सन् २०२५ : भदौ (जेन जी) आन्दोलनदेखि विपिन जोशीको अस्थिपञ्जरसम्म

सिंहदरबारअगाडि नेपालको झण्डा देखाउँदै एक जेन जी प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

नेपालका लागि उथलपुथलपूर्ण सन् २०२५ मा विश्वभर समाचारका हेडलाइनमा नेपालका दुई समाचार महत्त्वका साथ छापिए। पहिलो: जेन जी आन्दोलन र त्यसको ठिक एक महिनापछि इजरेलमा हमासको आक्रमणमा ज्यान गुमाउने नेपाली युवा विपिन जोशीको अस्थिपञ्जर नेपाल आइपुगेको समाचार।

सेप्टेम्बर ८ र ९ तारिख (गत भदौ २३ र २४ गते) भएको जेन जी आन्दोलन चर्किँदा राजनीतिक दलले निर्वाचनमार्फत् बनाएको सरकार किनारा लाग्न पुग्यो र देशमा गैर राजनीतिक 'नागरिक सरकार' गठन भयो।

कुनै पनि आन्दोलनका क्रममा नेपालमा एकै दिन त्यति ठूलो मानवीय र भौतिक क्षति यसअघि कहिल्यै नभएको बताइन्छ।

उक्त आन्दोलनकै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संसद् विघटन भयो, जेन जीको म्यान्डेट अनुसार चुनावी सरकार बन्यो।

उक्त आन्दोलनले नेपालको राजनीतिकलगायत आर्थिक, सामाजिक, खेल, मनोरञ्जन लगायतका थुप्रै क्षेत्रलाई प्रभावित पारेको देखिन्छ।

संसद्, सिंहदरबार र सर्वोच्च अदालतदेखि विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, नेतालगायत व्यवसायी र सेलिब्रिटीका घर केही घण्टाकै अवधिमा जले।

राजनीतिक रूपमा उतारचढावपूर्ण रहे पनि कला र खेलकुदका क्षेत्रमा भने उपलब्धिपूर्ण रहेको जानकारहरू बताउँछन्।

नेपालमा सन् २०२५ मा भएका पाँच मुख्य घटनाक्रमहरूबारे हामी यहाँ उल्लेख गर्दै छौँ।

देशमा जेन जी आन्दोलनदेखि पहिलो महिला प्रधानमन्त्रीसम्म

सम्भवतः नेपालमा सन् २०२५ को राजनीतिक घटनाक्रम भन्ने बित्तिकै सबैले भदौ २३ गतेको जेन जी आन्दोलन सम्झिन्छन्। उक्त आन्दोलनले संसद्‌का दुई ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई सत्ताबाट बाहिर पुर्‍यायो।

त्यसपछि जेन जी प्रतिनिधिहरूले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की चुनावी सरकार प्रमुख बनिन्।

नेपालमा सरकारको कार्यकारी प्रमुख पदमा महिला पुग्ने विषय कतिपयले कल्पनै नगरेका बेला देशले पहिलो महिला प्रधानमन्त्री पाउनुलाई उपलब्धिका रूपमा हेर्नुपर्ने राजनीतिशास्त्री इन्द्र अधिकारी बताउँछिन्।

कार्की दलीय राजनीतिको प्रक्रिया वा प्रजातान्त्रिक अभ्यासबाट भन्दा पनि एकाएक भएको आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री बनेकी हुन्। तर विगतमा त्यस्तै आन्दोलनबाट पुरुष मात्रै आएको देखिरहँदा पहिलो पटक उक्त पदमा महिला पुग्नुलाई सकारात्मक रूपमा हेर्नुपर्ने अधिकारी ठान्छिन्।

तर भदौ २३ र २४ गतेको आन्दोलन क्रममा चुकाउनु परेको भौतिक र मानवीय मूल्य मात्र नभै त्यसले नेपालको राजनीतिमा धीर गतिमा भइरहेको प्रगतिमा एउटा गतिरोध ल्याइदिएको कतिपयको बुझाइ छ।

