एशिया कप क्रिकेटमा पाकिस्तानसँग भिड्दा 'भारतीय खेलाडीहरूद्वारा हात मिलाउन अस्वीकार'

भारत पाकिस्तान क्रिकेट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुरुष क्रिकेटमा पाकिस्तानविरुद्ध भारतको यो लगातार छैटौँ जित थियो।
    • Author, म्याथु हेन्‌री
    • Role, बीबीसी खेलकुद संवाददाता

गत एप्रिलमा दुई देशबीच द्वन्द्व चर्किएयता पहिलोपटक भेट्दा भारतीय क्रिकेट खेलाडीहरूले पाकिस्तानी खेलाडीसँग हात मिलाउन अस्वीकार गरेको पाकिस्तानका प्रशिक्षक माइक हेसनले दाबी गरेका छन्।

दुबईमा भएको एसिया कपमा भारतले सात विकेटले जित हासिल गरेको थियो।

जितलगत्तै कप्तान सूर्यकुमार यादव ब्याटिङ साझेदार शिवम दुबेले हात मिलाउनुको सट्टा (खेल सकिएपछि दुवै टीमले हात मिलाउने चलन भए पनि) तत्कालै मैदान छाडेका थिए।

त्यसपछि पाकिस्तानका खेलाडीहरू मैदानबाट बाहिर निस्कँदा भारतका खेलाडीहरू 'डगआउट'तिर हिँडेको देखिन्थ्यो। भारतका खेलाडीहरू पहिले नै ड्रेसिङ रुममा फर्किसकेका थिए।

टसका बेला समेत सूर्यकुमार र पाकिस्तानका कप्तान सलमान आगाबीच हात मिलाउने काम भएन।

कप्तान सूर्यकुमार यादवले टस जितेकोमा पाकिस्तानका कप्तान सलमान अली आगालाई बधाई समेत दिएनन्।

"स्वाभाविक रूपमा हामी खेलको अन्त्यमा हात मिलाउन तयार थियौँ," न्युजिल्यान्डका हेसनले भने। "हाम्रा प्रतिस्पर्धीले त्यसो नगरेकामा हामी निराश भयौँ।"

पाकिस्तान 'निराश'

पुरुष क्रिकेटमा पाकिस्तानविरुद्ध भारतको यो लगातार छैटौँ जित थियो।

तस्बिर स्रोत, Getty Images

खेलपछि बोल्ने क्रममा सूर्यकुमारले उक्त जितलाई "भारतले लैजाने उत्तम उपहार" भनेर व्याख्या गरे।

आफ्नो अन्तिम प्रश्नपछि उनले थपे: "हामी आतङ्कवादी हमलाका पीडितहरू र परिवारका साथमा छौँ र हाम्रो ऐक्यबद्धता प्रस्तुत गर्छौँ।

"हामी आजको जित निकै बहादुरी प्रस्तुत गरेका हाम्रा सबै सशस्त्र बलहरूलाई समर्पित गर्न चाहन्छौँ।"

उक्त प्रस्तुतिमा कुनै पनि पाकिस्तानी खेलाडीले बोलेनन्। हेसनले पछि बताए अनुसार आफ्ना कप्तान आगाले त्यसो नगर्ने निर्णय गर्नु भारतका तर्फबाट हात नमिलाउनुले गर्दा भएको थियो।

"हामी त्यहाँ हात मिलाउन गयौँ र उनीहरू पहिले नै ड्रेसिङ रुममा गइरहेका थिए," हेसनले भने।

"त्यो खेल सकिने निरस तरिका थियो। हामीले जसरी खेल्यौँ त्यसबाट निराश थियौँ तर निश्चय पनि हामी हात मिलाउन जान तयार थियौँ।"

तनावबीच कसरी भयो खेल?

कप्तान सूर्यकुमार यादवले टस जितेकोमा पाकिस्तानका कप्तान सलमान अली आगालाई बधाई समेत दिएनन्।

तस्बिर स्रोत, Getty Images

गत एप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाम नजिकै पर्यटकहरूमाथि भएको घातक आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चारदिने सैन्य द्वन्द्व भएको थियो।

भारतले उक्त हमलाका लागि पाकिस्तानलाई दोष लगाए तापनि त्यसलाई पाकिस्तानले अस्वीकार गरेको थियो।

त्यसपछि भारतले पाकिस्तान एवं पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि पाकिस्तानले जवाफी क्षेप्यास्त्र प्रहारहरू गरेको थियो।

दुई छिमेकी देशहरूबीच भएको दशकौँमा भएको सबैभन्दा खराब सैन्य भिडन्तमध्ये एकमा परेर दर्जनौँ मानिसहरू मारिए।

यी देशहरूले पहिले नै विश्व स्तरका प्रतिस्पर्धाबाहेक अन्य कुनै पनि क्रिकेटमा एक अर्कासँग खेलेका थिएनन्।

एसिया कप रद्द गर्न वा खेल बहिष्कार गर्न आह्वान गरिएपछि यस खेल अघि बढेको थियो।

यदि दुवै टोली अघिल्ला चरणमा पुग्न सकेमा यस एसिया कपमा भारत र पाकिस्तान पुनः आमने सामने हुन सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।