विपिन जोशी: विवरण दिँदै 'खोजी गरिदिन' नेपालले गर्‍यो कतारलाई आग्रह

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको “हुनसक्ने” बताइएपछि नेपाल सरकारले उनलाई छुटाउन पहल सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

मृतकहरू सबैको शव पहिचान भइसकेको र त्यसमध्ये केही शवहरू नेपाल ल्याइसकिएको अधिकारीहरूले जानकारी दिएका छन्।

हमासको नियन्त्रणमा रहेको ठानिएकाले जोशीलाई छुटाउने पहल गरिदिन नेपालले कतार सरकारलाई आग्रह गरेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

कतारलाई नेपालको आग्रह

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले “जोशी हमासको नियन्त्रणमा रहेको भन्ने खालको खबर आएपछि” आफूहरूले त्यहाँको विदेश मन्त्रालयलाई उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताए।

ढकालले बीबीसीसँग भने, “हामीले उनको परिवारसँग आवश्यक कागजातसमेत मागेर यहाँको विदेश मन्त्रालयलाई उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छौँ। उहाँहरूलाई हामीसँग प्राप्त भएको विवरण र सूचना पनि उपलब्ध गराएका छौँ।”

ढकालका अनुसार गत साता कतारको विदेशमन्त्रालयलाई त्यस्तो आग्रह गरिएको हो। कतार सरकारले पनि नेपाली नागरिकको मुक्तिका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको ढकालले बताए।

हमाससँग कुराकानी गरेर कतारले केही पश्चिमी देशका नागरिकहरूलाई मुक्त गराएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यस्तै पहल नेपाली नागरिकका लागि पनि कतारले गरिदेओस् भनेर आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताए।

हमासले इजरेलमाथि आक्रमण गर्दा २४० जनाभन्दा बढी मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएर गएका थिए।

त्यसमध्ये अधिकांश इजरेली नागरिक रहेको र केही विदेशी पनि भएको बताइएको थियो।

यसै साताको सुरुमा इजरेलले स्थल कारबाही सुरु गरेपछि हमाससँग मध्यस्थता गरेर उनीहरूको नियन्त्रणमा रहेका मानिसहरू छुटाउने प्रयास कठिन बनेको कतारले बताएको थियो।

थाइल्यान्डले भने हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिक छुटाउन सिधै हमाससँग संवाद गर्ने खबर आएको छ।

विपिन जोशीका परिवारको गुहार

हमासको आक्रमणपछि हराइरहेका जोशी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका हुन्।

बीबीसीसँगको कुराकानीमा उनकी आमा पद्मा जोशीले उक्त आक्रमण भएकै दिन दिउँसो छोरासँग सम्पर्क भएको स्मरण गरिन्।

उनले यसै साता भनेकी थिइन्, “केही कुरा सिक्न र पढ्न गएको मेरो छोरासँग सम्पर्क नभएको २५ दिन भइसक्यो।”

"यदि बन्धक नै बनाइएको हो भने पनि विपीनको छिटो रिहाइ गरिदिनुहोस्।"

यसैबीच बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले जोशीको रिहाइका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै उनले भने, “नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनको उद्धार गर्न सकिने सम्भावना औँल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।”

इजरेल कसरी पुगे नेपाली विद्यार्थी?

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरेल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

इजरेलमा नेपालीको सङ्ख्या

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।