'हे ईश्वर! प्रियजन सकुशल फिर्ता पाऔँ, अरू केही चाहिँदैन': पहाड काममा जाँदा बाढीमा बेपत्ता मधेशवासीका परिवार

टिमुरे बजारमा क्षतिग्रस्त भवनहरू

तस्बिर स्रोत, Reuters

    • Author, माधुरी महतो
    • Role, वीरगन्ज
  • Published
  • पढ्ने समय: ५ मिनेट

सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ८ का रामकुमार यादवका तीन जना भाइहरू रसुवाको दोभान हाइड्रोपावरमा कार्यरत थिए। उनीहरू अहिले बेपत्ता छन्।

रामकुमारका अनुसार उनका तीनै जना भाइहरू प्राविधिक क्षेत्रमा कार्यरत थिए।

३५ वर्षीय शिवकुमार यादव इन्जिनियर, ३२ वर्षीय देवकुमार यादव ओभरसियर र २५ वर्षीय शचितकुमार यादव इलेक्ट्रिसियन थिए।

रामकुमार भन्छन्, "एक भाइका दुई सन्तान छन्, अर्का भाइको गत वैशाखमा मात्रै बिहे भएको, कान्छो भाइ अविवाहित छन्। रसुवामा बाढी आउँदा उनीहरू काममै थिए। अहिलेसम्म सम्पर्क हुन सकेको छैन। परिवारमा नौ जना छौँ। हामी अहिले सोच्नै र सहनै नसकिने गहिरो पीडामा छौँ। झन् सरकार हाम्रा घरका सदस्यहरू जुन ठाउँमा फसेका छन्, त्यहाँसम्म पुग्न सकेकै छैन। ईश्वर र सरकारसँग मेरो बिन्ती छ, मेरा घरका तीनै जना भाइहरू सकुशल भेटिऊन्।"

बाढीपछिको दृश्य

तस्बिर स्रोत, BBC/ShaktimayaTamang

यस्तै कारुणिक पीडा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ रमोलीका गजेन्द्र रायको परिवारमा पनि छ।

उनकी ४६ बर्सिया आमा तेतरी देवी बाढीपछि हालसम्म बेपत्ता छिन्।

आफ्नो पीडा व्यक्त गर्दै गजेन्द्रले भने, "हामी सबै जना नुवाकोटको बेत्रावतीमा कवाडको सामान उठाएर बेच्ने काम गर्थ्यौँ। हाम्रो आठ जनाको परिवार थियो। त्योभन्दा पहिले रौतहटमा छँदा आर्थिक अवस्था निकै कमजोर भएका कारण सपरिवार कमाइ गर्ने उद्देश्यले रसुवा गएका थियौँ। बाढी आएपछि ज्यान जोगिए पनि हामी फेरि रसुवा छोडेर सर्लाही फर्कियौँ, अब कहिल्यै नजाने गरी। अहिले बालबच्चा र परिवारका सबै जना साह्रै डराएका छौँ। अब यतै केही काम खोज्ने र गर्ने भन्ने कुरा पछिको हो। अहिले मेरो बुवा र भाइ उता रसुवामै आमालाई खोज्दै हुनुहुन्छ। हामी एकदमै पीडामा छौँ, हाम्रो केही पनि बचेको छैन।"

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका तैयब मिया मन्सुरीका १७ वर्षीय छोरा समिम मिया पनि रसुवाबाटै बेपत्ता भएका छन्।

छोराको सम्झनामा छटपटाइरहेका तैयबले भने, "मेरो छोराले रसुवामा टायर बनाउने पसलमा काम गर्थ्यो। मेरै टोलका एक जना दाइले खोलेको पसलमा ऊ काम गर्न गएको थियो। टोलका अरू पनि गरेर हाम्रो टोलबाट मात्रै पाँच जना बेपत्ता छन्। दिमागले केही काम गरिरहेको छैन। सिङ्गो टोल नै यतिबेला शोकमा डुबेको छ। त्यसमा झन् केही खबर नआउँदा मन निकै आत्तिएको र घरपरिवारका सबै सदस्य बेचैन अवस्थामा छन्।"

