गृहमन्त्री रमेश लेखकले राजीनामा बुझाए, सरकारविरोधी प्रदर्शनमा भएको हिंसाका बारे छानबिन समिति गठन गर्ने

गृहमन्त्री रमेश लेखक

तस्बिर स्रोत, Ramesh Lekhak Secretariat

'जेन जी' प्रदर्शनका क्रममा प्रशासनबाट भएको बल प्रयोगमा कम्तीमा १९ जनाको मृत्यु भएपछि तीव्र आलोचनाको सामना गरिरहेको सरकारका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका बताइएको छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमवार अबेर राजीनामा बुझाएका विवरणहरू प्राप्त भएका छन्। यद्यपि प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गर्न बाँकी रहेको बैठकमा सहभागी दुई मन्त्रीले केहीबेर अघि बीबीसीलाई जानकारी दिएका थिए।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने गृहमन्त्रीले 'प्रधानमन्त्रीलाई [राजीनामा] बुझाएको हुन सक्ने' तर गठबन्धनको सरकार भएकाले त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको बीबीसीसँग बताए।

थप निर्णय

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले 'जेन जी' प्रदर्शनका क्रममा भएका घटनाहरूका सन्दर्भमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए। त्यस्तै मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई जिम्मा दिइएको उनले बताए।

राजनीतिक भ्रष्टाचार र सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्धको विरोधमा आफूलाई 'जेन जी' भनेर चिनाउने नवयुवा पुस्ताले सामाजिक सञ्जालबाट आह्वान गरेको प्रदर्शनमा प्रशासनले दमन गरेको थियो।

मारिने र घाइते हुनेमा विद्यालयकै पोसाकमा रहेका विद्यार्थी पनि रहेको विवरण आएका छन्।

यसअघि भिजिट भिसा प्रकरणमा आरोपित व्यक्तिलाई संरक्षण गरेको आरोप लगाउँदै विपक्षी दलहरूले मन्त्री लेखकको राजीनामा माग गरेका थिए।

गएको चैत १५ गते राजसंस्था पक्षधर समूहले आयोजना गरेको प्रदर्शनका क्रममा पनि अनावश्यक बल प्रयोग भएको भन्दै उनको आलोचना भएको थियो।

केएमसी अस्पतालको आकस्मिक उपचार कक्षमा चिकित्साकर्मीहरूको घुइँचो
तस्बिरको क्याप्शन, काठमाण्डूका विभिन्न अस्पतालमा ठूलो सङ्ख्यामा बिरामीहरूलाई भर्ना गरिएको छ

सामाजिक सञ्जालमा प्रतिबन्ध खुलाउन कांग्रेसका मन्त्रीको माग

मन्त्रिपरिषद्‌को बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठकमा नेपाली कांग्रेसका तर्फबाट सहभागी केही मन्त्रीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने धारणा राखेका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सूचीकरण नभईकन प्रतिबन्ध खोल्न नसकिने अडान लिएको ती मन्त्रीले बताए।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयबारे पुनर्विचार हुन सक्ने बताएका थिए।

तर बैठकमा त्यसबारे कुनै निर्णय नभएको सहभागी एक मन्त्रीले बताएका छन्।

जेन जी प्रदर्शनका क्रममा पानीको फोहरा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।