'राजावादी' शक्ति प्रदर्शनपछि राजतन्त्र र गणतन्त्र पक्षधर दलहरू के गर्दै छन्?

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

आइतवार काठमाण्डूमा भएको राजतन्त्र पक्षधर शक्तिहरूको प्रदर्शनमा भएको उपस्थितिले आफूहरू उत्साहित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू फर्कँदा स्वागतका लागि भेला हुन आह्वान गरेको संसद्को पाँचौँ ठूलो दल राप्रपाका नेताहरूले राजतन्त्रको पक्षमा जनमत बढिरहेको दाबी गरेका छन्।

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सहभागी भएका मानिसहरूबारे गणतन्त्रको पक्षधर दलहरूलाई भने झस्काएको देखिन्छ।

तराई-मधेश जागरण अभियान चलाइरहेको माओवादीले आइतवार नै आफ्नो अभियान स्थगन गरेर राजतन्त्रको पक्षमा भएको प्रदर्शनको समीक्षा गरेको छ।

"मुख्यतः कुशासनका कारण पनि यो देखियो। अर्को चाहिँ संविधानमा सङ्घीयता र धर्मनिरपेक्षता मन नपराएका आन्तरिक र बाह्य तत्त्वका कारण पनि हो," माओवादी पदाधिकारी बैठकको निष्कर्ष सुनाउँदै पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने।

"जसले जति चलखेल गरे पनि आखिर जनता नै निर्णायक हो। जनता चैँ गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्थाको पक्षमा छन्। लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हो र पछाडि फर्कनेतिर किमार्थ स्वीकार्य छैन।"

एक दशकलामो सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले आफूलाई गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको सूत्रधार भएको दाबी गर्दै आएको छ।

'आन्दोलन गरेर राजा ल्याइहाल्ने पक्षमा छैनौँ'

राप्रपाका उपाध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधान राजतन्त्र पुनर्स्थापनाको मुद्दा विसं २०८४ सालको निर्वाचनसम्म लम्ब्याउने पक्षमा आफूहरू नरहे पनि तत्कालै आन्दोलन चर्काएर राजतन्त्र फर्काउने योजनामा नभएको बताएका छन्।

बरु उनले प्रमुख दलहरूसँग वार्ता र संवाद सुरु गरेर राजतन्त्र पुनर्स्थापनामा ठूला दलहरूलाई सहमत गराउने प्रयास गरिने बताएका छन्। वार्ता सकारात्मक नभए भद्र अवज्ञा आन्दोलन अघि बढाउने राप्रपाको तयारी रहेको उपाध्यक्ष प्रधानले बताए।

"यदि दलीय सहमति भयो भने यो कुरा (राजतन्त्र पुनर्स्थापना) हामी अहिले नै गर्न सक्छौँ," प्रधान भन्छन्।

"संविधान संशोधन गर्न दुईतिहाइको बहुमत चाहिन्छ। तर त्यो अवस्थासम्म पर्खने कि आन्दोलनबाटै परिवर्तन गर्ने भन्ने कुरा पनि विचारणीय छ। तर हामी आन्दोलनमा जानुभन्दा पहिले अन्य ढङ्गबाट पनि सम्बोधन गर्ने प्रयास हुन्छ। "

आन्दोलनबाट परिवर्तनको प्रयास गर्दा अन्य जोखिम पनि हुन सक्ने भएका कारण आफूहरूले आन्दोलनलाई प्राथमिकता नदिएको प्रधानले दाबी गरे।

"हिजो मात्रै होइन, धेरैअघिबाट हामीले प्रदेशहरूमा गरिरहेका सभाहरूमा पनि उत्साहजनक उपस्थिति छ। तर आन्दोलनको माध्यमबाट गर्दा यहाँ धेरै किसिमका चलखेलहरू हुन्छन्। हामी राष्ट्रिय हित चाहने भएका कारण अन्य ढङ्गको प्रभाव नपरोस् भनेर पनि सोच्नुपर्छ," प्रधान भन्छन्।

"त्यसकारण तत्कालै आन्दोलन गरेर तुरुन्तै गरिहालौँ भन्ने भन्दा पनि वार्ताका लागि अझै पनि हामी खुल्ला नै छौँ।"

