इजिप्टमा प्राचीन चिहान खोतल्न बालबालिकाको 'बलि'

इजिप्टमा बालकको बलि

तस्बिर स्रोत, The Egyptian Ministry of Antiquities

तस्बिरको क्याप्शन, पुरातात्त्विक सामग्रीको आधिकारिक उत्खननका क्रममा प्राचीन चिहान खोल्नका निम्ति कहिल्यै पनि बलि चढाइएको देखिएको थिएन
    • Author, हिशाम अल्मायनी
    • Role, बीबीसी अरेबिक न्यूज

आठ वर्षीय एक बालकको हात काटिएको अवस्थामा हत्या भएको पाइएपछि इजिप्टका मानिसहरू स्तब्ध र आक्रोशित छन्। अभियोजकहरूले यो मामिला पुरातात्त्विक अवशेषको अवैध उत्खननसँग सम्बन्धित भएको बताएका छन्।

बालकको शव उनका पिता इस्साम अबु अल–वफाले माथिल्लो इजिप्टस्थित आसियट प्रशासनिक क्षेत्रको खेती गर्ने गरिएको जमिनमा भेट्टाएका थिए। ती बालक हराएको चार दिन भएको थियो।

उक्त हत्यासँग सम्बन्धित भएको आशङ्कामा प्रहरीले तीन दाजुभाइलाई पक्राउ गरेको छ।

सार्वजनिक अभियोजकहरूले बताएअनुसार दुई जनाले जमिनमुनि पुरिएको प्राचीन खजानाको अवैध उत्खननका निम्ति प्रयोग गर्ने उद्देश्यले पुरातात्त्विक सामग्री अन्वेषकलाई बालकको हात बेच्ने अपराध गरेको स्वीकार गरेका छन्।

‘म एक्लै बसेर रोएँ’

अबु अल–वफा पेसाले सवारी चालक हुन्। उनले बीबीसी अरेबिकसँग भने, "मलाई छोरा मोहम्मदका कति कुराहरू अझै सम्झना आउँछ। एक्लै बस्दा रुन्छु। म यो अवस्थालाई झेल्न सक्दिनँ। म कामबाट फर्किँदा ऊ सधैँ मलाई पर्खेर बसेको हुन्थ्यो।"

अबु अल–वफाले बताएअनुसार "मोहम्मदलाई गाउँका सबैले चिन्ने भएकाले यस्तो होला भन्ने उनले चिताएका थिएनन्।"

"प्रहरी अनुसन्धानले मेरो छोरालाई मेरै दाजुभाइ नाता पर्नेहरूले मारेको भन्ने निष्कर्ष निकालेको खबर सुन्दा ममाथि चट्याङ बज्रिएजस्तो भयो। मोहम्मद उनीहरूसँग खेल्ने गर्थ्यो। उनीहरू मसँगै मोहम्मदलाई खोज्न समेत हिँडेका थिए।"

सामाजिक सञ्जालमार्फत् सजाय र सुरक्षाको माग

उक्त अपराधलाई लिएर सामाजिक सञ्जालहरूमा आक्रोशित प्रतिक्रियाहरू आएका छन्।

अरूले यस्तो भोग्नु नपरोस् भन्दै कतिपयले अपराधीहरूलाई कठोर सजाय दिइनुपर्ने माग गरेका छन्।

अरू केहीले अभिभावकले आफ्ना केटाकेटी कोसँग घुलमिल भइरहेका छन् भन्ने हेरेर उनीहरूको रक्षा गर्नुपर्ने आवाज उठाएका छन्।

यसअघिका घटनाहरू

इजिप्टमा हालैका वर्षहरूमा यस्तै प्रकृतिका अपराधहरू भएका छन्।

सेप्टेम्बर २०२१ मा केही आधिकारिक पत्रिकाले माथिल्लो इजिप्टस्थित एउटा गाउँमा एक जना युवकको हत्या गरी टुक्राटुक्रा पारिएकोबारे व्यापक रिपोर्टिङ गरेको थियो।

स्थानीय विवरणहरूका अनुसार युवकका काकाकाकी र उनीहरूका छोराछोरीले उनको हत्या गरेको र प्राचीन चिहान खोल्नका लागि आत्मालाई बलि चढाएको स्वीकार गरेका थिए।

सन् २०२३ मा गिजा प्रशासनिक क्षेत्रमा एक बालिका एक जना मानिसद्वारा आफ्नै पिताका अघिल्तिर बलात्कृत भएकी थिइन्। पछि ती मानिसलाई अभियोजकहरूले मुद्दाका निम्ति गिजा आपराधिक न्यायालयमा पठाए।

त्यस क्रममा ती मानिसले घरभित्र रहेको प्राचीन चिहान खोल्नका निम्ति 'जिन्न' अर्थात् मुस्लिम कथाहरूमा चर्चा गरिएको 'प्रेतात्मा' को निर्देशन पच्छ्याएको बताएका थिए।