सन् २०२५ उतारचढावपूर्ण वर्ष रहेको अधिकारी बताउँछिन्।

राजनीतिको केन्द्रमा रहेका 'दलका शीर्ष नेताले आफूहरूले जे गरे पनि कसैले केही गर्न सक्दैन भन्ने मनोवृत्ति तोडिनु' लाई यो वर्षको उपलब्धिको रूपमा हेर्नुपर्ने बताउँछिन्।

"हामीले जे मन लाग्यो त्यही गर्न सक्छौँ भनेर मिलेमतोमा म्युजिकल चेयरजस्तो एकपछि अर्को अर्कोपछि अर्को गरेर आफू तीनबाहेक बाहिर नजाने परिस्थिति बनाएका थिए। त्यसलाई त गर्ल्यामगुर्लुममै बनाइदिएको छ। यो त आन्तरिक र्‍याडिकल परिवर्तन हो," उनले भनिन्।

"राजनीतिक संस्कारमा नै पछिल्लो पुस्ताले चुनौती दिएको छ। अघिल्लो पुस्ताको राजनीति गर्ने तौरतरिका, सङ्गठनमा भएको निराशाले गर्दा राजनीतिक सचेतना आएपछि आफैँले चुनेको नेता पनि हामी पाँच वर्ष कुर्दैनौँ भन्ने देखिन्छ।"

साथै चुनावको वातावरणमा देश अगाडि बढिरहँदा नयाँ आउन लागेकाहरूलाई पनि राजनीतिक घटनाक्रमले एउटा बलियो सन्देश दिएको उनी ठान्छिन्।

जेन जी आन्दोलनका क्रममा प्रहरीको तथ्याङ्क अनुसार ७६ जनाले ज्यान गुमाएका थिए भने सरकारी, निजी र व्यक्तिगत सम्पत्ति गरी अर्बौँको क्षति पुगेको थियो।

सन् २०२५ कै सन्दर्भमा राजसंस्था पक्षधर विभिन्न समूहले गरेको प्रदर्शन पनि सम्झिनुपर्ने घटनाका रूपमा छ।

राजतन्त्र पक्षधरको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बन्न पुग्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने प्रहरी र प्रदर्शनकारीहरूसहित कैयौँ घाइते भएका थिए।

दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

तस्बिर स्रोत, PA

गत भदौको तेस्रो साता सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको चौतर्फी आलोचना भएको थियो।

सामाजिक सञ्जाल सरकारको दर्ता प्रक्रियामा नआउँदासम्म बन्द गर्ने निर्णय सरकारले लिए लगत्तै त्यसबारे देशभित्र र बाहिर चर्को आलोचनाहरू भएका थिए।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायत भ्रष्टाचार र अनियमितताको मुद्दा उठाउँदै जेन जीहरू सडकमा उत्रिएका थिए।

अन्ततः त्यही आन्दोलन सुरु भएको भदौ २३ गते साँझ सरकारले आफैँले लगाएको प्रतिबन्ध खोलिदिएको थियो।

रेमिट्यान्समा रेकर्ड कति उत्साहजनक

रेमिट्यान्स अहिलेसम्मकै सबैभन्दा धेरै भित्रिएको तथ्याङ्क छ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढेको थियो।

रेमिट्यान्सले अर्थतन्त्रलाई राम्रो बनाए पनि त्यसका कारण सामाजिक र स्वास्थ्य क्षेत्रमा नेपालले ठूलो मूल्य चुकाउनुपरेको अर्थविद् डाक्टर पोषराज पाण्डे बताउँछन्।

"आर्थिक हिसाबले हेर्ने हो भने रेमिट्यान्स अहिलेसम्मकै धेरै भित्रियो। त्यसले सामाजिक जीवनमा पारेको असरचाहिँ म विष नै हो भन्छु," उनले भने।

"त्यसबाहेक नेपालले आइटी क्षेत्रमा निर्यातमा उल्लेखनीय काम गरेको छ।" अर्थतन्त्रका हिसाबले आइटीमा भएको निर्यातलाई सकारात्मक रूपमा हेर्नुपर्ने उनी ठान्छन्।

