पुटिनद्वारा युक्रेनसँग 'सीधा वार्ता'को आह्वान, 'तयार रहेको' जेलेन्स्कीको भनाइ

पुटिन

तस्बिर स्रोत, Reuters

    • Author, जेमी ह्वाइटहेड
    • Role, बीबीसी न्यूज

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग "सीधा वार्ता"को आह्वान गरेका छन्। उनले त्यो "ढिलो नगरीकनै, छिटोमा १५ मेमा" गर्नुपर्ने बताए।

"हामी गम्भीर वार्ता खोजिरहेका छौँ... द्वन्द्वका मूल कारण हटाउन र दिगो तथा बलियो शान्तितर्फ अघि बढ्नका लागि," उनले शनिवार राति अबेर गरी क्रेमलिनबाट प्रसारित दुर्लभ टेलिभिजन सम्बोधनमा भने।

जबाफमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफू "युद्धविरामसम्बन्धी वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको" बताएका छन्।

यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसहितका युरोपेली नेताहरू युक्रेन पुगेर नि:सर्त ३० दिने युद्धविराममा सहमत हुन रुससँग आग्रह गरेको केही घण्टामा पुटिनले त्यस्तो आह्वान गरेका थिए।

युरोपेली नेताहरूको आह्वानपछि सुरुमा क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले मस्कोले "यसबारे सोच्नु पर्ने भए पनि...हामीलाई दबाव दिनु बेकार छ" भन्दै चेतावनी दिएका थिए।

पुटिनले थप के भने?

आफ्नो बयानमा पुटिनले वार्ताका क्रममा रुस र युक्रेन "नयाँ युद्धविरामहरूमा सहमत हुन सक्षम हुन सक्ने" कुरालाई अस्वीकार गरेका छैनन्।

पुटिनले टर्कीको इस्तानबुलमा उक्त वार्ता प्रस्ताव गरेका छन्।

रुसी राष्ट्रपतिले आइतवार टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनसँग यसबारे कुरा गर्ने बताए।

जेलेन्स्कीको जबाफ

भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, जेलेन्स्कीले आफ्नो भनाइमा पुटिनको निमन्त्रणाबारे सीधै कुरा गरेका चाहिँ छैनन्

पुटिनको आह्वान सार्वजनिक भएको केही घण्टामा युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका लागि वार्ता गर्न आफू पुटिनलाई भेट्न तयार रहेको बताएका छन्।

पुटिनले वार्ताका लागि गरेको निमन्त्रणालाई सीधा सङ्केत नगरी जेलेन्स्कीले भनेका छन्, "रुसीहरू अहिले युद्धको अन्त्यबारे सोच्न थालेका छन् र यो सकारात्मक सङ्केत हो।"

उनी थप्छन्, "सिङ्गो संसार यसका लागि लामो समयदेखि प्रतीक्षारत छ। अनि साँच्चै नै युद्ध अन्त्य गर्ने पहिलो पाइला युद्धविराम हो।"

रुसले सोमवारदेखि नै "पूर्ण, दीर्घकालीन र भरपर्दो" युद्धविराम गर्ने आफूले अपेक्षा गरेको उनले बताए।

किभएबाट युरोपेली नेताहरूको आह्वान

किएभमा युरोपेली नेताहरू

तस्बिर स्रोत, Getty Images

यसअघि शनिवार युरोपेली नेताहरूले युक्रेनको राजधानी भ्रमण गरेका थिए।

त्यहाँ उनीहरूले सोमवारदेखि सुरु हुने एक महिना लामो युद्धविराममा युक्रेनसँग सहमत हुन मस्कोलाई आह्वान गरेका थिए।

उक्त आह्वान फ्रान्स, जर्मनी, यूके र पोल्यान्डका नेताहरूसहितको एक गठबन्धनले गरेको थियो।

त्यस क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उनीहरूसँगै उभिएका देखिएका थिए।

उनीहरूले सो युद्धविरामको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि छलफल बताएका थिए।

ती नेताहरूले त्यसमा सहमत नभए रुसको ऊर्जा तथा ब्याङ्किङ क्षेत्रमा "व्यापक" प्रतिबन्धहरू लगाइने बताएका थिए।

जबाफमा क्रेमलिनले उक्त प्रस्तावबारे सोचिरहेको तर दबावमाथि प्रतिक्रिया नजनाउने बतायो।

सो बैठकपछि सर किअर स्टार्मरले भने: "हामी सबै यहाँ अमेरिकासहित [रुसी राष्ट्रपति भ्लादिमिर] पुटिनलाई बाहिर आउन आह्वान गरिरहेका छौँ। यदि वहाँ शान्तिप्रति गम्भीर हुनुहुन्छ भने उहाँसँग त्यो देखाउने अवसर छ।"

जेलेन्स्कीले थपे: "हामीसँग उभिनुभएकामा यहाँहरू सबैलाई धन्यवाद। आज हामी साँचो र दिगो सुरक्षाको विकास र सुनिश्चिततामा केन्द्रित हुनेछौँ।"

'नि:सर्त वार्ता'मा पुटिनको जोड

त्यसको केही घण्टापछि पुटिन स्वयंले क्रेमलिनभित्र जम्मा भएका पत्रकारहरूमाझ बोलेको भिडिओ सार्वजनिक भएको थियो।

"यो युक्रेनी सेनाले नयाँ अस्त्र र सैनिकहरू पाएपछि, ट्रेन्च खन्ने र नयाँ कमान्ड पोस्टहरूको स्थापनापछिको थप सशस्त्र युद्धको प्रस्ताव नभई दीर्घकालीन, दिगो शान्तितर्फको पहिलो कदम हुनेछ," उनले भने।

"त्यस्तो शान्ति कसले चाहला?"

पुटिनले मस्कोले अघि सारेका तीनवटा युद्धविराम प्रस्तावहरूको जबाफ दिन युक्रेन बारम्बार असफल भएको आरोप समेत लगाए।

ऊर्जा पूर्वाधारमा ३० दिनसम्म हमला गर्न रोक्ने, इस्टर युद्धविराम र गत साता दोस्रो विश्वयुद्धको सम्झनाका लागि पुटिनले गत महिना युद्धविराम आदेश दिएका थिए।

युक्रेनले यसअघि ती समयभरि रुसी आक्रमणहरू जारी रहेको बताएको छ। रुसले युक्रेनका बारेमा पनि यस्तै दाबी गरेको छ।

"यिनै गतिविधिबीच पनि हामी किएभ अधिकारीहरूलाई पुनः वार्ता सुरु गर्न... सिधा कुरा सुरु गर्न प्रस्ताव गरिरहेका छौँ ... र म त्यो बिना कुनै पूर्व सर्त हुने कुरामा जोड दिन चाहन्छु," शनिवार राति पुटिनले भने।

मस्को र किएभबीचको सिधा वार्ता तीन वर्षभन्दा केही समयअघि रुसको युक्रेनमा पूर्ण आकारको अतिक्रमण लगत्तै भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।