नौ वर्षपछि माओवादी राजनीतिमा 'पूर्वकमान्डर' फर्किँदा किन विरोध

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेकपा माओवादी केन्द्रको राजनीतिमा विगत नौ वर्षदेखि अलग रहेका एक नेता आइतवार काठमाण्डूमा भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छेउमै देखिए।

आफ्नो छेउमा बस्न लागेका नेताबारे माओवादी अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकअघि नै पार्टी नेताहरूलाई जानकारी गराइसकेका थिए। पार्टी राजनीतिमा संलग्न नभएका ती व्यक्ति माओवादी लडाकुका भूतपूर्व कमान्डर मात्रै नभई देशकै भूतपूर्व उपराष्ट्रपति पनि बनिसकेका व्यक्ति थिए।

गणतन्त्र स्थापना भएपछि दोस्रो उपराष्ट्रपति भएर सात वर्षभन्दा लामो समय पदमा रहेका नन्दकिशोर पनि भनिने नन्दबहादुर पुन पछिल्लो समय नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा देखिन थालेका छन्।

यसअघि पार्टी पदाधिकारी र स्थायी समिति बैठकमा सहभागी भएका 'पासाङ' उपनामले चिनिने पुन आइतवार माओवादी केन्द्रीय समिति बैठकमा दाहालसँगै बसिरहेको तस्बिरले सामाजिक सञ्जालमा बहस समेत निम्त्याएको छ।

"राष्ट्रपति र उपराष्ट्रपति अरू राजकीय पदजस्तो होइन। सबै जात, जाति,धर्म र संस्कृतिलाई जोड्ने राष्ट्रिय एकताको प्रतीक हो। गणतान्त्रिक संस्थाको गरिमा र उचाइको लागि पनि राष्ट्रपति र उपराष्ट्रपति कार्यकाल पछि कुनै पनि दलमा आबद्ध भएर सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गरौँ," संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका रामहरि खतिवडाले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।

सत्य निरूपण तथा मेलमिलाप आयोगकी भूतपूर्व आयुक्त मञ्चला झाले राज्यको ढुकुटीबाट सेवासुविधा लिइरहेका राष्ट्रपति र उपराष्ट्रपतिजस्ता भूतपूर्व पदाधिकारीलाई राज्यबाट सुविधा दिइनु उचित भए वा नभएको विषयमा प्रश्न गरेकी छन्।

भूतपूर्व उपराष्ट्रपति परमानन्द झा के भन्छन्?

बीबीसीले भूतपूर्व उपराष्ट्रपति पुनसँग यसबारे प्रतिक्रिया लिने प्रयास गरेको थियो। तर उनी सम्पर्कमा आउन चाहेनन्।

गणतन्त्रपछि पहिलो उपराष्ट्रपति बनेका परमानन्द झाले पुन पुनः सक्रिय राजनीतिमा संलग्न हुने कुरा आफूलाई "राम्रै लागेको" प्रतिक्रिया दिए।

"उहाँको इच्छा छ, देशलाई राजनीतिबाट सहयोग गर्न सक्छु भन्ने लाग्छ भने यो राम्रै कुरा हो भन्ने मलाई लाग्छ," भूतपूर्व उपराष्ट्रपति झाले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

"उहाँको त उमेर पनि छ नि।"

राज्यले भूतपूर्व उपराष्ट्रपति पदको गरिमा कायम गर्ने किसिमको सेवासुविधा र सम्मान नदिएको उनको गुनासो छ।

"ठूलो पद हो भने राज्यले पनि त्यहीअनुसार मूल्याङ्कन गरिदिनुपर्‍यो। सेवासुविधा र जीवनयापन गर्ने स्रोत जुटाइदिनुपर्‍यो," उनी भन्छन्।

"राज्यले सेवा सुविधा दिएको छ भने पार्टी राजनीतिमा नजाने कुरा जायज छ। तर हामीलाई त टेढो आँखाले पनि हेर्दैन।"

झाले भूतपूर्व उपराष्ट्रपतिलाई राज्यले "पेन्सन खाने कर्मचारीको जति पनि व्यवहार नगरेको" गुनासो गरे।

"पेन्सन खाने कर्मचारीहरू राजनीतिमा आएकै छन्, हामीलाई त राज्यले त्यति पनि गरेको छैन," उनले भने।

'पदको गरिमा घट्छ'

सरकारी थिङ्कट्याङ्क नीति अनुसन्धान प्रतिष्ठानसँग पनि आबद्ध कानुनका प्राध्यापक विपिन अधिकारी राष्ट्रको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति फेरि "सरकार बनाउने र भत्काउने" राजनीतिमा फर्कँदा "पदको गरिमा घट्ने" बताउँछन्।

"यो राजनीतिमा आदर्शका कुराहरू पछाडि छुट्दै गएका छन् भन्ने कुराको एउटा उदाहरण हो। राष्ट्राध्यक्ष वा उपराष्ट्राध्यक्ष भइसकेको व्यक्ति देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति हो। त्यो पदमा पुगिसकेको व्यक्ति उन्नत देशहरूमा कुनै पनि जितहारको पदमा जोडिने प्रचलन छैन," अधिकारी भन्छन्।

