ट्राफिक प्रहरीले जरिबाना गर्दा 'अब लाइसन्स नखोस्ने'

ट्राफिकजाम
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूको लाइसन्स अब पहिलाको जस्तो ट्राफिक प्रहरीले नखोस्ने काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीहरूले उपत्यकाभित्र ‘डिजिटल चिट’ काट्ने र त्यसको भुक्तानी पनि विद्युतीय माध्यमबाट गर्न सकिने ट्राफिक प्रहरीका प्रवक्ता रविन कार्कीले जानकारी दिए।

नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली थपिएसँगै अब ट्राफिक प्रहरीले यसबाटै चालकहरूको अनुमतिपत्र हेर्न, नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न र कारबाहीको विवरण अद्यावधिक गर्न पनि मिल्ने प्रहरीले जनाएको छ।

यसअघि ट्राफिक प्रहरीले चलाउने मुख्य सफ्टवेअर ७० जिल्लाबाट पहुँच गर्न सकिन्थ्यो। अब नेपाल प्रहरीको मोबाइल एप्लिकेशनबाटै त्यसमा पहुँच गर्न सकिने व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन्। यो सुविधिबाट ट्राफिक प्रहरीहरूलाई नागरिक एपमा हुने 'क्यूआर कोड' स्क्यान गरेर सवारीचालक अनुमतिपत्रको विवरण साँचो भए नभएको हेर्न र जरिबाना गर्न सहज बनाउने उनीहरूको दाबी छ।

ट्राफिक प्रहरीका अनुसार विसं २०७६ सालबाटै ट्राफिक नियम उल्लङ्घनमा अनलाइन माध्यमबाट जरिबाना तिर्न सकिने व्यवस्था मिलाइएको थियो। अहिले काठमाण्डू उपत्यकामा जरिबानाको रसिद पनि डिजिटल माध्यमबाटै जारी गर्न लागिएको प्रहरी नायब उपरीक्षक कार्कीले दिए।

“यसअघि नियम उल्लङ्घनमा कागजको चिट काट्ने र सवारीचालकको कागजपत्र ट्राफिक प्रहरीले लिएर जाने अनि जरिबाना तिरेपछि ट्राफिक प्रहरीको कार्यालयमा पुगेर आफ्नो कागजपत्र लिनुपर्ने चलन थियो। अब त्यो झन्झट हुँदैन,” कार्कीले बीबीसी न्यूज नेपालीसँग भने।

परीक्षणका लागि काठमाण्डूमा सुरु गरिएको यो प्रणाली देशैभरि विस्तार गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीले शनिवार घोषणा गरेको यो प्रणालीको आरम्भ आइतवार गृहमन्त्री रमेश लेखकसहितका अधिकारीहरूले गरेका थिए।

कसरी हुन्छ जरिबाना

गृहमन्त्री रमेश लेखक

तस्बिर स्रोत, Nepal Police

आइतवार मन्त्रीहरू उपस्थित कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्र साहले दिएको जानकारीअनुसार अब नेपाल प्रहरीको मोबाइल एपबाट ट्राफिक प्रहरीहरूले जरिबानासम्बन्धी सफ्टवेअरको प्रणालीमा प्रवेश पाउने छन्।

“अब नागरिक एपमा आफ्नो लाइसन्स अद्यावधिक गरिसकेपछि त्यहाँको क्यूआर कोड ट्राफिक प्रहरीसँग भएको मोबाइलबाट पढ्न मिल्छ। त्यसरी अद्यावधिक गरेका चालकले नियम उल्लङ्घन गरेको अवस्थामा गल्तीअनुसार डिजिटल चिट काट्न मिल्छ,” प्रवक्ता कार्की भन्छन्।

ट्राफिक प्रहरीले जारी गर्ने डिजिटल चिटको नम्बर र विवरण सवारीचालकको नागरिक एपमै देखाउने र त्यहीँबाट 'डिजिटल वालेट'को माध्यमबाट जरिबाना पनि भुक्तानी गर्न मिल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यस्तो जरिबाना नतिरेसम्म मोबाइलमा भुक्तानीका लागि 'नोटिफिकेश' (सूचना) आइरहने कार्कीले जानकारी दिए।

“अब प्रहरीले कागजपत्र लैजाँदैन। डिजिटल चिट आउँछ र जरिबाना तिरेपछि त्यसको जानकारी पनि हेर्न मिल्छ,” उनले भने।

ट्राफिक जाम

तस्बिर स्रोत, Valley Traffic

जरिबाना कति

धेरैजसो अवस्थामा पहिलो पटक ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र तेस्रो पटक १,५०० रुपैयाँ जरिबाना तिर्नुपर्ने नियम छ।

तर कुनैकुनै कसुरमा एकै पटक १,०००, २,००० र ५,००० रुपैयाँसम्म पनि जरिबाना हुने व्यवस्था छ।

ट्राफिक जरिबाना नतिर्ने सवारीचालकहरूको त्यस्तो जरिबाना चुक्ता नगरेसम्म लाइसन्स नवीकरण नहुने ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक जरिबानासम्बन्धी विवरण यातायात व्यवस्था कार्यालयको प्रणालीमा पनि अद्यावधिक हुने गरेको छ।