बालिकाका पितालाई पनि पक्राउ गरिएको थियो। उनको जेलमै मृत्यु भयो। सजाय सुनाउनभन्दा केही दिनअघि तथा घटनाको केही महिनापछि बलात्कार आरोप लागेका व्यक्तिको पनि मृत्यु भयो।

नक्कली शेखहरू र लोभ

इजिप्टको पुरातात्त्विक स्थल

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्राचीन इजिप्टका बासिन्दा आफ्ना बहुमूल्य खजानाहरूलाई चोरीबाट जोगाउनका निम्ति चिहान भएका स्थानमा लुकाउने गर्थे

प्राचीन खजानाको खोजीमा मानव जीवन बलि दिने अपराध इजिप्टमा पहिल्यैदेखि परिचित छ।

त्यस्ता प्राचीन चिहानहरू 'शेख'हरूका अघिल्तिर खोल्नुपर्छ भन्ने विश्वास गरिन्छ। 'शेख'हरू आफूले विशेष मन्त्रका रहस्य फुकाउने दाबी गर्छन्।

कथित 'शेख'हरू चिहानको रेखदेख गर्ने आत्माहरूलाई जगाउने दाबी गर्दछन्। त्यस क्रममा उनीहरूले ठूलो रकम र रगतको बलि चढाउनुपर्ने माग गर्दछन्।

यस्तोमा प्रायजसो जनावरको रगत चढाउने गरिन्छ। तर कहिलेकाहीँ मानवको र त्यसमा पनि विशेष गरी केटाकेटीको रगतको माग समेत गरिन्छ।

‘इजिप्टको प्राचीन सभ्यतामा यसको कुनै आधार छैन'

 इजिप्टमा प्राचीन सामग्रीलाई कानुन बनाएर संरक्षित गरिएको छ
तस्बिरको क्याप्शन, इजिप्टमा प्राचीन सामग्रीलाई कानुन बनाएर संरक्षित गरिएको छ

कायरो विश्वविद्यालयका पुरातत्त्व तथा इजिप्टको प्राचीन सभ्यताका प्राध्यापक डा. अहमद बाद्रन पुराना कलाकृतिहरू भेट्टाएर छिटो धनी हुने सपनाले गर्दा विशेष गरी उपल्लो इजिप्टमा यस्ता घटनाहरू भइरहेको विश्वास गर्छन्।

त्यस्ता 'ठग शेख'हरूले मानिसहरूलाई उनीहरूको घरमुनि चिहान वा खजाना भएको र 'जिन्न' वा आत्माको पहरेदारले मानव बलिको बदलामा त्यसको ढोका खोलिदिनेमा विश्वस्त पार्छन्।

"प्राचीन इजिप्टका बासिन्दाले खजानालाई चोरीबाट जोगाउनका निम्ति चिहानमा लुकाउँथे, तर तिनीहरूको पहराका लागि जिन्न वा आत्मा जगाउँदैनथे," डा. बाद्रनले भने।

सबै वैज्ञानिक तथा पुरातात्त्विक उत्खनन रक्तपात र बलिबिना हुने गरेको पनि उनले थपे।

उनले 'जनचेतना बढाउँदै कडा कानुन बनाएर फर्जी शेखहरूको सामना गर्न' आह्वान गरे। सञ्चार माध्यमले यसलाई उजागर गर्नुपर्ने उनको भनाइ छ।

कानुनी रोकथाम

इजिप्टको कानुनले प्राचीन सामग्रीहरूको संरक्षण गर्छ।

संविधानको धारा ४९ मा भनिएको छ, "यो राज्य पुरातात्त्विक अवशेषहरूको रक्षा तथा संरक्षण गर्न, ती क्षेत्रहरूको रेखदेख गर्न, जस्ताको तस्तै राख्न र पुनर्स्थापित गर्न, जफत गरिएका चिजहरूलाई पुनः प्राप्त गर्न, उत्खखन कार्यको आयोजना तथा अनुगमन गर्न र कसैलाई पनि उपहार दिन वा विनिमयमाथि रोक लगाउन प्रतिबद्ध छ। तीमाथि आक्रमण तथा तस्करी गर्ने कार्य एक अपराध हो, जसमा हदम्याद लाग्दैन।"

त्यस्तै इजिप्टको दण्डसंहिताले "राज्यको स्वामित्वमा रहेको सम्पत्तिको चोरी गर्ने, लुकाउने तथा त्यसमा कुनै पनि असर पर्ने कार्यमा सहभागी हुने कुनै पनि व्यक्तिमाथि पाँच वर्षदेखि सात वर्षसम्मको जेल सजाय र तीन हजारदेखि पचास हजार पाउन्डसम्म जरिवाना हुने" निर्धारण गरेको छ।

केही कानुनका ज्ञाताहरू खास गरी हत्यासँग जोडिएका अवैध उत्खननसम्बन्धी अपराधमा दिइने सजाय अब पर्याप्त नदेखिएको ठान्छन्।

यद्यपि इजिप्टको न्यायालयले केही मामिलामा दण्डसंहिताका अन्य केही प्रावधानलाई लागु गराएर केही कठोर दण्ड पनि तोकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।