मनमोहक हिमालहरू देख्नै कठिन हुँदै जानुका कारण

- Author, नवीन सिंह खड्का
- Role, वातावरण संवाददाता – बीबीसी विश्व सेवा
म नेपालको राजधानीमा हिमाल हेर्दै हुर्किएँ। उक्त स्थान छाडेयता मलाई धरतीकै उच्च हिमालय पर्वतका सानदार र मनमोहक दृश्यहरूको सम्झना आउने गर्छ।
हरेक पटक काठ्माण्डू जाँदा म पर्वतमालाका अद्भूत झलक देख्न पाउने आशा गर्छु। तर अचेल भाग्यले प्राय: साथ दिँदैन।
हालै एप्रिलमा गरिएको यात्राका क्रममा म बसेको होटेल मौसम खुलेका दिन हिमाल देख्न सकिने ठिकठाकको उचाइमा अवस्थित थियो। तर यसपालि दुई साताको बसाइका क्रममा एक दिन पनि त्यसो भएन।
त्यति मात्रै होइन, हिमालयका दृश्य हेर्नकै निम्ति परिचित र काठमान्डूभन्दा अलिकति बाहिर अवस्थित नगरकोटबाट समेत हिमालको अस्तित्व नै नभएझैँ तुवाँलोबाहेक केही देखिएन।
"अब म पहिलेझैँ 'सूर्योदय, सूर्यास्त र हिमालयका दृश्यका निम्ति' भनेर यो ठाउँको ब्रान्ड गर्दिनँ", सन् १९९६ देखि यहाँ होटेल सञ्चालन गर्दै आएका योगेन्द्र शाक्यले भने।
यसरी हिमालहरू देख्नै मुस्किल हुनुको मुख्य कारण भनेको वायुप्रदूषणले यस क्षेत्रको आकाशमा व्याप्त तुवाँलो हो।
नेपाल, भारत, पाकिस्तान र भुटानजस्ता पर्वतमाला अवस्थित देशका पर्यटन उद्योग विश्वभरिका लाखौँ मानिसहरूलाई आकर्षित गर्न तिनमाथि अधिक निर्भर छन्।

तस्बिर स्रोत, Yogendra Shakya

"गत वर्ष एउटा कस्तो घटना भयो भने ट्रेकरहरूको एउटा समूहलाई हाम्रो गाइडले तुवाँलोका कारण हिमाल देखाउन नसक्दा क्षतिपूर्ति तिर्नुपर्यो," नेपालकी अग्रणी महिला ट्रेकिङ गाइडमध्येकी लकी क्षेत्रीले भनिन्।
वैज्ञानिकहरू यस क्षेत्रको तुवाँलोयुक्त स्थिति गम्भीर रूपमा बढ्दै गएको र लामो समयसम्म त्यस्तो स्थिति रहँदा 'भिजिविलिटी' उल्लेख्य रूपमा घट्ने बताउँछन्।
यस्तो तुवाँलो आगोबाट पैदा हुने धुवाँधुलोका कणहरूको समिश्रणबाट बन्छ। यस क्षेत्रको आकाशमा यस्तो स्थिति मुख्यगरी सुक्खायाममा उत्पन्न हुन्छ र जलवायु परिवर्तनको परिणामस्वरूप लामो अब समय रहन थालेको छ।
विज्ञहरूले पाँच हजार मिटरभन्दा कमको 'भिजिविलिटी'लाई तुवाँलोको स्थिति मान्छन्।
वर्षायामका बेला जुनदेखि सेप्टेम्बर महिनासम्म तुवाँलोले नभइ मनसुनी बादलहरूले ढाक्ने भएकाले हिमालयको 'भिजिविलिटी' कम हुन्छ।
त्यसैले अक्टोबरदेखि मेसम्मको अवधि परम्परागत हिसाबले व्यवसायका निम्ति उत्तम रहँदै आएको छ। यो समयमा वर्षा कम हुने भएकाले राम्रो दृष्यको अपेक्षा गर्ने गरिन्छ।
अचेल बाक्लो तुवाँलोले गर्दा डिसेम्बारबाटै दृष्य धमिलिन थालेको छ।