रेमिट्यान्ससँगै जोडिएको अर्को घटना विपिन जोशीको अस्थिपञ्जर भित्रिनु थियो।

इजरेल हमासको द्वन्द्वमा हमासको कब्जामा अज्ञात अवस्थामा रहेका विपिन जोशीको शव कात्तिकको पहिलो साता नेपाल भित्रिएको थियो।

अध्ययनको सिलसिलामा इजरेल पुगेका कञ्चनपुरका जोशी सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका थिए।

कमाउन बाहिरिएका लाखौँ नेपालीमध्ये दैनिक नै करिब ३ जनाको शव भित्र्याउनुपर्ने दर्दनाक अवस्थामा नेपाल रहेको छ।

नेपाली सिने जगत्‌मा देखिएको परिवर्तन

अभिनेता विजय बराल
तस्बिरको क्याप्शन, नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र पूर्णबहादुरको सारङ्गीका प्रमुख पात्र विजय बराल

कुनै बेला नेपाली चलचित्र आक्कलझुक्कलबाहेक हलमा लामो समय टिकाउन गाह्रो पर्ने गरेको सिनेकर्मीहरूको अनुभव छ। हिन्दी चलचित्रको तुलनामा नेपाली चलचित्रलाई टिकाइराख्न हम्मे हम्मे पर्ने गरेकोमा पछिल्लो वर्ष त्यसमा परिवर्तन देखापरेको चलचित्र विकास बोर्डका एक सदस्य सन्तोषबाबु लोहनी बताउँछन्।

सन् २०२५ मा नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीले सर्वाधिक धेरै पैसा कमाउने चलचित्रको सूचीमा आफ्नो नाम दर्ज गर्‍यो। सन् २०२४ को अन्तिमतिर रिलिज भएर लामो समय हलमा चलेको उक्त चलचित्रले नेपालभित्रमात्रै करिब ४६ करोड ९७ लाख रुपैयाँ कमाएको नेपाल चलचित्र विकास बोर्डले जनाएको छ।

त्यसपछि उल्लेख्य कमाइ गर्ने चलचित्रमा कबड्डी-४, १२ गाउँ, परान, छक्कापञ्जा-४ रहेका छन्।

सन् २०२५ मै रिलिज भएको परान चलचित्रले १७ करोड ६८ लाख रुपैयाँभन्दा बढी कमाएको चलचित्र विकास बोर्डले जनाएको छ।

विकास बोर्डका सदस्य तथा चलचित्र निर्देशक सन्तोषबाबु लोहनी अहिले नेपाली चलचित्रहरूले 'ऐतिहासिक कलेक्सन' गरेको बताउँछन्।

"विगतमा फर्मुलावाला चलचित्रहरू चल्थे भने अहिले फरक धारका मौलिक विषयवस्तु समेटिएका चलचित्रहरू चल्न थालेका छन्," लोहनीले भने।

"यो नेपाली चलचित्र जगत्‌का लागि एकदमै सुखद कुरा हो। विगतमा हलमा हिन्दी चलचित्र लाग्दा नेपाली चलचित्र टिकिरहन गाह्रो हुन्थ्यो। अहिले हिन्दी चलचित्र भन्दा नेपाली चलचित्रले लामो समय प्रदर्शन हुनेमा सफलता हासिल गरेको छ।"

क्रिकेटको सफलतादेखि राष्ट्रिय खेलकुदको प्रतीक्षासम्म

महिला क्रिकेट टोली विश्वकप छनोटमा पुगेपछि

तस्बिर स्रोत, CAN

करातेकी एरिका गुरुङले पदक जितेर सुरु गरेको सन् २०२५ को नेपाली खेलकुदको सफलताको यात्रा वर्षको अन्त्यमा बक्सिङ खेलाडी चन्द्र थापाले जितेको पदकसँगै टुङ्गिएको छ।

