नारायणगढ-मुग्लिन राजमार्गमा भीषण पहिरो, दु:खै दु:खमा यात्रु

पहिरो
    • Author, ईश्वर जोशी
    • Role, नारायणगढ

काठमाण्डूबाट झापा जान लागेका यात्रु सन्तोष लामा बिहीवार राति ८ बजे देखि जाममा परेका छन्।

उनले जाममा परेका कारण सुत्न र खान समस्या भएको र गर्मीले निकै सताएको बताए।

सुत्नको लागि होटलमा कोठा नपाएपछि बसमा नै रात काटेको उनको भनाइ छ।

नारायणगढ-मुग्लिन सडकमा खसेको पहिरोका कारण लामा जस्ता हजारौँ यात्रु सडकमा अलपत्र परेका छन्।

त्यस्तैमध्ये अर्की हुन् काठमाण्डूबाट धनगढी जान हिँडेकी पूजा पाण्डे।

उनी बिहीवार साँझ ७ बजे देखि जाममा परेकी छन्।

उनी सवार जीप मुग्लिन आइपुग्दा रातको २ बजेको थियो। होटलहरू सबै बन्द भएका कारण खान र सुत्न समस्या भएको उनले बताइन्।

जीपमा नै रात कटाएकी उनले सडकमा बस्दा शौचालय जान पनि समस्या भएको बताइन्।

बिहीवार अपराह्नबाट गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक बन्द पूर्ण रूपमा अवरुद्ध भएको र त्यसले गर्दा मुलुकलाई राजधानीसँग जोड्ने लाइफलाइन मानिएको उक्त राजमार्गमा ठूलो सङ्ख्यामा सवारी साधनमा रहेका यात्रु अलपत्र परेको अधिकारीहरूले बताएका छन्।

तुईन खोला नजिकको पहिरोका कारण बिहीवार दिउसो एक बजेदेखि रोकिएको आवागमन शुक्रवार साँझबाट आंशिक रूपमा खुलेको छ। सो सडक खण्डमा हजारौँ यात्रुहरूले सास्ती खेप्नुपरेको बताइएको छ।

पहिरो पन्छाउने प्रयास
तस्बिरको क्याप्शन, पहिरो पन्छाउने प्रयास जारी राखिएको अधिकारीहरूको भनाइ छ

पहिरोको प्रभाव कति?

चितवन ट्राफिक कार्यालयका प्रमुख राजकुमार तामाङका अनुसार शुक्रवार साँझबाट एकतर्फी रूपमा बाटो खुलेको भएपनि राजमार्ग सहज भइसकेको छैन्।

उनले भने, “अहिले आंशिक मात्रै बाटो खुलेको छ। पहिरो झर्ने क्रम रोकिएको छैन। त्यही भएर १० मिनेट चल्ने र १० मिनेट बाटो अवरुद्ध हुने क्रम चलिरहेकै छ।”

उनका अनुसार बाटो नै अवरुद्ध हुने गरी ‘व्यापक परिमाणमा’ सवारी साधनहरू सडकमा रहेका छन्।

उनले भने, “बाटो नै अवरुद्ध हुने गरी धेरै मात्रामा सवारी साधनहरू छन्। अनुमान गर्न सकिँदैन तर व्यापक मात्रामा गाडीहरू सडकमा रोकिएका छन्।”

बाटो बन्द हुँदा काठमाण्डूबाट हिँडेका सवारी साधन मलेखुदेखि नै रोकिएका थिए।

पोखराबाट आइरहेका सवारी साधन आँबुखैरेनीमा रोकिएका छन् भने नारायणगढबाट हिँडेका सवारी साधन रामनगर, आँपटारी, रत्ननगर र लोथरमा रोकिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बीबीसीलाई बताए।

सडक किनारामा सवारी साधन

चितवन ट्राफिक कार्यालयका प्रमुख तामाङका अनुसार जाममा परेका सवारी साधनहरूलाई व्यवस्थापन गर्न अर्को चुनौती देखिनसक्छ।

उनले थपे, "कैयौँ मालवाहक सवारी साधन र पुराना सवारी साधनहरू पनि रोकिएका छन्। कुनै एउटा पनि यस्तो अवस्थामा सडकमा बिग्रियो भने सडक खुलाउन त्यसले नयाँ चुनौती थप्छ।"

मुग्लिनदेखि साढे दुई किलोमिटर नारायणगढतर्फ सडक माथिबाट ठुलो ढुङ्गै ढुङ्गाको पहिरो झर्ने क्रम निरन्तर रहेका कारण सडक खुलाउन समय लागेको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए।

उक्त सडक राति खुलाउन सम्भव नभएपछि बिहानदेखि सडक खुलाउने काम भएको हो।

सडक खुलाउने प्रयास कस्ता?

मुग्लिनतर्फबाट दुई र नारायणगढतर्फबाट दुई गरी चारवटा डोजरले पहिरो हटाउने काम गरेका थिए।

केही दिन यताको अविरल पानीले उक्त उक्त स्थानमा पहिरो झरेको हो।

यसपालि उक्त सडकको २० स्थानमा पहिरो नियन्त्रणको काम भइसकेको र नयाँ नयाँ स्थानमा पहिरो जाँदा समस्या भएको आयोजना प्रमुख कार्कीले बताए।

हाल उक्त सडकको चार पाँच स्थानमा पहिरोको जोखिम रहेको र उक्त स्थानहरूमा दीर्घकालीन रूपमा पहिरो नियन्त्रणको लागि अनुगमन भइरहेको उनले बताए।

घण्टौँदेखि सडक बन्द भएपछि बसहरूलाई बजार क्षेत्र र ट्रकहरूलाई अन्य स्थानमा रोकेर राखिएको प्रहरीले जनाएको छ।