तस्बिर स्रोत, Yunish Gurung

निराश व्यवसायी र पर्यटक
अस्ट्रेलियाबाट आएका जोन क्यारोल सन् १९८६ यता दर्जनभन्दा अधिक पटक नेपाल आएका छन्।
"हिमाल देख्न नपाइनु निकै निराशाको कुरा हो", उनले भने।
"दश वर्षअघि यस्तो थिएन। अहिले तुवाँलोले ढाकिसकेको प्रतीत हुन्छ र यो मजस्ता आगन्तुकका निम्ति अति निराशाजक छ", क्यारोलले भने।
पश्चिम नेपालस्थित गण्डकी प्रदेशका 'ट्रेकिङ एजेन्ट्स असोसिएसन अफ नेपाल'का प्रदेश अध्यक्ष कृष्ण आचार्य ट्रेकिङ व्यवसाय गहिरो सङ्कटमा परेको बताउँछन्।
"हिमाल नदेखिनुको अर्थ व्यवसाय नचल्नु भएकाले हाम्रा व्यवसायीहरू निराश भइरहेका छन्। तीमध्ये धेरै पेशा परिवर्तन गर्नेबारे सोचिरहेका छन्," उनले बीबीसीसँग भने।
निरन्तर तुवाँलो
उत्तर भारतस्थित हिमान्चल प्रदेश तथा उत्तराखण्डका होटेल तथा टूर व्यवसायीहरू पहिलेको तुलनामा चाँडोचाँडो तुवाँलो लाग्नुका साथै अधिक घना हुँदै गएको बताउँछन्।
"पहिलेको तुलनामा अचेल लामो समयसम्म सुक्खा मौसम रहनुका साथै भीषण वर्षा हुने गर्छ। अनियमित वर्षाले गर्दा निरन्तर लामो समयसम्म तुवाँलो रहन्छ," उत्तराखण्डमा पर्यटनको क्षेत्रमा कार्यरत मलिक भिर्दीले भने।
तथापि उनको विचारमा पर्यटक पनि उत्तिकै दृढ छन्। "तिनले परिस्थितिलाई स्वीकारेको देखिन्छ। उनीहरूमध्ये धेरैले यसपालि आफ्नो भाग्य नभएको र हिमालले आफूलाई हेर्न पुन: आओस् भन्ने चाहेको ठान्छन् र पछि फेरि आउँछन् पनि," उनले भने।
सहरी क्षेत्रबाट तुलनात्मक रूपमा निकै टाढा भएकाले पाकिस्तानका पश्चिमी हिमालहरूमा तुवाँलोको कम प्रभाव छ।
तर पेशावर र गिलगिटजस्ता ठाउँबाट पहिलेपहिले सजिलै देखिने हिमालहरू अहिले प्राय: नदेखिने स्थानीयबासी बताउँछन्।
"तुवाँलोको पत्र लामो समयसम्म कायमै रहँदा हामीले पहिलेझैँ हिमालहरू देख्न पाउँदैनौँ," पाकिस्तानको वातावरणीय सुरक्षा निकायका पूर्वप्रमुख आशिफ शुजाले भने।

तस्बिर स्रोत, Lucky Chhetri
एउटा दुष्चक्र
दक्षिण एसियाका केही सहरहरू लगातार विश्वका उच्च वायु प्रदूषण भएका सहरका सूचीको शीर्ष स्थानमा रहँदै आएका छ्न्।
सवारी साधन र औद्योगिक उत्सर्जन, भौतिक संरचना निर्माणका क्रममा निस्किने धुलो र धुले कच्ची सडक तथा खुला रूपमा फोहोर जलाइनु आदि वर्षभरको वायु प्रदूषणका मुख्य स्रोत हुन्।
डढेलो लाग्दा पैदा हुने कण तथा उत्तर भारत, पाकिस्तान तथा नेपालमा सुख्खा मौसममा कृषि अवशेष जलाउँदा उत्पन्न हुने कणहरू अगावैदेखि वायुमा रहेका प्रदूषकसँग मिसिन पुग्छन्।
जलवायु सङ्कटको परिणामस्वरूप लामो समयसम्म कायम रहने गम्भीर सुक्खायामको स्थितिले गर्दा यस क्षेत्रमा डढेलोको घटनामा उल्लेख्य वृद्धि भएको छ।
चिसो हावाको तहमाथि तातो हावा रहने एक किसिमको मौसमी अवस्थाका कारण प्रदूषक तत्त्व र हावा तलमाथि गर्न नसक्ने परिस्थिति पैद हुन्छ र प्रदूषण अन्यत्र फैलिएर कमजोर हुने स्थिति बन्न मुस्किल हुन्छ।
"दक्षिण एसियामा तुँवालो र धुलोको हुरी चल्ने क्रम बढिराखेको छ र जलवायु परिवर्तन तथा अन्य कारणहरूले गर्दा यो स्थिति जारी रहने आकलन गरिएको छ," साउथ एसिया मेटेरोलजिकल असोसिएशनका डाक्टर सोमेश्वर दासले बीबीसीसँग भने।

तस्बिर स्रोत, Yuvaraj Shrestha
काठमाण्डूमा हालै गरिएको एउटा अध्ययनले सन् २००० यता डिसेम्बर, ज्यानुअरी र फेब्रुअरी महिनाका लगभग सबैजसो दिन तुवाँलोयुक्त रहेको देखायो। सन् १९९० को दशकमा यो आँकडा ६० प्रतिशतको आसपास थियो।
नेपालको जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालको पर्यटकीय केन्द्र पोखराको विमानस्थलमा सन् २०२४ मा १६८ दिन तुवाँलो लागेको थियो। यो सन् २०२० को तुलनामा २३ दिनले र सन् २०२१ को तुलनामा ८४ दिनले धेरै हो।
तथापि तुवाँलोयुक्त दिनका सम्बन्धमा क्षेत्रीय स्तरका विस्तृत र तुलनात्मक तथ्याङ्कहरू उपलब्ध छैनन्।
विज्ञहरू अधिक जनसङ्ख्यायुक्त क्षेत्रमा अवस्थित भएकाले यी हिमालयहरू सम्भवत: अधिक प्रभावित पर्वतमाला हुन सक्ने बताउँछन्।
यसको अर्थ यी हिमालका शानदार दृष्यहरू अब व्यापक मात्रामा फोटो, पेन्टिङ, र पोस्टकार्डहरूमा सीमित हुन सक्छन् भन्ने हो।
"पैसा खर्चेर आएका सेवाग्राहीलाई हिमाल देखाउन नपाउँदा हामी हिनताबोधका साथ व्यवसाय गर्न विवश छौँ," पश्चिम नेपालको सुन्दर पर्यटकीय केन्द्र पोखरामा धेरै महिलाहरूलाई तालिम दिएकी क्षेत्रीले भनिन्।
"हामीले तुवाँलो हटाउनका निम्ति केही गर्न सक्दैनौँ पनि।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