यसबाहेक सन् २०२५ को बाँकी समयको चर्चा र सफलता क्रिकेटले बटुलेको देखिन्छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय क्रिकेटमा प्राप्त सफलता हेर्दा यो वर्ष क्रिकेटको सुखद् वर्षभन्दा फरक पर्ने देखिँदैन।

सुरुआत करातेकी खेलाडी एरिका गुरुङले अफ्रिकाको मोरोक्कोमा सम्पन्न कराते वान प्रिमिअर लीगमा कांस्य पदक जित्न सफल भइन्।

एकपछि अर्को सफलता प्राप्त गर्दै आएकी एरिकाले विश्वको शीर्ष कराते लीग मानिने उक्त प्रतियोगिताको ६८ केजीमाथि तौल समूहमा फ्रान्सकी क्लेमेन्स पिएलाई ६-२ ले हराएर सो उपलब्धि पाएकी हुन्।

क्रिकेटको सफलताको सुरुआत महिला टोलीबाट भयो। मे महिनामा थाइल्यान्डको ब्याङ्ककमा भएको महिला टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटमा ९ एसियाली देश बिच भएको प्रतिस्पर्धामा नेपाली टोली उपविजेता बन्दै विश्वकप क्वालिफायरमा पुगेको हो।

महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाएको यो अहिलेसम्मको ठूलो उपलब्धि हो। यसको थप उपलब्धि के रह्यो भने विश्वकप क्वालिफायरको खेल नेपालले नै आयोजना गर्ने मौका पाएको छ। खेल यही ज्यानुअरीको दोस्रो साताबाट कीर्तिपुर रङ्गशाला र मूलपानी मैदानमा हुँदैछ। नेपाल क्रिकेट सङ्घले पाएको यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको ठूलो प्रतिस्पर्धा हो।

पुरुष टोलीले लगातार दोस्रो पटक टी-२० विश्वकपमा छनोट भएर धूम मच्चायो। गत अक्टोबरमा ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पिअन बन्दै नेपालले भारत र श्रीलङ्कामा हुने विश्वकपमा छनोट भयो।

नेपालले दोस्रो पटक लगातार विश्वकपमा छनोट भएको हो भने समग्रमा तेस्रो पटक। त्यसअघि सन् २०१४ मा नेपाल पहिलो पटक २० ओभरको विश्वकपमा पुगेको थियो।

वर्षको अन्त्यमा भने बक्सिङ खेलाडी चन्द्रबहादुर थापाले आइबा पुरुष विश्व बक्सिङ प्रतियोगितामा कांस्य जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचे।

पदकसँगै ७५ हजार अमेरिकी डलर अर्थात् झन्डै १ करोड ८ लाख रुपैँया जितेर उनी व्यक्तिगत सर्वाधिक नगद पुरस्कार जित्ने नेपाली खेलाडी पनि बन्न सफल भए।

यसै महिनाको डिसेम्बर ३ देखि १४ तारिखसम्म यूएईमा भएको प्रतियोगितामा चन्द्रले ५४ केजी तौल समूहमा अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य जितेका थिए।

खेलाडीहरूको यो उपलब्धि माझ वर्ष २०२५ मा प्रमुख खेल निकायमा भने थुप्रै अस्पष्टता कायम नै रहेको देखियो।

नेपाल ओलिम्पिक कमिटीको विवादका बीच यसै वर्ष ओलिम्पिक भवनमा ताला लागेको अवस्था छ।

लामो समयदेखि घोषणा गरिँदै आएको नेपाली घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतिस्पर्धाको रूपमा रहेको १० औँ राष्ट्रिय खेलकुद हुन सकेन।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा भन्छन्, "नेपाली खेलकुदमा खेलाडीहरूले प्राप्त गर्ने गरेको सफलता यो वर्ष पनि जारी नै रह्यो। खेलाडीको मेहनत प्रशंसनीय रह्यो। तर खेलकुद निकायको विवादले भने यो वर्ष न जारी नै छ। त्यो भने दुखद हो।"

(खेलकुदसम्बन्धी जानकारी निरञ्जन राजवंशीको सहयोगमा।)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।