बाढी, पहिरोले ठूलो जनधनको क्षति भएको तेस्रो दिन बसेको मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो?

विपद् व्यवस्थापन राहत कोषमा बाढी, पहिरो पीडितको उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले बीबीसीलाई बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएकै दिन साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको उनले बताए।

त्यस्तै सबै मन्त्रीहरूले एक महिनाको तलब पनि उक्त कोषलाई दिने निर्णय भएको छ।

"त्यसबाहेक बाढीपहिरोमा परी घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने, उद्धार तथा राहतको गतिलाई तीव्र बनाउने, सडक सञ्चालनमा ल्याउन सडकका अवरोधहरू हटाउने, हवाई भाडा नियन्त्रण गर्ने र कालोबजारी हुन नदिने लगायतका निर्णय भएका छन्," मन्त्री यादवले भने।

सरकारले विपद्‌मा ज्यान गुमाएका मानिसहरूप्रति दुःख व्यक्त गर्दै राष्ट्रियशोक घोषणा गरेर तीन दिनसम्म झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ।

गत साताको बिहीवारदेखि तीन दिन भएको अविरल वर्षाका कारण उत्पन्न प्रकोपमा परी मृत्यु हुने मानिसहरूको सङ्ख्या सोमवार साँझसम्म २०९ पुगेको अधिकारीहरूले बताएका छन्।

बाढी र पहिरोमा परी सय जनाभन्दा बढी घाइते भएका छन् भने २९ जना अझै बेपत्ता छन्।

गृह मन्त्रालयका प्रवक्ताका अनुसार काठमाण्डू उपत्यकाका लागि लाइफलाइन भनिने काठमाण्डू-नारायगढ सडकखण्ड अघि साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

विपद् व्यवस्थापनबारे प्रधानमन्त्रीले के भने

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले देशका ५६ जिल्लामा 'रेड अलर्ट' जारी गरेको भए पनि "कहाँकहाँ पहिरो जान्छ भनेर नभनेको" बताएका छन्।

राष्ट्रसङ्घको महासभामा भाग लिएर अमेरिकाबाट सोमवार काठमाण्डू फर्किएका प्रधानमन्त्री ओलीले काठमाण्डूमा यो प्रकारको डुबान होला भनेर कल्पना नगरिएको बताए।

उनले विरोधका लागि सरकारको विरोध गर्नुको सट्टा वस्तुपरक भएर हेर्नुपर्ने पनि बताए।

विपद्‌ आउँदै छ भनेर सरकारी संयन्त्रले नै ५६ जिल्लामा रेड अलर्ट गरेको थियो, सरकारले पूर्वतयारी किन गरेन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै प्रधानमन्त्री ओलीले भनेः “एउटा कुरा तपाईंलाई सोध्न चाहन्छु- रेड अलर्ट भनेर पूर्वानुमान गरेको छ हो, तर कहाँकहाँ पहिरो जान्छ त भनेको थिएन। पहिरो गएपछि न थाहा भयो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।