दिनभरी 'अड्डा जमाएर बस्ने' ग्राहकका कारण दक्षिण कोरियाली क्याफेहरूले खेप्नुपरेको हैरानी

- Author, जुना मून
- Role, बीबीसी कोरियन
- Reporting from, सोल, दक्षिण कोरिया
सोलको समृद्ध क्षेत्र देइचीका ह्यून सङ-जू एउटा द्विविधामा छन्।
उनको क्याफेमा कहिलेकाहीँ 'कगोङजोक' भनेर चिनिने ग्राहकहरू आइपुग्छन्। एक हदसम्म क्याफेहरूमा बसेर पढ्न वा काम गर्न रुचाउने उत्तर कोरियाली युवाहरूलाई जनाउन उक्त शब्द प्रयोग हुन्छ।
हालै एकजना ग्राहकले दुइटा ल्यापटप र दिनभरलाई पुग्ने गरी उपकरणहरू चार्ज गर्न छवटा पोर्टसहितको 'पावरस्ट्रिप' जोडेर आफ्नो क्याफेमा बकाइदाको कार्यस्थल तयार पारेको उनले सुनाए।
"अन्तिममा मैले बिजुली नै काटिदिएँ," उनले बीबीसीसँग भने।
"यदि कोही त्यसरी दिनभरी ठाउँ ओगटेर बसिदियो भने देइचीको महँगो भाडाले गर्दा क्याफे चलाउनै मुस्किल हुन्छ।"
दक्षिण कोरियाका खासगरी धेरै विद्यार्थी तथा कार्यालयमा काम गर्ने मानिसहरू भएको क्षेत्रमा 'कगोङजोक'को चलन व्यापक मौलाएको छ। अरूसँग घुलमिल हुन क्याफे जाने यूकेजस्ता पश्चिमा देशहरूका चलनविपरीत यहाँ भने पढ्नेहरूको वर्चस्व हुन्छ।
स्टारबक्स कोरियाले केही ग्राहकले ल्यापटप मात्रै लिएर आउने नभई डेक्सटप मनिटर र प्रिन्टर समेत ल्याउने गरेको र टेबुलहरूलाई अलग्याउने तथा लामो अवधिसम्म बेवारिस छाड्ने गरेको जनाएको छ।
केहीले क्याफेलाई कार्यस्थल बनाउँदा र लामो समयसम्म सिटहरू बेवारिस छाडेर हिँड्ने प्रवृत्तिले अन्य ग्राहकहरूलाई अप्ठेरो परेकाले त्यस्ता "साना सङ्ख्याका चरम घटनाहरू"माथि रोक लगाउन भन्दै स्टारबक्सले देशव्यापी रूपमा आफ्ना शाखाहरूमा एउटा निर्देशिका नै जारी गरेको छ।
स्टारबक्सले आफ्ना कर्मचारीले ग्राहकलाई निस्किन नभन्ने तर आवश्यक पर्दा उक्त निर्देशिका देखाउने जनाएको छ। यसलाई उसले आफ्नो शाखाको वातावरणलाई थप आरामदायी बनाउनेतर्फको कदम भनेको छ।
तर यसले 'कगोङजोक'हरूलाई खासै फरक पारेको देखिएको छैन जसका निम्ति हालैका वर्षहरूमा स्टारबक्स एक हदसम्म आश्रयस्थलसरी थियो र अझै रहँदै आएको छ।

एउटा बिहीवारको साँझ सोलको गङनम क्षेत्रस्थित स्टारबक्सको एउटा क्याफेमा ग्राहकहरू ल्यापटप र किताबतर्फ शिर झुकाएर ध्यानमग्न भएर पढिरहेका थिए। तिनमा विद्यालयको बढाई बिचैमा छाडेकी र विश्वविद्यालयको 'सूनेउङ' भनिने प्रवेश परीक्षाको तयारी गरिरहेकी १८ वर्षीया छात्रा पनि थिइन्।
"म यहाँ बिहान ११ बजेतिर आउँछु र राति १० बजेसम्म बस्छु," उनले बीबीसीसँग भनिन्, "कहिलेकाहीँ आफ्ना सामान यहीँ छाडेर नजिकै खाना खान जान्छु।"
अगस्ट ७ मा नयाँ निर्देशिका जारी गरिएपछि स्टारबक्सका शाखाहरूमा जाँदा हामीले भारी उपकरणहरू देखेनौँ, यद्यपि ल्यापटप स्ट्यान्ड, किबोर्ड र माउससहितका एक व्यक्तिलाई भने देख्यौँ। त्यस्तै केही ग्राहकले धेरै समयसम्म टेबुलभर आफ्ना किताब र ल्यापटप छाडेर हिँड्ने गरेको देखियो।
नयाँ रोकपछि देखिने गरी केही फरक पर्यो कि भनेर सोधिएको प्रश्नमा स्टारबक्स कोरियाले "पुष्टि गर्न कठिन भएको" बतायो।

