अण्डाको भाउ 'बढेको बढ्यै', यस्तो मूल्यवृद्धि कति स्वाभाविक

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा केही सातादेखि कुखुराको अण्डाको मूल्य पटकपटक बढेको गुनासो उपभोक्ताहरूले गरेका छन्।
कतिपयले अण्डाको मूल्यवृद्धिलाई "अस्वाभाविक" मानेका छन्। यद्यपि कुखुरापालक तथा अण्डा उत्पादकहरू "भाउ बढेको नभई कृषकले लागत मूल्य पाउन थालेको र पाँच महिनाअघिको अवस्थामा मूल्य पुगेको" दाबी गरेका छन्।
सरकारी अधिकारीहरूका अनुसार कृषकहरूले "लागत बढेको र उत्पादन घटेको" अवस्थाका कारण अण्डाको भाउ बढेको जानकारी गराएका छन्। तर कृत्रिम रूपमा कसैले मूल्यवृद्धि बढाएको पाइए कारबाही गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
एउटा अण्डाको कति पर्छ

तस्बिर स्रोत, PA Media
जानकारहरूका अनुसार कानुनी रूपमा कुनै पनि सङ्गठनले मूल्य मिलेमतो गर्ने उद्देश्यले भाउ तोक्न मिल्दैन। तर "कृषकहरूले लागत मूल्य पाऊन्" भनेर आफूहरूले "समर्थन मूल्य तोक्ने गरेको" नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए।
"हामीले कृषकहरूलाई लागत मूल्य लिन सजिलो होस् र उपभोक्ताले पनि जानकारी पाऊन् भनेर समर्थन मूल्य र त्यसमा लागेको ढुवानीसहितको खर्च जोडेर खुद्रा मूल्यको जानकारी दिने गरेका छौँ," उनले भने।
काठमाण्डू उपत्यकाभित्र अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँसम्म पुगेको विवरण आएको छ। सङ्घले भने अण्डाको खुद्रा मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा तोकेको पोखरेलले बताए।
उनका अनुसार ठूलो अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५७ पैसा पर्छ भने उनीहरूले १७ रुपैयाँ प्रतिगोटामा फार्मबाट बिक्री गर्ने गर्छन्। "त्यसको ढुवानी र अन्य लागत जोड्दा पसलेहरूले प्रतिगोटा १९ देखि २० रुपैयाँमा अण्डा पाउँछन् र खुद्रा बिक्री गर्दा २२ रुपैयाँ ५० पैसासम्ममा बिक्री गर्छन्," पोखरेलले भने।
'दक्षिण एशियामै महँगो'
हामीले दक्षिण एशियाली मुलुकहरू भारत, बाङ्ग्लादेश, श्रीलङ्का र पाकिस्तानस्थित बीबीसीका संवाददाताको सहयोग लिएर नेपाल र ती देशमा अण्डाको मूल्य तुलना गरेका छौँ।
बीबीसी संवाददाताहरूले आफूनजिकको किराना पसलमा गएर अण्डाको मूल्य सोधेका थिए। ती देशका सरकारी तथ्याङ्कले त अण्डाको मूल्य झन् बढी देखाएका थिए।
तर ती मूल्य केही समयअघिका भएकाले हामीले विभिन्न मुलुकमा रहेका संवाददाताहरूको सहयोगमा मूल्यको जानकारी लिएका थियौँ।
स्थानीय मूल्यलाई हामीले प्रचलित विनिमय दरअनुसार नेपाली रुपैयाँमा रूपान्तर गरेका छौँ।
के अहिलेको मूल्य सर्वाधिक हो
कुखुराको अण्डाको भाउ हालसम्मकै उच्च भएको गुनासो आइरहेका बेला पोखरेलले भने त्यो सत्य नभएको बताए।
उनले भने, "अण्डाको खास मूल्य बढेको होइन। पुरानो मूल्य बल्ल किसानले पाउन थालेको अवस्था हो। चार/पाँच महिनाअघि पनि मूल्य यस्तै थियो। त्यस बेला खासै चर्चा भएन। अहिले मात्र धेरै चर्चा भएको हो।"
उनले बारम्बार अण्डाको भाउ बढ्यो भनेर गलत हल्ला फैलाइएको दाबी गरे।
यद्यपि उनी अध्यक्ष रहेको सङ्घले नै विगत चार सातामा चार पटक अण्डाको भाउ परिवर्तन गरिसकेको छ।

मूल्यवृद्धिको कारण के हो
कृषक तथा उत्पादकहरूले भाउ बढ्नुको मुख्य कारण नै जाडो महिनामा अण्डाको खपत बढ्नु र उत्पादन घट्नु भएको बताएका छन्।
"पहिले दैनिक ४४ लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो। त्यो घटेर अहिले २२ देखि २३ लाख गोटामा सीमित भएको छ," नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले भने। "यसै बेला माग बढेको छ र त्यसले गर्दा मूल्यवृद्धि भएको हो।"
उनले जाडो मौसममा अण्डा पार्ने कुखुराले दानाको खपत पनि बढी गर्ने भएकाले लागत पनि बढेको बताए।
लेयर्स सङ्घका अध्यक्ष पोखरेलका अनुसार अहिले नेपालमा पर्यटकको सङ्ख्या बढ्नु, विद्यालय तथा कलेजहरूमा नियमित अण्डाको खपत हुनु, मानिसहरूले जाडोमा अण्डा धेरै खानुजस्ता विविध कारणले माग बढेको छ।
केसीका अनुसार उत्पादन घट्नुको एउटा कारण बीचमा अण्डाको भाउ निकै कम हुँदा धेरै कृषकहरू यो क्षेत्रबाट पलायन हुनु पनि हो।
गर्मी याममा तराई क्षेत्रमा पालिएका कुखुराहरू धेरै मर्ने गरेकाले अण्डा दिने कुखुराको सङ्ख्या नै निकै न्यून हुन पुगेको कतिपय कृषकहरू बताउँछन्।
बाराको निजगढस्थित मनकामना पोल्ट्री फार्मका सञ्चालक सुरेश खड्गीले भने, "मेरोमा ८,००० वटा कुखुरा थिए तर गर्मीका बेलामा तापक्रम मिलाउने खालको स्वचालित प्रविधि जडान गर्न नसक्दा ३,००० भन्दा बढी कुखुरा मरे।"
त्यसरी कुखुरा मर्दा पनि धेरै कृषक विस्थापित हुन पुगेको जानकारहरू बताउँछन्।
के भन्छ सरकारी निकाय

तस्बिर स्रोत, Reuters
उत्पादकहरूले बढेको मूल्य "उचित" भएको दाबी गरिरहेका बेला कतिपय सरकारी अधिकारीहरू नै अहिलेको भाउलाई "अस्वाभाविक" भन्छन्।
कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले भने, "अहिले माग धेरै भएको अवस्था देखिन्छ। तर त्यसो भयो भन्दैमा अहिले जसरी मूल्य बढेको देखिन्छ त्यसलाई स्वाभाविक मान्न सकिँदैन।"
"यस्तो देखेपछि हामीले उहाँहरूलाई लागतअनुसार मूल्य तोक्न र अस्वाभाविक मूल्यवृद्धि नगर्न सचेत गराएका छौँ।"
उनले कतिपय अन्न बाली तथा दूधको जस्तो मासु र अण्डाजन्य वस्तुको समर्थन मूल्य तोक्ने कानुनी व्यवस्था नभएकाले आफूहरूले सचेत मात्र गराएको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








