भूकम्प पीडित भेट्न गएका प्रधानमन्त्री तथा मन्त्रीहरू सोफा र फूलमालामा

प्रधानमन्त्री प्रचण्ड

देशका ७६ जिल्ला टेकिसकेको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्न शुक्रवार ७७ औँ जिल्ला बझाङ पुगे।

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा तीन दिनअघि गएको भूकम्पका कारण प्रभावित स्थानीयवासीलाई राहत घोषणा गर्न हेलिकप्टर चढेर मन्त्रीहरूसहित पुगेका प्रधानमन्त्री त्यहाँ पुगेर सोफामा बसिरहेका तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

प्रधानमन्त्री र मन्त्रीहरू सोफामा बसिरहेको तस्वीर राख्दै निर्मल प्रसाईँले यसअघि ट्विटर भनिने एक्समा लेखेका छन्, “गद्दीभन्दा ठूला सोफा, मिनरल वाटर, रातो कपडाले ढाकिएको टेबल। भूकम्प पीडितलाई सहानुभूति दिन गएका हुन् कि भूकम्प पीडितका घाउमा नुन-चुक छर्कन गएका हुन्? के हो यो?”

त्यस्तै पत्रकार मातृका दाहालले पनि सोफामा बसेको तस्बिर पोस्ट गर्दै एक्समा लेखेका छन्, “युद्धका कारण युक्रेनका राप (राष्ट्रपति)ले फर्मल पोसाक नलगाएको वर्ष दिन हुन लाग्यो, भूकम्प पीडित भेट्न जाँदा हाम्रा प्रमसहितका मन्त्री/नेता फर्मल पोसाक अनि खुसियाली माहोलमा जस्तो हुलियामा।”

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

के भएको हो?

बझाङ सदरमुकामको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाललाई बीबीसी न्यूज नेपालीले उक्त तस्बिरको वास्तविकताबारे सोधेको थियो।

उनका अनुसार सुर्खेतबाट हेलिकप्टरमा गएको प्रधानमन्त्रीसहितको टोली चैनपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा ओर्लिएको थियो। त्यसपछि प्रधानमन्त्रीनजिकै रहेको जय पृथ्वी क्याम्पसमा भएको क्षतिको अवलोकनका लागि पुगेका थिए।

“त्यो तस्बिर क्याम्पसबाहिरको हो। प्रधानमन्त्रीज्यू क्याम्पसमा भएको क्षतिबारे बुझ्न जाने तय भएपछि क्याम्पस प्रशासनले सोफा र टेबलहरू राखेको रहेछ। प्रधानमन्त्रीले पनि बस्दिनँ भन्नुभएन। उहाँहरूको ब्रिफिङ सुन्न प्रधानमन्त्रीसहित म पनि त्यहाँ बस्न बाध्य भयौँ,” उनले भने।

उनका अनुसार प्रधानमन्त्री १० मिनेट जति सोफामा बसेर क्याम्पस प्रमुखबाट त्यहाँ भएको क्षतिको विवरणबारे सुनेका थिए।

प्रचण्ड

तस्बिर स्रोत, RSS

प्रधानमन्त्रीसँगै बझाङ गएका उनको सचिवालयका सदस्य गोकर्ण भट्ट आफूहरूलाई पनि सोफासहितको व्यवस्थापन अस्वाभाविक लागे पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्न नसकेका बताउँछन्।

“उहाँ यसअघि प्रधानमन्त्री हुँदा सम्बन्धन दिएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको पहिलो आङ्गिक क्याम्पस हो त्यो। त्यसकारण उहाँले त्यहाँ जाने तय गर्नुभयो। क्याम्पसका पाँचवटै भवन भूकम्पले क्षति भएकाले उहाँहरूले बाहिरै बस्ने व्यवस्था मिलाएर ज्ञापनपत्र बुझाउने कार्यक्रम राख्नुभएको रहेछ। उभिइउभिई बुझ्दा पनि उहाँहरूको अवमूल्यन गरे जस्तो हुने भयो,” भट्टले भने।

प्रधानमन्त्री भूकम्पले भत्किएका दलित बस्तीका केही घरको स्थलगत अवलोकन गरेर पीडितहरूसँग कुराकानी पनि गरेका थिए।