राजतन्त्रप्रति 'आकर्षण' देखिनुका तीन कारण

राप्रपाले आइतवार पूर्वराजा शाहको समर्थनमा देखिएको उल्लेख्य उपस्थितिमा तीन वटा कारण औँल्याएको छ।

"सरकार फिर्ती सवारी हुँदा स्वागत गर्ने क्रममा अपार जनमानसको उपस्थिति रह्यो। त्यसमा हामीले उठाएका मुद्दाप्रतिको जनसमर्थन, राजाको सम्बोधन र सरकारप्रतिको असन्तुष्टि तीनै कुरा जोडिएका छन्," राप्रपाका उपाध्यक्ष प्रधान भन्छन्।

सरकारप्रतिको असन्तुष्टि राजतन्त्र पक्षधरहरूप्रति आकर्षण देखिनुको एउटा कारण रहेको कुरामा गणतन्त्रको सूत्रधार दाबी गर्ने माओवादीको पनि सहमति देखिन्छ।

"यसको मुख्य कारण सरकारले आफ्नो काम देखाउन नसक्नु हो। कुशासन र भ्रष्ट्राचारी तथा बिचौलियाहरूलाई संरक्षण गरेका कारण पनि यस्तो भएको हो," माओवादी नेता सापकोटा भन्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सरकारका कारण राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा उपस्थिति भएको हुन सक्ने टिप्पणी गरेका छन्।

"मेरो विचारमा सरकारलाई थाहा हुनुपर्ने हो के भइरहेको छ कस्तो भइरहेको छ भनेर। जनता त हेरिरहेका छन् नि, त्यो हजारौँ हुल त जनता थिए होला नि धेरै त," सरकारको कारणले राजावादीहरू सडकमा आए भन्ने हो भनेर सोधिएको प्रश्नमा सोमवार रूपन्देहीमा लामिछानेले भने।

भारतीय नेताको टिप्पणी र दलहरूको आशङ्का

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजतन्त्र पक्षधरहरूको र्‍यालीमा कुनै सहभागीले बोकेको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर सामाजिक सञ्जालमा शेअर गर्दै टिप्पणी गरेका छन्।

माओवादी केन्द्रले पनि आदित्यनाथको तस्बिर प्रयोग भएको विषयमा छलफल गरेको थियो।

"उताका फोटा प्रदर्शित भइरहेका छन्। उताका मान्छेहरूले उकास्ने ढङ्गले टिप्पणी गरिरहेका छन्। त्यो स्पष्टै छ," राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा भारतीय प्रभावबारे माओवादी उपाध्यक्ष सापकोटाले भने।

हालै भारतको हिन्दुवादी सङ्घटन राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत शुक्रवार मात्रै नेपालको सीमावर्ती भारतीय सहर वीरपुरमा आएर आफू सीमावर्ती क्षेत्रमा आउनु नेपालका लागि एउटा सङ्केत भएको टिप्पणी गरेका थिए।

"हामी सबैको लागि यो एक सङ्केत पनि हो। एक सूचना पनि हो। सङ्केत यो हो कि जुन दुर्भाग्यको दिन थियो, त्यो अब बदलिनेवाला छ। सूचना यो हो कि यो सबै स्वतः हुँदैन, प्रयास गर्नुपर्छ," उनले भनेका थिए।

एक भवन उद्घाटनको उक्त कार्यक्रममा कैयौँ नेपालीहरूको पनि सहभागिता देखिएको थियो।

सत्ताधारी दलको टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पक्षधरहरूलाई आगामी निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर देखाउन चुनौती दिँदै आएका छन्।

पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा आफूले कुनै माहौल नदेखेको टिप्पणी गरेका छन्।

"केही माहौल देखेको छैन मैले," सोमवार धनगढी विमानस्थलमा पत्रकारहरूको प्रश्नमा देउवाले भने।

'काठमाण्डूमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ नि' भन्ने अर्को प्रश्नमा देउवाले भने, "त्यो कहाँ अद्भुत भएको छ, केही भएकै छैन नि।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।