जागिरका खराब अन्तर्वार्ता: ‘हामीले हात खुट्टा टेकेर बाँ आवाज निकाल्नुपर्यो’

तस्बिर स्रोत, Getty Images
- Author, मिचेल लबियाक
- Role, व्यापार संवाददाता, बीबीसी न्यूज
लेइ ब्रिस्टलस्थित एउटा वकिलको कार्यालयमा जागिरका लागि अन्तर्वार्ताका लागि तोकिएको समयमा नै पुगिन्।
तर त्यसको २० मिनेटपछि अन्तर्वार्ता रद्द गरियो र उनलाई अर्को दिन फेरी आउन भनियो।
निराश भएर उनी त्यहाँबाट हिँडिन्। तर पछि उनलाई एउटा सन्देश आयो अन्तर्वार्ता ‘रद्द भएको’ जानकारी एउटा जाँच थियो जसमा उनी विफल भइन्।
उनले जागिर पाइनन्।
उनी त्यो अनुभव ‘पूर्णतया छक्क’ पार्ने भएको बताउँछिन्। त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरिन् र अन्तर्वार्ताको उक्त अनुभवका कारण कसैलाई रोजगारीमा छनौट गर्ने बेलामा सोझो खालको प्रणाली अवलम्बन गर्ने गरेको उनले बताइन्।
लेइ एक्लै होइनन्। रोजगारदाता छनोट गर्ने कम्पनी हेजका अनुसार नयाँ जागिरका लागि अन्तर्वार्ता दिने आधा भन्दा बढी मानिसहरूको अनुभव राम्रो छैन।
बीबीसीले दर्जनौँ मानिसहरूबाट असुहाउँदा, अपमानजनक र दुखद अन्तर्वार्ताका अनुभवहरू सुनेको छ।
जन लेविसले आफ्नो रोजगारदाता छान्ने प्रक्रिया फेरबदल गर्न लागेको समाचार आएपछि उनीहरू सम्पर्कमा आएका हुन्। उक्त कम्पनीले भर्ना प्रक्रियालाई निष्पक्ष बनाउने उद्देश्यले आवेदकहरूलाई पहिला नै अन्तर्वार्ताका प्रश्नहरू हेर्न दिने जनाएको थियो।
उसो भए खराब अन्तर्वार्ताले हामीलाई के सिकाउँछ? र अन्तर्वार्ता लिने अनि दिनेले आपसी अनुभवलाई कम प्रश्न उठ्ने बनाउन के गर्न सक्छन्?

तस्बिर स्रोत, Aixin Fu
लेइलाई जस्तै एइसिन फूलाई पनि निक्कै नरमाइलो अनुभव भयो। उनले विश्वविद्यालयमा न्यूनतम ज्यालाको विद्यार्थी प्रतिनिधिको पदका लागि आवेदन दिएकी थिइन्।
सामूहिक अन्तर्वार्ताको समयमा, सबैजनालाई हात र घुँडा टेकेर घिस्रिँदै ‘गाईलाई जस्तो बाँ’ गर्न लगाइयो।
“हामीले त्यस्तो ३ देखि चार मिनेटसम्म गर्यौँ,” उनी सम्झना गर्छिन्।
“त्यसबेला मलाई झिँजो लागिसकेको थियो। त्यो ज्यादै नै असंवेदनशील व्यवहार थियो। तर सबै जनाले त्यस्तै गरिरहेकाले त्यहाँ सहकर्मीहरूबाटै ठूलो दबाब थियो।”
अन्तर्वार्ताकारले आवेदकहरू ‘रमाइला’ रहे या नरहेको हेर्न खोजेको बताएपनि फू "कसैलाई शक्तिको उन्माद रहेकाले त्यस्तो व्यवहार गरिएको हुनसक्ने ठान्छिन्।”
'तपाईँलाई आफूसँग कति वर्ष बाँकी छ जस्तो लाग्छ?'
अमेरिकाको मिजौरीकी जुली आफूले अन्तर्वार्ताकार कतिपय अवस्थामा अन्तर्वार्ता दिने व्यक्ति भन्दा पूरै पृथक् किसिमको हुनसक्ने बताउँछिन्
अल्पकालीन कपी राइटरको लागि सन् २०२२ मा जुलीले एउटा भिडिओ अन्तर्वार्ता दिएकी थिइन्।
सुरुमा उनलाई अन्तर्वार्ता राम्रो भइरहेको जस्तो लाग्यो। “मैले सबै राम्रोसँगै गरिरहेका थिएँ। तर अन्त्यतर्फ पुग्नै लाग्दा अन्तर्वार्ताकारले सोधे, “अब तपाईँलाई आफ्नो कति वर्ष बाँकी छ जस्तो लाग्छ?”
“म मेरो छ दशकको सुरुवाती वर्षहरूमा छु। केही समयसम्म म अवकाश लिनेछैन।”
अन्तर्वार्ताको समयमा मानिसहरूले भोग्ने विभेद बुढ्यौलीपन मात्रै होइन।
पर्ल कासिर्ये एक जना कन्टेट मार्केटिङ व्यवस्थापक हुन्। उनले आफूलाई मिलानमा रहेको एउटा फेशन ब्रान्डमा आंशिक रूपमा घरै बसेर काम गर्ने जागिरका लागि दोस्रो चरणको अन्तर्वार्ता दिँदा आफ्नो पूर्खाकाबारेमा सोधिएको बताइन्।