बाढीले सबै सपना र कमाउने चाहना एकै पटक बगाएर लगे पनि आफ्ना सदस्यहरू केवल जीवित अवस्थामा फर्किदिए अरू केही नचाहिने पीडित परिवारहरूको भनाइ छ।

एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि आफन्तहरूको आशा मरेको छैन। उनीहरूले बेपत्ता भएकाहरूको तीव्रताका साथ खोजी र उद्धार गरिदिन सरकार तथा सम्बन्धित सम्पूर्ण निकायसँग निरन्तर माग गरिरहेका छन्।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका २२० जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएकोमा ३८ जना परिवारको सम्पर्कमा आएका छन्।

अहिलेसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। बाँकी १८० जनाको अवस्था अज्ञात छ।

कतिपयले गह्रौँ मन बनाएर कुशको शव बनाई अन्त्येष्टि गर्नुपरेको दुखेसो पोखिरहेका छन्। कतिपय भने कतै आफ्ना प्रियजनको उद्धार भइहाल्छ कि वा कतै फेला परिहाल्छन् कि भन्ने आशमा छन्।

गरिबी र कमजोर आर्थिक अवस्थाका कारण रोजगारीका लागि रसुवा पुगेका मानिसहरू बाढीको चपेटामा परेपछि मधेशका गाउँ बस्तीहरू यतिबेला गहिरो शोक, सन्नाटा र त्रासदीमा डुबेका छन्। यतिबेला प्रायः सबै गाउँलेहरूको चिन्ता र चाहना एउटै छ — रसुवा बाढीमा बेपत्ता भएका आफ्ना प्रियजन जसरी भए पनि घर फर्किऊन्।

प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क -

  • सप्तरी - ४३ जना अझै बेपत्ता, ३ जना सम्पर्कमा, १ जनाको मृत्यु पुष्टि
  • पर्सा - ४३ जना अझै बेपत्ता, ३ जना सम्पर्कमा
  • बारा - २२ जना अझै बेपत्ता, ४ जना सम्पर्कमा, १ जनाको मृत्यु पुष्टि
  • सर्लाही - २१ जना अझै बेपत्ता, ६ जना सम्पर्कमा
  • रौतहट - १४ जना अझै बेपत्ता, ६ जना सम्पर्कमा
  • महोत्तरी - १० जना बेपत्ता, ७ जना सम्पर्कमा
  • धनुषा - ७ जना बेपत्ता, ७ जना सम्पर्कमा
  • सिराहा - १२ जना बेपत्ता, २ जना सम्पर्कमा

प्रहरी कर्मचारीतर्फ १० जना अझै सम्पर्कविहीन रहेको उल्लेख छ।

जिल्लागत विवरणअनुसार पर्सामा ३, रौतहटमा ३, सर्लाहीमा ३, धनुषामा १ र सप्तरीमा १ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

बेपत्ताको खोजीबारे मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकाल भन्छन्, "प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयहरूमा एक-एक जना फोकल पर्सन व्यवस्था गरेर रसुवाको बाढीमा परी बेपत्ता भएकाहरूको नामावली सङ्कलन गर्ने कार्य गरिरहेका छौँ।"

"डीएनए परीक्षणका लागि हालसम्म कुनै पनि परिवारका सदस्य सम्पर्कमा आउनुभएको छैन, यदि कसैले सम्पर्क गर्नुभएमा हामी माथिल्लो निकायमा त्यही अनुसार आवश्यक समन्वय गर्नेछौँ। यहाँ सङ्कलन गरिएका नामावलीहरू निरन्तर केन्द्रमा पठाइरहेका छौँ। नदीहरूमा बगेर शव भारततर्फ पुगेको अवस्थामा फेला परेमा भारतीय प्रहरीसँग समन्वय गरेर व्यवस्थापनमा लाग्न हामी पूर्ण तयारी अवस्थामा छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।