किन भइरहेको छ लुम्बिनी शिखर सम्मेलनको विरोध

    • Author, माधव नेपाल
    • Role, बीबीसी न्यूज नेपाली, बुटवल

आउँदो हप्ता लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट करिब दुई दर्जन अति विशिष्ट पाहुना लुम्बिनी आउने तय भएको उक्त सम्मेलनको सचिवालयले जनाएको छ।

“नोबेल पुरस्कार विजेताहरू सहित केही देशका राष्ट्रप्रमुख र पूर्व राष्ट्रप्रमुखहरू आउने निश्चित जस्तै भएको छ,” प्रदेश सचिव सुमन घिमिरेले भने।

“यसबाहेक बालबालिका र शान्तिका क्षेत्रमा कार्यरत विश्वका अरू विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहने छ।”

को को आउँदैछन् विशिष्ट पाहुना?

सचिवालयका अनुसार पूर्वी टिमोरका राष्ट्रपति जुजे रामुस ओर्ता, भारतका पूर्व राष्ट्रपति रामनाथ कोविन्द, स्वीडनका पूर्व प्रधानमन्त्री स्टेफान लोभेन र मोनाकोका पूर्व सरकार प्रमुख सेर्ज टेल सम्मेलनमा सहभागि हुनेछन्।

त्यस्तै गरी नोबेल पुरस्कार विजेताहरू रुथ मिचेल, सर रिचर्ड रोबर्ट्स, कैलाश सत्यार्थी, तवाकल कर्मान, जोडी विलियम्स, लिमा बोयी, ओलेकसान्ड्रा मात्भिचुक, रिगोवेर्टा मेन्चु तथा अनुसन्धानकर्ता ल्याडिसलस च्यान्गाको पनि सहभागिता रहने सचिवालयले जनाएको छ।

“बालबालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता सहित हाम्रा बालबालिकाले भोगिरहेका विभिन्न चुनौतीलाई सारभूत सम्बोधन गर्न, साझेदार बीचको सहकार्य अभिवृद्धि तथा सारभूत हस्तक्षेपका सामूहिक रणनीति तय गर्न सम्मेलनको आयोजना गरिएको” मुख्यमन्त्री कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो सम्मेलनका लागि प्रदेश सरकारले साढे ६ करोड रुपैयाँको बजेट छुट्ट्याएको छ।

विपक्षी दलको विरोध

विपक्षी दल नेकपा एमालेले यो सम्मेलनको उद्देश्य स्पष्ट नभएको बताएको छ।

“हामीसँग सम्मेलनका बारेमा न कुनै छलफल भएको छ न त हामीहरूलाई सम्मेलनमा बोलाइएको छ,”' प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीले भने।

“लुम्बिनीको विकास, समृद्धि र जनसरोकारका विषयलाई छाडेर एउटा गैरसरकारी संस्थाको पछि सिङ्गो सरकार लागेको देखियो।”

सम्मेलनको आयोजना लुम्बिनी प्रदेश सरकारले गरेको भए पनि व्यवस्थापनको सम्पूर्ण काम भने अमेरिकाको ‘लरिएट्स एण्ड लिडर्स' नामको एक गैरसरकारी संस्थाले गरिरहेको बताइएको छ।

उक्त संस्थाको वेबसाइटमा लुम्बिनीमा हुन गइरहेको शिखर सम्मेलनले नेपालमा भएको लोकतन्त्रको विकासको प्रदर्शन गर्ने उल्लेख गरिएको छ।

“हरेक बच्चा सुरक्षित, स्वतन्त्र र शिक्षित गराउनका लागि रूपरेखा तयार पारेर त्यसको कार्यान्वयनको प्रतिबद्धता सहितको घोषणापत्र जारी गरिने छ,” त्यहाँ भनिएको छ।

“अमुक संस्थाले गर्ने यस्ता कार्यक्रमले मुलुकको राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्रमा गलत खालको सन्देश पुग्ने आशङ्का छ,” पूर्व मुख्यमन्त्री गिरी भन्छन्।

“तर हामीले सम्मेलनलाई कसरी हेर्ने भन्नेबारेमा छलफल गर्ने छौँ।”

दलाई लामाको चर्चा

लुम्बिनीमा हुन गइरहेको शिखर सम्मेलनमा नोबेल पुरस्कार विजेता दलाई लामा पनि आउने चर्चा चलाइएको थियो।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले भने, “पहिले दलाई लामालाई पनि ल्याउने कुरा भएको सुनेको थिएँ तर पछि कूटनीतिक कारणले रोकिएको भन्ने पनि सुनेँ।”

उनले भने, “मुख्यमन्त्रीले यसबारे हामी सत्तामा सहभागी दललाई समेत केही जानकारी नदिँदा आशङ्का उब्जिएको छ।”

२०१६ मा यही संस्थाले भारतको नयाँ दिल्लीमा गरेको प्रथम शिखर सम्मेलनमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरु दलाई लामाको पनि सहभागिता रहेको सो संस्थाको वेवसाइटमा उल्लेख छ।

लुम्बिनी प्रदेश सरकारले भने दलाई लामालाई निमन्त्रणा गरिएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएको छ।

“हाम्रो परराष्ट्र नीति अनुकूल यो शिखर सम्मेलन हुन लागेको हो,” प्रदेश सचिव सुमन घिमिरेले भने।

“जहाँसम्म दलाई लामाको कुरा छ उहाँलाई निमन्त्रणा गरिएको वा चिठी काटिएको कुरा मेरो जानकारीमा छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।