प्रधानमन्त्रीको घोषणापछि विदेशीलाई बाघ 'उपहार दिने' सुरसार के छ?

बाघ

तस्बिर स्रोत, Getty Images

    • Author, शरद केसी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

'मान्छे खुवाएर बाघ पाल्न नसकिने' प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुस ११ गतेको अभिव्यक्तिले संरक्षण क्षेत्र तरङ्गित बनिरहेकै थियो, त्यसको तीन दिनपछि पुस १४ गते साँझ राजधानी काठमाण्डू उपत्यकाको छिमेकी जिल्ला मकवानपुरमा बाघको आक्रमणमा एक वृद्धाको ज्यान गयो।

घटना भएको मनहरि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार उक्त घटना भएको १२ घण्टा बित्दा नबित्दै भोलिपल्ट बिहान त्यहीँ नजिक सूर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा बाघले मारिदियो।

वडा अध्यक्ष अधिकारीले भने, "चितुवा, गैँडा, हात्ती आइरहन्थे। बाघको आक्रमणमा यहाँ मान्छे मारिएको पहिलो पटक हो।"

बाघको आक्रमणमा ज्यान गुमाएकी कान्छीमाया रुम्बाका छोरा समीरका अनुसार घर नजिकै घाँस काट्न गएका बेला उनकी आमा बाघको आक्रमणमा परेकी हुन्।

रोजगारीको सिलसिलामा उनी काठमाण्डू बस्थे, गाउँको घरमा बुवा-आमा।

"हाम्रो गाउँमा यसअघि त्यस्तो घटना भएकै थिएन। त्यसैले कुनै डर वा शङ्का पनि थिएन," शोकमा रहेका उनले बीबीसीसँग भने, "घर नजिकै आमालाई बाघले मार्ला भन्ने त झन् सोच्ने कुरै भएन।"

पहिले बाघ बढाउने प्रतिबद्धता, अहिले घटाउने 'प्रस्ताव'

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बाघको आक्रमणमा परेर नेपालमा पछिल्लो पाँच वर्षमा ६५ जना मानिसले ज्यान गुमाउनु परेको छ। सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा २१ जनाको मृत्यु भएको थियो।

(त्यसअघिका आर्थिक वर्ष २०७७/७८ मा १३ र २०७६/७७ मा आठ जनाले ज्यान गुमाएका थिए। पछिल्ला दुई वर्षमा ज्यान गुमाउनेको सङ्ख्या पुनः घटेको देखिन्छ। गत आर्थिक वर्ष २०८०/८१ मा ११ र त्यसको एक वर्षअघि १२ जनाको मृत्यु भएको तथ्याङ्क छ।)

सन् २०२२ को गणना अनुसार देशमा रहेका कूल ३५५ वटा बाघहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा छन्।

सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनमा नेपाल सरकारले त्यस बेला देशमा एक सय २१ वटा रहेको बाघको सङ्ख्या सन् २०२२ सम्म दोबर बनाउने घोषणा गरेको हो।

नेपालको त्यो लक्ष्यप्रति यसअघि प्रधानमन्त्री छँदा ओलीले पनि प्रतिबद्धता जनाएका थिए।

सन् २०२० को बाघ दिवसमा दिएको सन्देशमा ओलीले भनेका थिए, "स्वच्छ र सफा पारिस्थिकीय प्रणाली भावी सन्ततिको नैसर्गिक अधिकार भएको हुँदा बाघ संरक्षण गर्नु आवश्यक छ। हामी बाँच्नका लागि इकोसिस्टम बचाउनु आवश्यक छ। यसै सन्दर्भमा बाघ बचाउनु अनिवार्य हुन्छ।"

त्यसअघि सन् २०१८ को गणनामै बाघको सङ्ख्या नेपालले तय गरेको लक्ष्य नजिक, २३५ पुगिसकेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो तस्बिर

