गोरखनाथ र गोरखकालीको पूजाअर्चनामार्फत् ज्ञानेन्द्र शाहले दिन खोजेको राजनीतिक सन्देश

फाल्गुन २५ गते पोखराबाट फर्किदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले स्वागत गरेका थिए

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाल्गुन २५ गते पोखराबाट फर्किदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले स्वागत गरेका थिए
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्नुको प्रतीकात्मक र राजनीतिक अर्थ रहेको उनका समर्थकहरूले बताएका छन्।

करिब दुई साताअघि पोखराबाट फर्कने क्रममा राजधानीमा ठूलो सङ्ख्यामा मानिसहरूबाट स्वागत पाएका पूर्वराजा त्यसयता पहिलो पटक राजधानीबाहिरको कार्यक्रममा शुक्रवार गोरखाका लागि निस्किएका हुन्।

यो भ्रमणअन्तर्गत उनी गोरखा दरबार पुग्ने र उनले गोरखनाथ, गोरखकाली र मनकामनाको दर्शन गर्ने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले एउटा सूचनामार्फत् जनाएका छन्।

नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्न लागेको छ र पछिल्ला वर्षमा देखिएको राजनीतिक अस्थिरताका माझ राजसंस्था पक्षधर शक्तिहरूले राजासहितको लोकतान्त्रिक व्यवस्था बहाल हुनुपर्ने माग गर्दै आन्दोलन अघि बढाउने घोषणा गरेका छन्।

गोरखामा पूर्वराजा के गर्दै छन्?

गोरखा दरबार फाइल फोटो
तस्बिरको क्याप्शन, गोरखा दरबार (फाइल तस्बिर)

दुई पटक राजा हुने अवसर पाएका ज्ञानेन्द्र शाहको अहिले हुन लागेको धार्मिक भ्रमणलाई राजसंस्था पुनर्स्थापनाका लागि उनका समर्थकहरूले अघि बढाएको अभियानसँग जोडेर धेरैले हेरिरहेका छन्।

पूर्वराजाको पूजाअर्चनाको व्यवस्थापनको लागि गोरखा दरबार पुगेका संस्कृतिविद् जगमान गुरुङले गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा हुने गरेको बताए।

तर राजपरिवारका सदस्यहरू स्वयं उपस्थित भएर यस पटक गर्न लागेको पूजाको विशेष अर्थ रहेको उनको भनाइ छ।

उनी भन्छन्, "राजपरिवारका सदस्यहरूले यहाँ आएर आफ्ना कुलगुरु गोरखनाथ र कुलदेवी गोरखकालीको दर्शन गर्नु नियमित प्रक्रिया हो। सशरीर नआए पनि उहाँहरूका नाममा यहाँ नित्यपूजा हुन्छ। तर कृष्णपक्षको चतुर्दशी वा अष्टमीमा कालीको पूजा गर्दा सफल होइन्छ भनेर शास्त्रले भन्छ। यस पटक चैत कृष्ण अष्टमी पनि शनिवार र शुक्ल अष्टमी वा चैते दशैँ पनि शनिवार भएकाले यो बेला आफ्नो दरबारभित्र छिरेर आफ्नो कुलदेवी गोरखकालीको पूजा गर्दा शक्ति प्राप्त हुन्छ।"

शुक्रवार अपरान्ह काठमाण्डूबाट सडकमार्ग हुँदै बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रले कुरिनटारमा रात बिताएका थिए।

पूर्वराजा शाहलाई गोरखा दरबारपछाडिको बसपार्कमा स्वागत गर्न ५०१ सदस्यीय समिति बनेको थियो।

शनिवार गोरखनाथ र कालिका भगवतीको पूजा गरेपछि उनले गोरखा पुगेर आफूलाई खुसी लागेको प्रतिक्रिया दिए।

"पुर्खाको थलो हो। यहाँका बासिन्दालाई भेट्दा पनि खुसी लागेको छ," पूर्वाराजा शाहले एभिन्यूज खबरलाई प्रतिक्रिया दिँदै भने।

"अहिले देशमा शान्ति चाहिएको छ। कोही डराउनु पर्दैन, कसैले पनि खराब नचिताओस् र भलो चिताओस् भन्ने मेरो कामना छ। देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ।"