स्टारबक्सको उक्त कदमप्रति मिश्रित प्रतिक्रिया आएको छ। क्याफेको प्रयोगका सन्दर्भमा सामान्य स्थिति कायम गर्नेतर्फ निकै समयदेखि खाँचो परेको कदमका रूपमा धेरैले त्यसको स्वागत गरेका छन्।
आराम गर्न वा कुराकानीका निम्ति स्टारबक्स जानेहरूले उक्त कदमलाई रुचाएका छन् जसलाई 'कगोङ्जोक'का कारण बस्ने ठाउँ पाउन मुस्किल पर्थ्यो र त्यहाँको सन्नाटापूर्ण वातावरणका कारण खुलेर कुराकानी गर्न हिचकिचाउँथे।
केहीले चाहीँ स्टारबक्सको निर्णयलाई रुचाएका छैनन् र चाहिनेभन्दा बढी गरेको भन्दै आलोचना गरेका छन्।
यसले सन् २०१० मा देखिन थालेको र कफीचेनका फ्रेन्चाइजीहरूको विस्तारसँगै बढ्दै गएको 'कगोङजोक'बारे दक्षिण कोरियामा व्यापक रूपमा भइरहेको सार्वजनिक बहसलाई प्रतिबिम्बित गर्छ। देशका कफीचेनहरूको सङ्ख्या बढ्दै गइरहेको छ र राष्ट्रिय कर कार्यालयका अनुसार गएको पाँच वर्षमा ४८ प्रतिशतले बढेर कफीसपको सङ्ख्या एक लाखनजिकै पुगेको छ।
रोजगारीसम्बन्धी प्ल्याटफर्म 'जिन्हाक्सा क्याच'ले काम खोजिरहेका २ हजारभन्दा धेरै 'जेन जी'हरूमाझ हालै गरेको एउटा सर्वेक्षणमा ७० प्रतिशतजतिले आफूहरूले कम्तीमा सातामा एकपटक क्याफेमा बसेर पढ्ने गरेको बताएका थिए।
'दुईजनाले दशजनालाई पुग्ने ठाउँ ओगट्दिन्छन्'
'चाहिनेभन्दा बढी सिट ओगट्ने' प्रवृत्तिलाई सन्तुलनमा राख्न सजिलो छैन र त्यस्तो स्थितिसँग जुधिरहेका केही स्वतन्त्र क्याफेहरूले अनेकथरीका उपाय अपनाएका छन्।
ग्राहकले धेरैथरीका इलेक्ट्रोनिक उपकरणहरू ल्याएर कार्यस्थल नै तयार पारेको अनुभवसमेत गरेका ह्यूनले त्यस्ता मामिलाहरू विरलै मात्र हुने बताए।
"सयमा एक दुईजना त्यस्तो हुन सक्लान्," १५ वर्षदेखि क्याफे चलाउँदै आएका उनले भने, "अधिकांशचाहीँ अन्यप्रति संवेदनशील हुन्छन्। केहीले त अझ लामो समय बसे भने अर्को पेय किन्छन् र मलाई त्योसँग केही समस्या छैन।"
स्थानीय मानिसहरूले कुराकानी गर्ने थलो वा निजी ट्युशनका निम्तिसमेत प्रयोग हुने ह्यूनको क्याफेले सबैको साझा स्थलका रूपमा क्याफेलाई लिइँदासम्म 'कगोङजोक'लाई अझै अनुमति दिइरहेको छ।
केही अन्य क्याफे फ्रेन्चाइजीहरूले त झन् उनीहरूलाई उपकरण चार्ज गर्ने सुविधा, भिन्दै डेस्क र धेरै बस्ने सुविधा समेत दिन्छन्।