तस्बिर स्रोत, kpsharmaoli.com.np

अहिले प्रधानमन्त्री ओली बढेको बाघको सङ्ख्याप्रति असन्तुष्ट छन्।

"हामीले पनि ठिक्क चाहिने खालका काम गर्नुपर्छ, साढे तीन सय बाघ पाल्ने होइन, डेढ सय भए पुग्छ," एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाँस्दै भनेका थिए, "जङ्गलमा मात्र होइन, गाउँमा पनि बाघ छ कि भनेर..परै देख्दा कुकुर हो कि बाघ हो छुट्याउनु पर्ने… यत्रो सानो देशमा साढे तीन सयभन्दा बढी बाघ।"

तर राष्ट्रिय निकुञ्ज विभागका पूर्व महानिर्देशक रहिसकेका संरक्षणविद् कृष्णप्रसाद आचार्य अहिलेको बाघको सङ्ख्या नेपालले कृत्रिम रूपमा बढाएको नभई वासस्थान व्यवस्थापन र चोरी सिकार नियन्त्रण गर्दा प्राकृतिक रूपमा बढेको बताउँछन्।

"यो वृद्धि त कसरी रोक्न सकिन्छ र?," उनले उपाय सुझाए, "अनुकूल वातावरण सृजना गर्दा साँच्चिकै धेरै सङ्ख्या बढ्यो भने व्यवस्थापन कसरी गर्ने भन्ने सोच्नुपर्छ, हामी त्यसमा प्रवेश नै गरेका छैनौँ।"

'बाघ उपहार'को सम्भावना र विदेशीको चासो

प्रधानमन्त्री ओलीले बाघको सङ्ख्या घटाउन वा नियन्त्रण गर्न विभिन्न देशहरूलाई उपहार दिन सकिने उपाय सुनाएका थिए। उनको भनाइ थियो, "दिऊँ साथीहरूलाई, खोर समेत दिनु पर्छ भने पनि दिऊँ।"

"प्रधानमन्त्रीको अभिव्यक्तिपछि कतिपय देशबाट बाघ लिने इच्छा प्रकट भएको छ," नेपाल टाइगर ट्रस्टका अध्यक्ष प्रकाश श्रेष्ठले भने, "उनीहरूले कानुनी र नीतिगत प्रक्रियाबारे चासो राखेका छन्।"

उनका अनुसार एउटा देशको चिडियाघरले 'नेपालले बाघको सङ्ख्या घटाउने निर्णय गरेको सुनेको' उल्लेख गर्दै आफू कहाँ अनुकूल सुविधा र खोर रहेको जनाएको छ। उक्त चिडियाघरले पोथी बाघ आयात गर्न सकिने सम्भावनाबारे इमेलमार्फत् जिज्ञासा राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिसम्बन्धी नेपालको कानुनमा 'सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वा सोको नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रूपमा उपहार उपलब्ध गराउन सकिने' व्यवस्था छ।

उक्त कानुनमा 'अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि' त्यसो गर्न सकिने सर्त छ।

मकवानपुरको मनहरिमा डार्ट गरिएको बाघ

तस्बिर स्रोत, Deependra Adhikary

तस्बिरको क्याप्शन, मकवानपुरको मनहरिमा डार्ट गरेको स्थानबाट १०० मिटर टाढा बेहोस अवस्थामा बाघ फेला परेको थियो

सन् १९८५ देखि २०१८ सम्मको विवरणअनुसार नेपालले २६ वटा एक सिङे गैँडा भारत, चीन, जर्मनी, युके, अमेरिका, बाङ्ग्लादेश, अस्ट्रिया, र जापानलाई उपहार दिएको छ।

त्यस्तै विभिन्न देश र संस्थालाई गोही, ब्वाँसो र चितुवा पनि उपहार दिइएको छ।

बाघ भने उपहार दिइएको सम्झना नरहेको अधिकारीहरूले बताउँछन्।

सन् १९९८ मा साउदी अरेबियालाई पाटे बाघको आखेटोपहार भने दिइएको सरकारी विवरणमा देखिन्छ।

प्रकाश श्रेष्ठ
PS
प्रधानमन्त्रीको अभिव्यक्तिपछि कतिपय देशबाट बाघ लिने इच्छा गरेर इमेल आएको छ, उनीहरूले कानुनी र नीतिगत प्रक्रियाबारे चासो राखेका छन्
प्रकाश श्रेष्ठ
अध्यक्ष, नेपाल टाइगर ट्रस्ट

विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालका संरक्षण कार्यक्रमका उपनिर्देशक तथा वन्यजन्तु जीवशास्त्री कञ्चन थापाका अनुसार बाघ लोप भएको भनिएको क्याम्बोडियामा फेरि पुनर्स्थापित गर्ने पहल भइरहेको छ।

काजाकस्तानले त्यहाँ लोप भएका अमुर प्रजातिका बाघ केही महिनाअघि नेदरल्यान्डस्‌बाट लगेको छ। ती दुई वटा बाघबाट जन्मिने बच्चालाई जङ्गलमै छाडिने थापाले जानकारी दिए।

विदेशमा भएका त्यस्ता अभ्यासका आधारमा नेपाल सरकारले चाहेमा मित्र राष्ट्रलाई बाघ उपहार दिन सकिने सम्भावना उनले देखेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य पनि कूटनीतिक पहल भएमा विदेशबाट बाघको माग हुन सक्ने बताउँछन्।

मनहरिमा मारिएका बाख्रा

तस्बिर स्रोत, Deependra Adhikary

तस्बिरको क्याप्शन, मकवानपुरको मनहरिमा महिला मारिएको भोलिपल्ट बिहानै बाघले ७ वटा बाख्रा मारेको थियो

तर विज्ञहरूका अनुसार त्यसको प्रक्रिया जटिल र लामो हुनसक्छ।

"सम्बन्धित देशमा बाघको वासस्थान, उसको आहारा प्रजातिको उपलब्धता, संरक्षणको अवस्था तथा सामाजिक र कानुनी पक्ष सबै अनुकूल हुनुपर्छ," थापाले भने, "तत्कालै पठाउन सकिने कुरा होइन।"

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले विगतदेखि नै विभिन्न वन्यजन्तु मित्र राष्ट्रलाई उपहार दिने गरेको सन्दर्भ प्रस्तुत गरे।

त्यसैले बाघ पनि उपहार दिन सकिने सम्भावनालाई नकार्न नसकिने प्रतिक्रिया दिँदै उनले भने, "तर अहिलेसम्म कुनै देशबाट औपचारिक रूपमा प्रस्ताव आएको छैन र उपहार दिनेबारे छलफल भएको पनि छैन।"

'संरक्षण क्षेत्रमा प्रधानमन्त्रीले पड्काएको बन्दुक'

बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणमा मानिसहरूको ज्यान गएको घटना बढेको दावी तथ्यगत रूपमा पुष्टि नभएको अधिकारीहरू बताउँछन्।

आर्थिक वर्ष २०६०/६१ मा १८ जना मानिस बाघको आक्रमणमा मारिएका थिए। जानकारहरूका अनुसार त्यस वर्ष नेपालमा बाघको सङ्ख्या अहिलेको सङ्ख्याको आधा पनि थिएन।

आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुको आक्रमणबाट ३९ जनाको ज्यान गएकोमा बाघको आक्रमणका कारण १२ जनाको मृत्यु भएको थियो।

बाघ विज्ञ बाबुराम लामिछाने बाघको सङ्ख्या थोरै हुँदाभन्दा धेरै हुँदा मान्छेसँग ठोक्किने सम्भावना बढी हुने स्वीकार गर्छन्, "तर बाघको सङ्ख्या बढ्दैमा द्वन्द्व पनि बढ्छ भन्ने होइन।"

वन्यजन्तु संरक्षण ऐन बन्दा बाघको संरक्षण गर्ने उद्देश्य राखिए पनि अहिलेसम्म व्यवस्थापनको दृष्टिले कानुन नबनेको उनी बताउँछन्।

युवराज खतिवडा
RSS
वन्यजन्तुसँगको द्वन्द्वमा मानव जीवन नजाओस् र वन्यजन्तुको वासस्थान पनि कायम रहोस्’ भन्ने प्रधानमन्त्रीको आशय हो, वन्यजन्तुको वैकल्पिक व्यवस्थापनबारे छलफल भएको छैन
युवराज खतिवडा
प्रधानमन्त्रीका आर्थिक/विकाश सल्लाहकार

