।
टर्कीले अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताए।


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरशले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् र प्रकोपबाट प्रभावित धेरै परिवारहरू "पहिलेबाट नै मानवीय सहायताको चरम आवश्यकतामा रहेकाहरू छन् र तिनीहरू रहेका क्षेत्रमा पहुँच नै चुनौतीपूर्ण छ।"
युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाउने जनाएको छ। नेदरल्यान्ड र रुमेनियाका उद्धारकर्मीहरू प्रकोप स्थलतर्फ प्रस्थान गरिसकेका छन्।
यूकेले ७६ जना विशेषज्ञ , उपकरण र उद्धारकार्यमा तालिमप्राप्त कुकुरहरू पठाउने जनाएको छ।
फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई सहयोगको प्रस्ताव गरेका छन् र इरानले पनि।
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमोन सोइलु ले हाते, ओस्मानिये, आदियामान, मालाट्या, सान्लिउर्फा, अदाना, दियारबकर र किलिस लगायतका दशवटा शहरहरू प्रारम्भिक भूकम्पको चपेटामा परेको बताएका छन्।
ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालयहरू बन्द गरिएको छ।


भूकम्प प्रभावित क्षेत्रमा सङ्कटकाल
टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० वटा प्रान्तमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरेका छन्।
एर्दोआनले टर्कीमा मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताए। सिरियामा १,६०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।
टेलिभिजन सम्बोधनमा एर्दोआनले सङ्कटकालको अर्थ देशको दक्षिण-पूर्वमा उद्धार कार्य "तीव्र हुने" सुनिश्चित गर्नु रहेको बताए।
उक्त सङ्कटकाल आगामी मे १४ मा चुनाव हुनुअघि समाप्त हुनेछ।
उक्त चुनावमा एर्दोआनले २० वर्षपछि पनि सत्तामा रहने प्रयास गर्नेछन्।
टर्कीमा पछिल्लो पटक सन् २०१६ मा असफल सत्तापलटको प्रयासपछि देशमा सङ्कटकाल लगाएको थियो र त्यसलाई दुई वर्षपछि हटाएको थियो।






