तर केहीले झन् कडा कदम अपनाएका छन्। बीबीसीसँग आफ्नो नाम अज्ञात राखिदिन अनुरोध गरेका जिओन्जुका एक क्याफे सञ्चालकले मनपरी ठाउँ ओगट्न थालिएको गुनासो बारम्बार आउन थालेपछि "अध्ययन निषेधित क्षेत्र"को नियम ल्याएका छन्।
"दुईजना आउँछन् र दश जनालाई पुग्ने ठाउँ ओगट्छन्। कहिलेकाहीँ त ती खाना खाना जान्छन् र सातआठ घण्टा पढ्ने गरी फर्किन्छन्," उनले भने, "आखिरीमा हामीले 'यो ठाउँ कुराकानी गर्नका निम्ति हो, पढ्नका निम्ति होइन' भनेर सङ्केतबोर्ड नै टाँस्यौँ।"
अहिले उनको क्याफेले पढ्ने वा बसेर काम गर्न आउनेहरूलाई अधिकतम दुई घण्टाको अनुमति दिन्छ। कफी पिउन आउने नियमित ग्राहकका हकमा भने उक्त नियम लागु हुँदैन।
"ग्राहकहरूबीच निम्तिन सक्ने समस्यालाई रोक्न यस्तो नियम बनाएको हुँ," उनले भने।
जारी रहला 'कगोङ्जोक'?

यो प्रवृत्तिको कारण के हो र किन दक्षिण कोरियामा पुस्तकालय, साझा कार्यस्थल वा घरको साटो क्याफेमा बसेर काम गर्नु पर्ने वा पढ्नु पर्ने खाँचो परेको छ?
केहीका निम्ति क्याफे सामान्य आरामदायक ठाउँमात्र नभइ आफू रमाउने ठाउँ हो।
उनान्तीस वर्षकी यू-जीन मोले बीबीसीलाई आफ्नो अनुभव सुनाइन्। "घर सुरक्षित स्थान थिएन। म बुवासँग सानो कोठामा बस्थेँ र कहिलेकाहीँ उनी बाहिरबाट ढोका लगाएर मलाई एक्लै छाडेर जान्थे।"
अहिले वयस्क भएपछि पनि उनलाई एक्लै बस्न गाह्रो लाग्छ। "उठ्नेबित्तिकै म क्याफे जान्छु। पुस्तकालय र पढ्नका निम्ति बनाइएका क्याफेहरूमा पनि नगएकी होइन तर त्यहाँ निस्सासिएजस्तो महसुस हुन्छ," उनले भनिन्।
आफूजस्तै मानिसहरूले बस्न र पढ्न आरामदायी ठानून् भनेर पछि एक वर्षसम्म उनले आफ्नै क्याफे पनि चलाइन्।
अनसन विश्वविद्यालयकी प्राध्यापक चोई र-यङ 'कगोङजोक'लाई दक्षिण कोरियाको अति प्रतिस्पर्धी समाजद्वारा आकार दिइएको सांस्कृतिक प्रवृत्तिका रूपमा हेर्छिन्।
"यो हामीले बनाएको समाजद्वारा पैदा भएको युवा संस्कृति हो," बीबीसीसँग उनले भनिन्, "धेरै 'कगोङजोक'हरू विद्यार्थी वा काम खोजिरहेकाहरू छन्। पढाइको होस्, रोजगारी नपाइने हो कि भन्ने भयको होस् वा पढ्ने वातावरण नभएको घरको अवस्थाका कारणले होस्, उनीहरू दबावमा छन्।"
"एक किसिमले यी युवाहरू काम गर्न वा सिक्नका निम्ति पर्याप्त सार्वजनिक स्थल उपलब्ध नगराउने प्रणालीको मारमा छन्," उनले थपिन्, "उनीहरूलाई एउटा समस्याका रूपमा हेर्न सकिएला तर उनीहरू सामाजिक संरचनाको उपज हुन्।"
प्राध्यापक चोई अधिक समावेशी स्थलहरू बनाउने समय आएको बताउँछिन्। "यो संस्कृतिलाई वास्तवमै अपनाउने हो भने हामीलाई अरूलाई बाधा नपुर्याइकन क्याफेमा बसेर अध्ययन गर्न दिने निर्देशिका तथा वातावरणको खाँचो छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