अध्ययनहरूले वासस्थान तथा आहाराको उपलब्धताको आधारमा नेपालमा बाघको सङ्ख्या क्षमताभन्दा बढी नरहेको देखाएको विज्ञहरू बताउँछन्।

'पर्सा-चितवन कम्प्लेक्स' मा १७७ र 'बाँके-बर्दिया कम्प्लेक्स' मा १६९ वटा बाघ त्यहाँको संरक्षित क्षेत्रमा रहन सक्ने अध्ययनहरूको निष्कर्ष छ।

अध्ययन नभए पनि शुक्लाफाँटामा पनि त्यो भन्दा फरक अवस्था नरहेको बताउँदै डब्ल्यूडब्ल्यूएफ नेपालका कञ्चन थापा भन्छन्, "समग्रमा भन्दा हाम्रो प्रणालीमा रहेको स्रोत (वासस्थान, संरक्षण र आहारा प्रजाति) अहिले रहेका बाघलाई व्यवस्थापन गर्न पर्याप्त छन्।"

एक थरी संरक्षणकर्मीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको पाइन्छ। जसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संरक्षणको क्षेत्रमा 'बन्दुक पड्काएको' भन्ने रूपमा लिएका देखिन्छ।

थापा भन्छन्, "व्यक्तिगत रूपमा भन्दा व्यवस्थापनको नीतिलाई प्राथमिकता दिइएका बेला कार्यकारी तहबाट त्यस्तो अभिव्यक्ति आउँदा कता कता असान्दर्भिक भयो कि जस्तो महसुस हुन्छ।"

आखेटोपहार

तस्बिर स्रोत, dnpwc.gov.np

तर प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार युवराज खतिवडाका बुझाइमा 'मानव र वन्यजन्तुबीचको द्वन्द्वमा मानिसको जीवन जोखिममा नजाओस् र वन्यजन्तुको वासस्थान पनि कायम रहोस्' भन्ने सन्दर्भमा मात्र प्रधानमन्त्रीले बोलेका हुन्।

"निश्चित क्षेत्रमा निश्चित सङ्ख्यामा मात्र वन्यजन्तु अट्न सक्छन्, त्यस सन्दर्भमा प्रधानमन्त्रीले अनन्त वृद्धि दिगो हुँदैन भन्न खोज्नु भएको मैले बुझेको छु, त्यसबारे नीतिगत समीक्षा गर्नुपर्ने स्थिति होइन,"पूर्व अर्थमन्त्री पनि रहिसकेका खतिवडाले भने, "वन व्यवस्थापनका अरू कुराहरू त चलिरहेका छन् तर वन्यजन्तुको वैकल्पिक व्यवस्थापनबारे खासै छलफल भएको छैन र अहिले नै उपहार दिने कुनै योजना छैन।"

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'वन्यजन्तु र मानिसबीचको बढ्दो द्वन्द्व कम गर्न वन क्षेत्र, वासस्थान र आहारा प्रजातिको उपलब्धता र क्षमताअनुसार काम गर्नुपर्‍यो भनेर आफूहरूलाई ध्यानाकर्षण गराइएको' रूपमा बुझेका छन्।

प्रधानमन्त्रीले नै सार्वजनिक अभिव्यक्ति दिएका कारण हुनसक्छ वन मन्त्री शाहीले सङ्ख्या घटाउनेबारे कुनै टिप्पणी गरेनन्। तर उनले भने, "अब बाघलाई उसको प्राकृतिक वासस्थान, वन क्षेत्रभित्रै प्रभावकारी व्यवस्थापन गरेर उचित सङ्ख्या कायम राख्नेतर्फ काम गर्छौँ।"

बाघसँग मान्छेको जम्काभेट घटाउने कसरी?