सचेतना कक्षा पनि अनलाइनबाटै गर्ने तयारी

सवारी चेकजाँचका क्रममा वा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूको लाइसन्स अब ट्राफिक प्रहरीले आफूसँग रहेको मोबाइलबाटै स्क्यान गरेर हेर्न सक्छ।

त्यसका लागि अहिले १०४ वटा मोबाइल कार्यस्थलमा खटिने ट्राफिक प्रहरीहरूका लागि तयार गरिएको र आवश्यक सुविधा भएको मोबाइलको सङ्ख्या छिट्टै १,००० पुर्‍याउने योजना रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

अहिले सचेतना कक्षा लिनुपर्ने किसिमको ट्राफिक नियम उल्लङ्घन गरेका चालकहरूले चाहिँ त्यस्तो कक्षा लिन ट्राफिक प्रहरी कार्यालय नै जानुपर्छ।

“अहिले भौतिक रूपमा सचेतना कक्षा लिने व्यवस्था छ। अब आफ्नै घरबाट जतिसुकै बेला पनि कक्षा लिने व्यवस्था मिलाउँदै छौँ। हाम्रो प्रणालीले त्यसलाई अद्यावधिक गर्छ र सम्बन्धित व्यक्ति नै भए नभएको पहिचान पनि गर्छ,” साहले भने।

अब लाइसन्स छापिन्छ कि छापिँदैन

सवारीचालक अनुमतिपत्रको छपाइ ढिलो भएका कारण परीक्षा उत्तीर्ण गरेर पनि २२ लाख आवेदकले लाइसन्स पाएका छैनन्। अहिले यातायात व्यवस्था विभागसँग नौ लाख कार्डहरू उपलब्ध रहेको र त्यो सकिएपछि भने अहिले प्रचलनमा रहेका 'चिपयुक्त' कार्डहरू किन्ने वा नकिन्नेबारे छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताएका छन्।

“त्यो चिप महँगो हुने रहेछ। अब क्यूआर कोडबाटै हुने भएपछि त्यो किन आवश्यक पर्‍यो,” उनले भने।

यातायात व्यवस्था कार्यालयले डिजिटल माध्यमबाटै काम चल्ने भए पनि सवारीचालक अनुमतिपत्रको छपाइ नरोकिने जनाएको छ।

सवारी चालक अनुमतिपत्र

तस्बिर स्रोत, Koshi Provincial Goverment

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले ट्राफिक प्रहरीले सुरु गरेको नयाँ प्रविधिले लाइसन्सको छपाइ ढिलो हुँदा देखिएको समस्या केही सहज हुने ठानिएको बताए।

“लाइसन्स छाप्दै नछाप्ने भन्ने होइन, लाइसन्स छापिन्छ नै। तर लाइसन्स नभएर जुन समस्या भएको थियो त्यो कुरा चाहिँ नागरिक एपबाट पनि हेर्न थालियो भने सहज हुन्छ,” उनले भने।

ट्राफिक प्रहरी चेकजाँच र जरिबानाका लागि छापिएको अनुमतिपत्र नै देखाउनुपर्ने बाध्यता अन्त्य हुँदा कार्ड वितरण पनि सहज हुने ठानिएको यातायात अधिकारीहरूको भनाइ छ। यातायात व्यवस्था कार्यालयले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जानेहरूका लागि भने मुद्रित लाइसन्स दिँदै आएको छ।

कानुन परिवर्तन आवश्यक पर्छ कि पर्दैन

यसअघि ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनअनुसार सवारीचालक अनुमतिपत्रको भौतिक प्रति नै आवश्यक पर्ने बताउँदै आएको थियो।

गत वर्ष अक्टोबरमा नागरिक एप र ट्राफिक प्रहरीले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै चेकजाँचका क्रममा नागरिक एपमार्फत् देखाएको सवारीचालक अनुमतिपत्रलाई मान्यता दिने तर जरिबाना र कारबाहीका लागि मुद्रित प्रति नै आवश्यक पर्ने जनाएका थिए।

ट्राफिक प्रहरीका प्रवक्ता कार्कीले अब नागरिक एपमा राखिएको सवारीचालक अनुमतिपत्रलाई नै मान्यता दिइने बताएका छन्। त्यसका लागि तत्काल कानुन संशोधन नहुने यातायात व्यवस्था कार्यालयले जनाएको छ। यातायात मन्त्री दाहालले यातायात नियमावलीमा सवारीचालक अनुमतिपत्रको परिभाषामा चिपजडित लाइसन्सबारे उल्लेख भएका कारणले नियमावली परिवर्तन गरिने बताएका छन्।

डिजिटल लाइसन्सलाई मान्यता दिइएको भए पनि ट्राफिक प्रहरीका अनुसार चालकले सवारीसाधनको सक्कली 'ब्लूबुक' अर्थात् दर्ताकिताब भने आफूसँगै राखेको हुनुपर्ने छ।

यातायात व्यवस्था विभागले सवारी दर्ताकिताबको विवरण पनि नागरिक एपबाट हेर्न मिल्ने पहुँच दिइएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।