नगरप्रमुख बजालका अनुसार प्रधानमन्त्रीले फूलमाला र खादा नलगाउने जानकारी आफू जनुअघि नै पठाएका थिए। बझाङमा प्रधानमन्त्रीले फूलमाला नलगाए पनि त्यहाँ जानेक्रममा विमानबाट सुर्खेत ओर्लिएका प्रधानमन्त्री फूलमालामा देखिने तस्बिर सरकारी समाचार संस्था राससमा प्रकाशित छ।

प्रचण्ड

तस्बिर स्रोत, RSS

बझाङ जाने क्रममा सुर्खेत विमानस्थलमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहित प्रदेशका मन्त्रीहरूले फूलमाला र बुके दिएका थिए।

“त्यहाँ पनि उहाँ बाध्यतामा पर्नुभयो। यस्तो अवस्थामा प्रदेशका माननीयहरूले पनि बुझ्नुपर्ने कुरा हो,” प्रधानमन्त्रीको सचिवालयका भट्टले भने।

भूकम्प पीडितलाई राहतको घोषणा

प्रचण्ड

तस्बिर स्रोत, RSS

जिल्ला प्रशासन कार्यालय बझाङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएपछि प्रधानमन्त्री भूकम्प पीडितहरूका लागि राहतको घोषणा गरे।

भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत घोषणा गरिएको छ।

त्यस्तै पूर्ण रूपमा घर क्षति भएकालाई ५० हजार र प्रभावित अन्यलाई परिवार सङ्ख्याको आधारमा १५ देखि २० हजार रुपैयाँ राहत दिने घोषणा गरेर प्रधानमन्त्री काठमाण्डू फर्किएका छन्।

उनले यस्तो राहत तत्कालै दिने व्यवस्था मिलाइने पनि आश्वासन दिए।

टोलीमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत थिए।

स्थानीयवासीमा आशङ्का

भूकम्प पीडित

भूकम्पले बढी क्षति पुर्‍याएको बझाङको सदरमुकाम चैनपुर क्षेत्रको स्थलगत निरीक्षणको क्रममा प्रभावितहरूले आफ्ना समस्या र गुनासा प्रधानमन्त्री र मन्त्रीहरूलाई सुनाएका थिए।

प्रभावितका गुनासा सुनेपछि प्रधानमन्त्री र मन्त्रीहरूले तीनै तहका सरकार मिलेर राहत, उपचार, पुनः स्थापना र पुनर्निर्माणको काम अघि बढाउने आश्वासन दिए।

खुला ठाउँमा पाल टाँगेर बसिरहेका सुदूरपश्चिमका भूकम्प पीडितहरूले भने विगतमा बाढी-पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट पीडित हुँदा सरकारले घोषणा गरेको राहत नपाएको स्मरण गर्दै यसपालि भने त्यस्तो समस्या नदोहोरिने आशा व्यक्त गरेका थिए।

“यसअघि बझाङमै बाढीबाट भएको क्षतिपछि सरकारले दिने भनेको राहत अझै कतिपयले पाएका छैनन्। त्यस कारण प्रधानमन्त्रीले बोल्नेबित्तिकै यहाँका मानिसहरूले विश्वास गरिहाल्ने वातावरण छैन,” नगरप्रमुख बजाल भन्छन्।

एक वर्षमा २१ वटा भूकम्प

प्रचण्ड

तस्बिर स्रोत, RSS

पछिल्लो एक वर्षयता मात्रै सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर २१ वटा भूकम्पहरू गएका छन्। हालसालै गएका त्यस्ता भूकम्पप्रति लक्षित गदै प्रधानमन्त्री प्रचण्डले सरकारले पूर्वतयारी बढाएको बताए।

राससका अनुसार बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरलाई उद्धृत गर्दै राससले चैनपुर केन्द्रबिन्दु भएर ४.३ र ३.९ म्याग्निट्यूटका भूकम्प गएको जनाएको छ।

बझाङ जिल्लामा केन्द्रबिन्दु भएर गत मङ्गलवार गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण सुदूरपश्चिम बाजुरा, डोटी, बैतडी, अछामलगायत जिल्लामा थुप्रै घरहरू भत्किएर र चर्किएर क्षति भएका छन्।

भूकम्पबाट एक सर्वसाधारणको ज्यान जानुका साथै २७ जना घाइते भएको अधिकारीले जनाएका छन्।

भूकम्पले सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडीजस्ता जिल्लामा धेरै असर गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।