पछिल्लो घटना भएको मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ५ को घटनास्थल मध्यवर्ती क्षेत्रमा पर्ने वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए।

तर विभागका वरिष्ठ इकोलोजिस्ट आचार्यका अनुसार ९० प्रतिशत घटना जङ्गलभित्र हुने गरेका छन्। उनी भन्छन्, "जब बाघ र मान्छे नजिक पुग्छन् टकराव बढ्ने हो।"

त्यो अवस्था आउन नदिन जीविकोपार्जनको निम्ति वनमा आश्रित हुनुपर्ने बाध्यता अन्त्य गर्न ध्यान दिनुपर्ने नेपाल टाइगर ट्रस्टका अध्यक्ष प्रकाश श्रेष्ठको भनाइ छ।

संरक्षणविद् सुशीला चटर्जी नेपाली पनि ज्यान जोखिममा पारेर वन्यजन्तुको वासस्थानसम्म जानु पर्ने बाध्यताबाट सर्वसाधारणलाई मुक्त गर्नसक्नु अहिलेको आवश्यकता रहेको ठान्छिन्।

"सर्वसाधारणहरूको जीविकोपार्जन वन पैदावार र त्यहाँको उत्पादनमा निर्भर रहँदासम्म र अन्य विकल्प नहुँदासम्म उनीहरू ज्यान खतरामा पार्दै जङ्गल पस्नु पर्ने अवस्था रहिरहन्छ," उनी भन्छिन्, "त्यस्ता गरिब र सीमान्तकृतहरूलाई सहयोगको प्राथमिकतामा राख्नु पर्छ र उनीहरूको निम्ति वन पैदावार वा वस्तु बाहिरै उत्पादन वा उपलब्ध हुने कुरा निश्चित गर्नुपर्छ।"

बाघ

तस्बिर स्रोत, bardianatioinalpark

त्यसको निम्ति सीपमूलक कार्यक्रममा जोड दिनु पर्ने विभागका वरिष्ठ इकोलोजिस्ट आचार्यको मत छ।

सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरू त्यसमा क्रियाशील पाइन्छन्। तर दातृ निकाय नहुँदादेखि नै विश्वमा प्रकृति संरक्षणको काममा मानिसहरू लागेको कुरा सम्झिनु पर्ने बताउने संरक्षणविद् चटर्जीको अनुभवमा मानिसले आनीबानी परिवर्तन नगर्दा पनि समस्या उत्पन्न हुने गरेको छ।

"जङ्गलकै च्याउ खानु पर्ने, घाँस दाउरा गर्न जङ्गलमै जानु पर्ने वा बायो ग्यास दिँदा पनि दाउरा नै बाल्नु पर्ने जस्ता विषयहरू पनि जोडिन्छन्," उनी भन्छिन्, "त्यसैले व्यवस्थापनसँगै सतर्कता र जनचेतना पनि अहिलेको आवश्यकता हो।"

BBC
समस्याग्रस्त बाघ राख्ने ठूला सेन्टर हरेक प्रदेशमा बनाउन सकियो भने बाघको व्यवस्थापनमा सजिलो हुन्छ
हरिभद्र आचार्य
वरिष्ठ इकोलोजिस्ट, निकुञ्ज विभाग

विज्ञहरूका अनुसार बाघको राम्रो वासस्थान बन्न त्यहाँ पानी, आहारा, विचरण गर्ने क्षेत्र र लुक्ने वा सुरक्षित हुने ठाउँ हुनुपर्छ।

व्यवस्थापन राम्रो राख्न सकेमा वन्यजन्तुको वृद्धि 'इकोसिस्टम'ले निर्धारण गर्ने डब्ल्यूडब्ल्यूएफ नेपालका संरक्षणविद् कञ्चन थापाको भनाइ छ।

"त्यसैले बाघको सङ्ख्या बढ्दा त्यसले जङ्गल राम्रो, आहारा प्रजाति प्रशस्त रहेको र बाघ जङ्गल भित्रनै बसिरहेको दर्साउँछ। जसले गर्दा मानिससँगको द्वन्द्व घटाउँछ," थापाले भन्छन्।

बाघ जङ्गलबाट निस्किने तीन अवस्था

विज्ञहरूका अनुसार आहारा प्रजाति प्रशस्त रहेको जङ्गलमा बाघहरूको 'इलाका' सानो क्षेत्रमा बाँडिएको हुन्छ। कम छ भने बाघले ठूलो क्षेत्र चाहर्छ। तैपनि संरक्षित वनको भित्री भाग छाडेर बाघ मानिसको पहुँच हुने सामुदायिक वन वा मध्यवर्ती क्षेत्रसम्म पुग्ने न्यून सम्भावना भने रहन्छ।

वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार मुख्यतया तीन वटा अवस्थामा बाघले त्यसो गर्छ। जुन जन्मदेखि मृत्यु हुँदाको अवस्थासँग जोडिन्छ।

पहिलो: बाघको बच्चाले जोगिने, सुरक्षित हुने र आफ्नो आहाराको सिकार गर्ने कला आमासँग साढे दुई वर्षसम्म सिक्छ। त्यसपछि छुट्टिएर नयाँ वासस्थानको खोज्छ। त्यसक्रममा कुनै वासस्थानमा बसिरहेको बाघसँग उसको लडाइँ पर्न सक्छ। त्यसमा हार्ने वा घाइते हुने बाघ वनको किनारातर्फ लाग्छ। त्यस क्रममा सामुदायिक वनमा पनि पुग्न सक्छ।

दोस्रो: मर्ने अवस्थामा पुगेको बुढो शक्तिहीन बाघले तेज दौडिने मृग प्रजातिको सिकार गर्न सक्दैन। भौँतारिँदै मध्यवर्ती क्षेत्रतर्फ पुग्न सक्छ, जहाँ उसले सजिलो गरी सिकार फेला पार्न सकोस्।

तेस्रो: विभिन्न कारणले आपसमै भिडन्त हुँदा घाइते वा निर्धो बाघ वनको किनारातर्फ जान सक्छ।

पछिल्लो पटक मकवानपुरको मनहरि पुगेको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको त्यहाँका संरक्षण अधिकृत मनोज मण्डलले जानकारी दिए।

उक्त बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनबाट वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वको टोलीले 'डार्ट' गरेको हो।

अघिल्लो साँझ एक महिलाको हत्या गरेको बाघले भोलिपल्ट बिहान बाख्रा मारेको थियो। त्यही दिन दिउँसो २ बजेदेखि १० बजेसम्म मचान बनाएर कुर्दा पनि बाघ नआएको बताउँदै रिजालले भने, "भोलिपल्ट साँझ ६ बजेपछि बाघ आयो। डार्ट गरेपछि बाघ मचानभन्दा एक सय मिटर टाढा लडेको अवस्थामा भेटियो।"

नेपालमा अहिले डेढ दर्जन बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिएको छ। त्यस्ता समस्याग्रस्त बाघ राख्ने ठूला केन्द्र विस्तारको खाँचो अधिकारीहरूले औँल्याएका छन्।

"हरेक प्रदेशमा त्यस्तो सेन्टर बनाउन सकियो भने व्यवस्थापन सजिलो हुन्छ," विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बताए।

बर्दिया

तस्बिर स्रोत, bardianationalpark

'९५ प्रतिशत बाघ मान्छेभन्दा टाढा'

जानकारहरूका अनुसार बाघको मुख्य आहारा मृग प्रजाति हो। बाघ नहुँदा मृग धेरै बढेर पर्यावरणीय प्रणालीलाई असन्तुलित गर्न सहयोग पुग्छ। मलमूत्रले पानीको स्रोतसम्म प्रदूषण हुनसक्छ। वरिष्ठ इकोलोजिष्ट आचार्यका भनाइमा शाकाहारी प्रजातिले गर्दा कतिपय बोटबिरुवा र घाँसे मैदान नष्ट हुन सक्छन्। बाघले गर्दा त्यसको संरक्षणमा योगदान पुगिरहेको हुन्छ।

तर 'मानिसले इकोलोजीभन्दा इकोनोमी बढी बुझ्ने' गरेको टिप्पणी गर्दै उनी बाघले पर्यटनमा पनि टेवा पुर्‍याइरहेको बताउँछन्, "जस्तो कि बाघ हटाइदियो भने बर्दियाको पहिचान अधुरो हुन्छ।"