आइतबार उनले मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भनिएको छ।

गोरखकाली मन्दिरका पुजारी शारदा भट्टराईले विसं २०६२/२०६३ सालको आन्दोलनपछि पूर्व राजपरिवारबाट पूजा सामग्री मात्र आउने गरेको बताए।

"बेलाबेलामा राजपरिवारका अन्य सदस्यहरू आउनुहुन्थ्यो। यसपटक चाहिँ स्वयं राजा आउन आउनुभएको छ," उनले भने।

गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्वराजाले गोरखामा गर्न लागेको भ्रमण अनौपचारिक भएको भन्दै सरकारी संयन्त्रहरूले नियमित रूपले काम गरिरहेको प्रतिक्रिया दिए।

उनले भने, "हामीले सबै परिस्थितिहरूको आकलन गरेर बसिरहेका हुन्छौँ। सुरक्षा संयन्त्रले नियमित ढङ्गले नै काम गरिरहेको छ।

राजावादी शक्तिहरूमा 'उत्साह'

पूर्वराजा ज्ञानेन्द्र शाहले 'देश जोगाउने हो भने आफूलाई साथ दिन' आह्वान गरेका थिए

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, पूर्वराजा ज्ञानेन्द्र शाहले 'देश जोगाउने हो भने आफूलाई साथ दिन' आह्वान गरेका थिए

एक महिना लामो पोखरा बसाइँपछि फाल्गुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट राजधानी फर्कँदा ठूलो सङ्ख्यामा उनका समर्थकहरू स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि त्यसले नेपालको राष्ट्रिय राजनीतिलाई नै तरङ्गित बनाइदिएको थियो।

उनको स्वागतमा देखिएको भिडलाई गणतन्त्र स्थापना भएयता राजसंस्थाको समर्थनमा देखिएको सबैभन्दा ठूलो उपस्थिति मान्ने गरिएको छ।

कतिपय विश्लेषकले त्यो उपस्थितिले पूर्वराजाको बढ्दो लोकप्रियता दर्शाएको बताएका थिए भने अन्य कतिले पछिल्ला वर्षहरूमा मूलधारका राजनीतिक शक्तिहरूप्रति बढेको वितृष्णा उक्त भिडमा प्रकट भएको टिप्पणी गर्दै आएका छन्।

त्यसयता राजावादी शक्तिहरूले राजतन्त्र पुनर्स्थापनाको लागि संयुक्त आन्दोलन थाल्ने तयारी अघि बढाएको बताएका छन् भने गणतन्त्र पक्षधर दलहरूले पनि 'परिवर्तन रक्षा' का लागि कार्यक्रमहरू गर्ने बताउँदै आएका छन्।

बिहीवार मात्रै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसबीचमा राजसंस्था पक्षधर विभिन्न दल र समूह सम्मिलित राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रिय पञ्यायतका पूर्व अध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा एउटा संयुक्त जनआन्दोलन समिति गठन गरिएको छ।

तर सल्लाह नगरी आफ्नो नाम राखिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले समितिमा नबस्ने बताएपछि उक्त समिति विवादमा परेको छ।

यस्तोमा उक्त समितिले पूर्वराजाको धार्मिक भ्रमणलाई लक्षित गरेर कुनै पनि कार्यक्रमहरू सार्वजनिक गरेको छैन।

तर उक्त समितिका सदस्यसचिवसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको यसपटकको गोरखा भ्रमणको 'प्रतीकात्मक' अर्थ रहेको बताउँछन्।

उनले बीबीसीसँग भने, "गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु गरेका थिए। अहिले राजा ज्ञानेन्द्रले राजसंस्थाको पुनर्स्थापनाको यात्रा सुरु गर्नुअघि गोरखनाथकै आशीर्वाद लिनुको ठूलो प्रतीकात्मक अर्थ छ।"