"त्यसैका लागि राज्यले उनीहरूलाई पदबाट निवृत्त भए पनि सेवा सुविधा र सुरक्षा प्रदान गर्छ।"

अधिकारी पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरूले आफूहरू सक्रिय हुन पार्टी राजनीति भन्दा अलग बाटो रोज्नु उपयुक्त हुने ठान्छन्।

"सभ्य मुलुकमा राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिहरूले अनुभवका किताब लेख्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय शान्ति कायम गर्न शान्ति दूतको काम गर्ने, महामारी नियन्त्रणमा पहल गर्ने, गरिबहरूका लागि काम गर्ने, विश्वविद्यालयहरूमा पढाउने गरेका छन् जसबाट उनीहरूको उचाइ अझ बढेको छ," अधिकारी भन्छन्।

भूतपूर्व राष्ट्रपति विद्या भण्डारी पनि नेकपा एमालेको राजनीतिमा फर्कने चर्चाबीच पुन माओवादी राजनीतिमा फर्किएको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस भइरहेको छ।

माओवादीभित्रै पक्ष र विपक्ष

माओवादी अध्यक्ष प्रचण्डले आइतवार केन्द्रीय समिति बैठक सुरु हुनुअघि बसेको पार्टी स्थायी समितिको बैठकमा भूतपूर्व उपराष्ट्रपति पुन केन्द्रीय समिति बैठकमा सहभागी हुन लागेको जानकारी गराएका थिए।

"अध्यक्षले 'उहाँ अहिले आमन्त्रित सदस्यका रूपमा रहनुहुन्छ। पार्टीमा जिम्मेवारी के दिने भन्ने पछि छलफल गरेर टुङ्गो लगाऔँला' भन्नुभयो," माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने।

भूतपूर्व उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा आउन संविधानले निषेध नगरेको तर्क माओवादी केन्द्रका कतिपय नेताहरूले गरेका छन्।

"संविधानले निषेध गरेको छैन। उहाँले इच्छा देखाएपछि पार्टीले ठाउँ दिने कुरा स्वाभाविक हो," सापकोटा भन्छन्।

तर माओवादी नेता लेखनाथ न्यौपानेले पुन पार्टी राजनीतिमा सहभागी भएको विषयमा प्रश्न उठाएका छन्।

"…पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय सङ्गठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ," उनले फेसबुकमा लेखेका छन्।

नन्दबहादुर पुन को हुन्?

पुनको जन्म रोल्पा जिल्लामा भएको थियो। नेकपा माओवादीले सशस्त्र विद्रोह गर्दा उनी उक्त पार्टीका लडाकुहरूका कमान्डर थिए। उनी विसं २०७२ कार्तिक १५ देखि २०७९ चैत्र ५ गतेसम्म करिब साढे सात वर्ष उपराष्ट्रपति बने।

विसं २०७२ सालमा नयाँ संविधान जारी भएपछि उपराष्ट्रपति बनेका पुन पहिलो पटक २८ महिना पदमा रहे। नयाँ संसद् चुनिएपछि फेरि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नुपर्ने व्यवस्था अनुसार २०७४ सालमा भएको निर्वाचनपछि उनी उपराष्ट्रपतिमा दोहोरिएर पूरा पाँच वर्ष पदमा रहे।

दोस्रो संविधानसभाको निर्वाचनमा उनी काठमाण्डू क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापासँग पराजित भएका थिए। तर संविधान जारी भएपछि उनलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

माओवादी विद्रोहमा सहभागी हुनुअघि उनी शिक्षण पेसामा थिए।

करिब १७,००० मानिसको ज्यान जाने गरी भएको सशस्त्र युद्धपछि शान्ति सम्झौतामार्फत् माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सेना समायोजनका क्रममा पुनले उल्लेख्य भूमिका निर्वाह गरेको उनका समकक्षीहरू बताउँछन्।

द्वन्द्वकालका बेला निस्वार्थ छवि बनाएको भनिएका पुन शान्तिप्रक्रियामा आएपछि भने लडाकु शिविरहरूको व्यवस्थापनका क्रममा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै आलोचित बनेका थिए।

शान्तिप्रक्रिया टुङ्गो लागिसकेपछि कुनै पनि लाभको पदमा नरहेका पुन त्यसताका नै दुवै मिर्गौला बिग्रिएपछि गम्भीर बिरामी परेका थिए। गम्भीर बिरामी हुँदा पनि उनी विदेशमा उपचार गर्न नगई स्वदेशमा उपचार गराएको विषय निकै चर्चामा आएको थियो।

नेताहरू सामान्य उपचारका लागि पनि विदेश धाउने गरेको भन्दै आलोचना भइरहेका बेला उनको उक्त कदमको धेरैले प्रशंसा गरेका थिए। स्वदेशमा उपचारपछि उनी स्वस्थ भएर सक्रिय राजनीतिमा फर्किएका थिए। लगत्तै विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले काठमाण्डू क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।