सरकारी तथ्याङ्कका अनुसार निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा पछिल्लो १० वर्षमा ६१ हजारभन्दा धेरै पर्यटक पुगेका छन्। त्यसले राजश्वमा योगदान दिएसँगै मध्यवर्ती क्षेत्रका मानिसले पनि लाभ पाएका छन्।

बाघको आक्रमणमा ज्यान गुमाएकी कान्छीमाया रुम्बा

तस्बिर स्रोत, Samir Rumba

तस्बिरको क्याप्शन, मकवानपुर मनहरिकी कान्छीमाया रुम्बाले आफ्नै घर नजिकै बाघको आक्रमणमा ज्यान गुमाएकी हुन्

टाइगर ट्रस्टका अध्यक्ष प्रकाश श्रेष्ठ चितवनको मेघौली क्षेत्रको उदाहरण दिन्छन्, "त्यहाँ वन्यजन्तु पर्यटनसँग सम्बन्धित रोजगारी सृजना भएको छ। धेरै पहिलेदेखि वन्यजन्तुको नजिकै हुर्केर, सङ्घर्ष गर्दै बसिरहेका त्यहाँका बासिन्दामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने ठूलो ज्ञान छ।"

संरक्षणविद् सुशीला चटर्जी नेपाली समस्याका विभिन्न पक्षहरू रहे पनि बाघको विषयलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्ने गरिएको बुझाइ सुनाउँछिन्।

संरक्षणकै क्षेत्रमा कार्यरत कैयौँले वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएको प्रसङ्ग प्रस्तुत गर्दै उनले बीबीसीसँग भनिन्, "सरकारी निकुञ्ज र संरक्षण क्षेत्रका कर्मचारीले ज्यान जोखिममा राखेर संरक्षणको काम गरिरहेका छन् र हामीले उनीहरूको योगदान बिर्सिन्छौँ।"

बाघ विज्ञ बाबुराम लामिछानेका अनुसार चितवनमा गरिएको अध्ययनले पाँच प्रतिशतभन्दा कम बाघले मात्र मान्छेलाई समस्या दिने देखाएको छ। ९५ प्रतिशत बाघको मान्छेसँग जम्काभेट नै भएको छैन।

"तर पाँच प्रतिशतले गर्दा सिङ्गो प्रजातिले दोष पाइरहेको छ। समस्याकारक बाघलाई समयमै नियन्त्रण र निगरानी गर्नु महत्त्वपूर्ण छ," उनी भन्छन्।

वरिष्ठ इकोलोजिष्ट आचार्यले बाघ घाइते छ कि भनेर क्यामेरामार्फत् गरिने निगरानी बढाउन सकिए समस्याग्रस्त बाघको पहिचान र नियन्त्रणमा सहयोग पुग्ने बताए।

जङ्गलमा 'राजनीतिक खेल'?

वन्यजन्तुको आक्रमणको मारमा मध्यवर्ती क्षेत्रकै मानिसहरू धेरै पर्ने गरेका छन्। विज्ञ र संरक्षण क्षेत्रका अधिकारीहरूलाई नै बिझाउने गरी प्रधानमन्त्रीलाई बोल्न त्यहाँ हुने मानवीय क्षतिले प्रेरित गरेको ठानिन्छ।

त्यसबाहेक सामुदायिक वन उपभोक्ता महासङ्घले पनि पहिल्यैदेखि वन्यजन्तुबाट हुने गरेको क्षतिबारे कुरा उठाउँदै आएको छ। उक्त संस्था वन्यजन्तु जोगाउन भनेर सामुदायिक वन खोसेर संरक्षित क्षेत्र बिस्तार गरिएको भन्दै असन्तुष्ट देखिन्छ।

बाँके राष्ट्रिय निकुञ्ज घोषणादेखि बढेको त्यस्तो असन्तुष्टि सोलुखुम्बुमा मेरापिक निकुञ्ज थप्ने जारी प्रक्रियासम्म कायम छ। सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष बृखबहादुर शाहीले पनि अप्रसन्नताको सङ्केत दिए।