तस्बिर स्रोत, Pearl Kasirye
उनी लन्डनमा बस्छिन् तर सानै छँदा युरोपमा अध्ययन गर्नका लागि उनले युगान्डा छाडेकी थिइन्।
उनले उक्त रोजगारदाताले ‘रिमोट प्रकृतिको सो कामका लागि’ उनलाई लन्डनको भन्दा युगान्डेली मापदण्डको ज्याला दिने पक्षमा अड्डी कसेको बताइन्।
त्यसपछि उनले आफ्नो आवेदन फिर्ता लिने निर्णय लिइन्।
“तपाईँ कहाँको हो, त्यसमा तपाईँको कुनै नियन्त्रण हुँदैन,” उनी भन्छिन्। उनले आफूले कैयौँ व्यक्तिहरूलाई अन्तर्वार्ता लिएको भन्दै आफूले सोध्न लागेको प्रश्नका बारेमा ‘आफू निक्कै संवेदनशील रहने गरेको’ बताइन्।
कतिपय पूर्वाग्रह भूलवश हुनसक्छन् वा कम्तीमा थोरैमात्रै प्रकट हुनसक्छन्। तर त्यो अन्तर्वार्ता दिनेका लागि अप्ठ्यारो बन्न पुग्छ।
टम (वास्तविक नाम परिवर्तन) एक जना आईटी इन्जिनियर हुन्। एकपटक उनलाई गोदामको साहायकको पदका लागि सोधिएका प्रश्नहरूको जवाफ सोझै अन्तर्वार्ताकारलाई नभई भिडिओमा दिन भनिएको थियो।
आफूलाई अटिजम भएको व्यक्तिका रूपमा व्याख्या गर्ने टम यो कुरा सबैलाई जानकारी गराउन चहादैँनन्।
तर अन्तर्वार्ताको समयमा आफूलाई प्रष्ट निर्देशन चाहिने उल्लेख गर्दै उनले प्रत्यक्ष अन्तर्वार्ता नै आफ्नो रोजाइमा पर्ने बताए। भिडिओ खिच्नु ‘छुट्टिनु अझ भनौँ तपाईँले कम्प्युटरसँग बोलेजस्तै हो।”
‘के तपाईँका केटाकेटी छन्?’

तस्बिर स्रोत, Applied
धेरै मानिसहरूले बीबीसीलाई जागिरमा आवेदन दिँदा आफूले लिङ्गका आधारमा विभेदको सामना गर्नुपरेको बताएका छन्।
एप्लाइड नामक रोजगारदाता छनौट सम्बन्धी प्ल्याटफर्मका अनुसार पाँचमध्ये झन्डै एक महिलालाई उनीहरूका सन्तान रहे या नरहेको या सन्तान जन्माउन योजना रहे या नरहेको सोध्ने गरिएको छ।
एप्लाइडकी प्रमुख कार्यकारी ख्याति सुन्दरमले पनि त्यस्तो प्रश्न सामना गरेकी छन्। उनले ‘आफूले गन्न सक्ने भन्दा धेरै पटक’ त्यस्तो प्रश्न सोधिएको बताइन्।
रोजगारदाताले आवेदकहरूलाई उनीहरूको वैवाहिक स्थिति, बालबच्चा भए या नभएको वा सन्तानको योजना भए या नभएको सोध्नु गैरकानुनी मानिन्छ।
तर एप्लाइडले उच्च तहका पदहरूमा आवेदन दिने पाँचमध्ये दुई महिलालाई त्यस्तो प्रश्न गरिएको भन्दै त्यस्ता पदको आवेदनमा अझ खराब अवस्था रहेको जनाएको छ।
सुन्दरम् गर्भावस्थाका कारण ‘आर्थिक दायित्व’ उत्पन्न हुनसक्ने सोचका कारण त्यस्तो गरिएको हुनसक्ने बताउँछिन्। “जति बढी तलब दिनुहुन्छ, गर्भवती रहेको बेला काम गर्ने वैकल्पिक व्यक्ति खोज्दा त्यत्ति नै धेरै तिर्नुपर्ने हुन्छ त्यही भएर उनीहरू कुनै जटिलता चाहँदैनन्।”
कतिपय अवस्थामा पूर्वाग्रह नहुँदा नहुँदै पनि कर्मचारी छनौट प्रक्रिया खराब हुने सुन्दरम् ठान्छिन्।
“अन्तर्वार्ता लिने पक्षको के कुरालाई राम्रो भन्ने कुनै आधार छैन।”
अन्तर्वार्ता लिनेहरूलाई सुझाव दिने क्रममा उनले सबै आवेदकहरूलाई एउटै प्रश्न सोध्न सुझाइन्। अल्पसङ्ख्यक समूहहरूलाई ध्यान दिँदै प्रश्नका खाका बनाउनुपर्ने उनको राय छ।
एक्सिन फू आफ्नो अनुभवले विशेष गरी कतिपय ‘औचित्यहीन र रोजगारीका लागि नचाहिने क्षमता’ जस्तै गाइले निकालेको जस्तो आवाज जोडिएका प्रश्न सोधिएका खण्डमा भावी अन्तर्वार्ताहरूमा थप विश्वासका साथ प्रस्तुति दिन आफूले सिकेको बताइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








