पाकिस्तान टी२० विश्वकपमा सहभागी हुने तर 'भारतसँगको खेल बहिष्कार गर्ने' पक्षमा

तस्बिर स्रोत, Getty Images
पाकिस्तानले आफ्नो टोली टी२० विश्वकपमा सहभागी हुने तर भारतसँगको निर्धारित खेल भने नखेल्ने जनाएको छ।
भारतमा सुरक्षाको कारण देखाउँदै बाङ्ग्लादेश प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तानले पनि टी२० विश्वकप बहिष्कार गर्नेबारे विचार गरेको थियो।
आगामी ७ फेब्रुअरीदेखि सुरु हुने प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेका छन्। समूह चरणमा पाकिस्तान सहभागी हुने खेलहरू श्रीलङ्कामा हुने छन्।
दुई देशबीच चर्किएको राजनीतिक तनावका कारण भारत र पाकिस्तानका पुरुष टोलीबीच सन् २०१३ देखि कुनै ठूलो प्रतियोगितामा बाहेक अरू खेलमा भेट भएको छैन। भारतीय टोलीले सन् २००८ पछि पाकिस्तानको भ्रमण गरेको छैन।
गत वर्ष दुई देशले आफूले आईसीसीको प्रतियोगिता आयोजना गरेको खण्डमा आफ्नो भूमिमा नभई "तटस्थ स्थान"मा खेल्ने सहमति गरेका थिए। त्यसअनुरूप टी२० विश्वकपबीच कोलम्बोमा खेल हुने तय भएको थियो।
आईसीसी के भन्छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
पाकिस्तान सरकारले एउटा विज्ञप्ति जारी गर्दै टी२० विश्वकपमा पाकिस्तानी टोलीलाई सहभागी हुन अनुमति प्रदान गरिएको तर "पाकिस्तान क्रिकट टोली १५ फेब्रुअरीमा भारतविरुद्ध निर्धारित खेलमा मैदानमा नजाने" जनाएको छ।
तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पाकिस्तानको अडान "स्वीकार गर्न कठिन" भएको भन्दै "दुवै पक्षलाई मान्य हुने गरी" समस्याको समाधान खोज्न पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)) पदाधिकारीहरूलाई आग्रह गरेको छ।
आईसीसीद्वारा प्रकाशित विज्ञप्तिमा उसले आफू पीसीबीको औपचारिक पत्रको प्रतीक्षामा रहेको जनाएको छ। भारतसँगको खेलमा सहभागी हुने पाकिस्तानको निर्णयलाई इङ्गित गर्दै आईसीसीले "यो अडान विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत मान्यतासँग अमिल्दो" रहेको भन्दै छनोट भएका टोलीहरूले निर्धारित तालिकाअनुसार समान सर्त स्वीकार गरेर प्रतिस्पर्धा गर्नुपर्ने अपेक्षा व्यक्त गरेको छ।
"चयनात्मक सहभागिताले प्रतियोगिताको मर्म र पवित्रतालाई अनादर गर्छ।"
पाकिस्तानले खेल बहिष्कार गरे के हुन्छ
राष्ट्रिय नीतिका सन्दर्भमा सम्बन्धित देशका सरकारको भूमिकाप्रति आफ्नो आदर रहेको जनाउँदै आईसीसीले भनेको छ, "निर्णय विश्वस्तरीय खेलको हित वा पाकिस्तानमा भएका दशौँ लाखसहित विश्वभरिका खेल प्रशंसकहरूको कल्याणका पक्षमा छैन।"
आईसीसीले आफूले "आफ्नो देशमा क्रिकेटमा पर्ने महत्त्वपूर्ण र दूरगामी प्रभावबारे" पाकिस्तानले सोच्ने आशा पनि व्यक्त गरेको छ।
आईसीसीले आसन्न प्रतियोगिताका लागि 'खेलका सर्तहरू' सार्वजनिक गर्न बाँकी नै छ। त्यसैले भारतसँगको खेल बहिष्कार गरे पाकिस्तानले कस्तो कारबाही बेहोर्नुपर्छ भन्ने स्पष्ट हुन बाँकी नै छ।
तर यसअघिको प्रतियोगिताको नियममा यसो भनिएको थियो : "कुनै एक पक्षले खेलमा हार स्वीकार गरेकाले वा खेल्न अस्वीकार गरेकाले खेलको निर्णय हुन्छ भने त्यसको परिणाममा अवस्थाअनुसार 'म्याच कन्सिडेड' (हार स्वीकार गरिएको) वा 'म्याच अवार्डेड' (जित सुम्पिएको) भनेर उल्लेख हुने छ।"
कुनकुन समूहमा कुनकुन टोली छन्

तस्बिर स्रोत, Getty Images
पाकिस्तानले टी२० विश्वकपका लागि २०-सदस्यीय टोली घोषणा गरेको थियो। तर पीसीबीले प्रतियोगितामा सहभागी हुने वा नहुने कुरा सरकारको निर्णयमा निर्भर हुने जनाएको थियो।
बाङ्ग्लादेश क्रिकेट बोर्डले आफ्नो टोली सहभागी हुने खेलहरू भारतमा नभई श्रीलङ्कामा गराउन आईसीसीसँग अनुरोध गरेको थियो
तर आईसीसीले "भारतमा असुरक्षाको डर भएको" बाङ्ग्लादेशी पक्षको दाबी "अविश्वसनीय" रहेको भन्दै उक्त अनुरोध अस्वीकार गरिदिएको थियो।
बीसीबीले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि उक्त स्थानमा स्कटल्यान्डले खेल्ने अवसर पाएको छ।
- समूह 'ए'मा पाकिस्तान, भारत, नामिबिया, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिका
- समूह 'बी'मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमन, श्रीलङ्का र जिम्बाब्वे
- समूह 'सी'मा नेपाल, इङ्ग्ल्यान्ड, इटली, स्कटल्यान्ड र वेस्ट इन्डिज
- समूहमा 'डी' अफगानिस्तान, क्यानडा, न्यूजील्यान्ड, साउथ अफ्रिका र यूएई
नेपालका खेल कहिले
नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक २० ओभरको विश्वकपमा सहभागी हुन लागेको हो।
- फेब्रुअरी ८ : इङ्ग्यान्डसँग, वानखेडे रङ्गशाला, मुम्बई
- फेब्रुअरी १२ः इटलीसँग, वानखेडे रङ्गशाला, मुम्बई
- फेब्रुअरी १५: वेस्ट इन्डिजसँग, वानखेडे रङ्गशाला, मुम्बई
- फेब्रुअरी १७ः स्कटल्यान्डसँग, वानखेडे रङ्गशाला, मुम्बई
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















