जेन जी प्रदर्शनकारीविरुद्ध घातक बल प्रयोग भएपछि राष्ट्रसङ्घ र विभिन्न देशले के भने

तस्बिर स्रोत, Reuters
नेपालमा युवा पुस्ताले गरेको सडक आन्दोलनका क्रममा प्रहरीले घातक बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएपछि सोमवार संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले शीघ्र र पारदर्शी अनुसन्धानको लागि आह्वान गरेको छ। नेपालस्थित विभिन्न नौ देशका दूतावासले पनि उक्त घटनाप्रति आफूहरू "संवेदनशील भएको" जनाएका छन्।
उक्त कार्यालयकी प्रवक्ता रबिना शम्दसनीद्वारा जारी विज्ञप्तिमा जेन जी पुस्ताले आयोजना गरेको विरोधप्रदर्शनका क्रममा सुरक्षा बलहरूले अनावश्यक वा असमान रूपमा बल प्रयोग गरेको निकै चिन्ताजनक आरोप लागेको भन्दै अधिकारीहरूलाई "शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान" गरिएको छ।
"सबै सुरक्षा बलहरूले कानुन कार्यान्वयन अधिकारीहरूको बल तथा अस्त्र प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्छ," उक्त विज्ञप्तिमा भनिएको छ।
भारतीय विदेश मन्त्रालयले नेपालमा विकसित घटनाक्रमलाई "नजिकबाट नियालिरहेको" जनाउँदै कैयौँ मानिसको ज्यान गएको अवस्थाप्रति "गहिरो दुःख" व्यक्त गरेको छ।
जेन जी भनिने युवा पुस्ताको अग्रसरतामा नेपालमा हुने राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा सोमवार सडक आन्दोलन थालेका थिए।
नौ देशका दूतावासले के भने
अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया गणतन्त्र, ब्रिटेन, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावाद्वारा जारी उक्त संयुक्त विज्ञप्तिमा "हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त" गरिएको छ।
"हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ," त्यसमा भनिएको छ।
"हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ।"
नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा भएका प्रदर्शनमा इटहरीमा दुई जनासहित राजधानीमा मानिसहरूको मृत्यु भएको थियो।
दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते समेत भएकामा केहीको अवस्था गम्भीर रहेको विवरणहरू आएका छन्।
राष्ट्रसङ्घ के भन्छ

तस्बिर स्रोत, Reuters
राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको विज्ञप्तिमा नेपालमा जीवन्त लोकतन्त्र र सक्रिय नागरिक 'स्पेस' रहेको उल्लेख गर्दै युवाहरूको चासोलाई सम्बोधन गर्ने उत्तम माध्यम संवाद भएको जनाइएको छ।
"हामी नेपालको मानव अधिकार दायित्वहरूको पालना हुने गरी सामाजिक सञ्जाललाई नियमन गर्ने उपायबारे पुनर्विचार गर्न आग्रह गर्छौँ।"
राष्ट्रसङ्घीय बालकोष यूनिसेफले समेत सोमवारका प्रदर्शनमा बालबालिकाविरुद्ध हिंसा भएका विवरणप्रति आफ्नो "गम्भीर ध्यानाकर्षण" भएको जनाएको छ।
"बालबालिकाविरुद्ध बल प्रयोग अस्वीकार्य छ र यो तत्कालै बन्द गर्नुपर्छ," यूनिसेफ नेपालले एक्समा लेखेको छ।
"राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धीको पक्षधर राज्यका रूपमा सङ्गठित र शान्तिपूर्ण रूपमा भेला हुने बालबालिकाको अधिकारको सम्मान गर्नु नेपालको दायित्व हो।"
सोमवार जीउधनको क्षति भएपछि सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारका प्रवक्ताले बताइसकेका छन्।
एम्नेस्टी इन्टरन्याश्नलद्वारा 'कडा भत्सर्ना'
एम्नेस्टी इन्टरन्याश्नल नेपालका निर्देशक नीराजन थपलियाले एउटा विज्ञप्ति जारी गरी गैरकानुनी रूपमा घातक र गैरघातक बल प्रयोग गरेका कारण भएका मृत्यु र गम्भीर घाइते हुने गरी भएका घटनाको "कडा भर्त्सना" गरेका छन्।
"हामी अधिकारीहरूलाई अधिकतम संयम अपनाउन र वैधानिक लक्ष्य प्राप्तिका लागि बिल्कुल आवश्यक पर्ने मात्रै तथा समानुपातिक बल प्रयोग गर्नका लागि आह्वान गर्दछौँ," विज्ञप्तिमा भनिएको छ।
"नेपाल सरकारले मृत्युका सबै घटनाहरूमा पूर्ण, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी जिम्मेवार सबैलाई फौजदारी अभियोजन समेतका आधारमा पूर्ण जबाफदेह बनाउनुपर्दछ।"
भ्रष्टाचार र नेपालमा सामाजिक सञ्जालका साथै अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारद्वारा लगाइएको प्रतिबन्धलाई शान्तिपूर्ण तवरमा विरोध गर्ने र आफ्नो निराशा र आक्रोश अभिव्यक्त गर्ने अधिकार विरोधकर्ताहरूमा रहेको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।
"नेपालका अधिकारीहरूले अन्तर्राष्ट्रिय कानुन तथा आफ्नै संविधानमा वाचा गरिएको प्रतिबद्धताहरूअनुसार मानिसको शान्तिपूर्ण भेला हुने स्वतन्त्रता तथा अनलाइन र अफलाइन दुवै स्थलमा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको पूर्ण सम्मान गर्नुपर्छ र सबै विरोधकर्ताहरूमाथि थप हानि हुनबाट रोक्नुपर्दछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