"बाघका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउनु परेको छ,"आफूहरू बाघविरोधी नभएको बताउँदै उनी भन्छन्, "बाघ बढाउने नाममा सामुदायिक वन खोसेर निकुञ्जको क्षेत्रफल बढाउनु हुँदैन, जङ्गलको क्षमता अनुसार मात्रै बाघको सङ्ख्या हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।"

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार संरक्षित क्षेत्रमा ४२२१ हेक्टर जमिन अतिक्रमण रहेकोमा १८२ हेक्टर मात्र खालि गराइएको छ।

बाघ

तस्बिर स्रोत, parsanationalpark

तर चार हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमित नै छ। एक संरक्षणकर्मीले भने बाघ मान्छे नजिक पुगेको हो कि मान्छे बाघ नजिक भन्ने तर्फ ध्यान गएको पाइँदैन। उनले भने, "बाघले भोट दिन्न, त्यसैले दोष उसले मात्रै पाएको हो।"

राजनीतिक दलहरूले भूमिहीनको व्यवस्थापनको निम्ति जङ्गल र मध्यवर्ती क्षेत्र आसपासलाई रोज्नाले पनि द्वन्द्व बढाएको तर्फ उनको सङ्केत थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिले माघ २ गते जारी गरेको अध्यादेशको एउटा उद्देश्य त्यसैसँग सम्बन्धित रहेको आशङ्का गर्दै उनले प्रश्न गरे, "जग्गा बाँड्दैमा अतिक्रमण अन्त्य हुने ग्यारेन्टी के?"

भारतमा मन्त्री र नेपालका प्रधानमन्त्रीले निम्त्याएको 'हलचल'

एक उच्च अधिकारीका बुझाइमा कार्बन उत्सर्जन गरेर तापक्रम वृद्धि गराइरहेका भनिने सम्पन्न देशहरूमाथि दबाव सृजना गर्न प्रधानमन्त्रीले बाघको प्रसङ्ग उठाएका हुन्।

किनकि कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनको मारमा परेको नेपाललाई क्षतिपूर्ति दिन विकसित देशहरूले उदारता देखाएका छैनन्। त्यो पूर्वतयारी वा परामर्श गरेर दिइएको अभिव्यक्ति थिएन।

तर वन्यजन्तुसँग मानिसको द्वन्द्व व्यवस्थापनबारेको बहस अन्य देशहरूमा पनि बेला बखत हुने गरेको पाइन्छ।

बाघ

तस्बिर स्रोत, DNPWC

पछिल्लो पटक सन् २०२३ को ज्यनुअरीमा भारतको केरला राज्यका वन तथा वन्यजन्तु संरक्षण मन्त्री एके ससीन्द्रनको अभिव्यक्तिन पनि निकै विवादित बनेको थियो।

उनले बाघको सङ्ख्या नियन्त्रणको निम्ति मार्ने वा बन्ध्याकरण गर्ने विकल्पको चर्चा गरेका थिए। बाघको आक्रमणमा किसानको ज्यान गएपछि उनले दिएको त्यो अभिव्यक्तिले ठूलो बहस निम्त्याएको थियो।

पछि उनले स्थानीय बासिन्दाको सुझाव आफूले दोहर्‍याएको भन्दै आफ्नो भनाइको बचाउ गरेका थिए।

तर नेपालका प्रधानमन्त्री ओलीले भने माघको पहिलो साता काठमाण्डूमा भएको कार्यक्रममा पनि बाघबारेको आफ्नो धारणा दोहर्‍याएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले कतिपय संरक्षणकर्मीलाई झस्काएको देखिए पनि एक थरीले 'संरक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा देशलाई प्रतिष्ठा दिलाउन नागरिकले चुकाइरहेको मूल्य बहसको विषय बन्न पुगेको' भन्दै सन्तुष्टि जनाएको पाइन्छ।

तर नीतिगत अस्थिरताले जोखिम निम्त्याउनेतर्फ सतर्कताको खाँचोमा जोड दिँदै बाघ विज्ञ बाबुराम लामिछाने चेतावनी दिन्छन्, "नेपालले संरक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा राम्रो प्रतिष्ठा कमाएको छ। तर नीतिगत अस्थिरता भए हामी नै गलत उदाहरण बन्न सक्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।