पूर्वराजाको सचिवालयले भ्रमणबारे सूचना जारी गर्दा ज्ञानेन्द्र शाहलाई 'श्री ५ महाराजधिराज'का रूपमा उल्लेख गरेको छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिहीवारको संसद्‌ बैठकमा पूर्वराजाले 'संविधानविपरीत' श्री ५ महाराजधिराज भन्दै सन्देश दिइरहेको र शाही निसाना प्रयोग गरिरहेको बताएका थिए। यस्तो काम बन्द गराउन उनले सरकारसँग माग गरेका थिए।

तर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र पूर्वराजाले संविधान नमिचेको बताउँछन्।

उनले भने, "पूर्वराजा महेन्द्र, पूर्वराजा पृथ्वीनारायण शाह भनिदैँन। जसरी महारानी एलिजबेथ भनिन्छ, अरूहरूको पनि त्यसै गरी राजा महेन्द्र, राजा पृथ्वीनारायण शाह भन्छन्। राजतन्त्र खारेज भएपछि कहिल्यै पनि शाही झण्डाको प्रयोग भएको छैन। शाही चिह्न प्रयोग नगर्नू भनेर संविधानले भनेको छैन।"

पूर्वराजालाई स्वागत गर्न उपस्थित भएका व्यक्तिहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

यसपालि प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा पूर्वराजाले 'देश जोगाउने हो भने आफूलाई साथ दिन' आह्वान गरेका थिए।

सन्देशमा "देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको" भन्दै शाहले असन्तोष व्यक्त गरेका थिए।

आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजा शाहले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।

"हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ," शाहको सन्देशमा उल्लेख थियो।

विगत केही सातामा ज्ञानेन्द्र बुटवलदेखि पोखरासम्म विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। ती कार्यक्रममा सर्वसाधारण नागरिकको "उल्लेख्य" सहभागिता देखिएको थियो।

काठमाण्डूमा उनले पाएको स्वागत तथा त्यसबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भएको चर्चाका कारण उनका समर्थक अझ उत्साहित देखिएका छन्।

अन्तर्राष्ट्रिय रूपमा नै परम्परागत विचारधारा राख्ने शक्तिहरू विश्व राजनीतिमा हाबी भइरहेको र नेपालको छिमेकमा पनि त्यस्तै खालको परिस्थितिहरू देखा परेका हुनाले पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रले थप सक्रिय हुने प्रयास गरेको कतिपय ठान्छन्।

टिप्पणीकार इन्द्रा अधिकारीले बीबीसीसँग भनिन्, "मठमन्दिर जाँदा भावनात्मक रूपमा मानिसहरूको मन जित्न सकिन्छ भन्ने पूर्वराजालाई लागेको हो। धर्म देखाएर मान्छेको भावनालाई आफ्नो पक्षमा पार्न सकिन्छ अनि समर्थन हासिल गर्न सकिन्छ भनेर उनले यस्तो प्रयास गरिरहेका हुन्।"

भारतमा हाल हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको नेतृत्वमा सरकार छ। पूर्व राजा ज्ञानेन्द्रले धार्मिक मुद्दा अघि सारेर उक्त शक्तिको समेत समर्थन पाउने उद्देश्यसहित 'राजनीतिक सक्रियता अघि बढाएको' अधिकारी ठान्छिन्।

तर नेपालमा राजतन्त्र फर्काउने मुद्दा 'असान्दर्भिक भइसकेको' उनले बताइन्। "देशमा राजाजस्ता धेरै नेताहरू भए भनेर मानिसहरू निराश भएका हुन्। तर अहिले फेरि राजा फर्काउनेजस्तो पुरातन कुरालाई मानिसहरूले स्वीकार गर्छन् भन्ने मलाई लाग्दैन।"

गोरखनाथसँग शाहवंशको कस्तो साइनो छ?

राजा पृथ्वीनारायण शाह

तस्बिर स्रोत, Madan Chitrakar

गोरखनाथलाई नेपालको पूर्वराजपरिवारले आफ्नो इष्ट देव मान्ने गरेको छ र किंवदन्तीहरूमा गोरखनाथकै आशीर्वाद पाएका कारण शाहवंशले राजकाज सम्हाल्ने अवसर पाएको उल्लेख गरिएका पाइन्छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका संस्कृतिविद् गुरुङ गोरखा वंशावलीमा समेत लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहसामु गोरखनाथ प्रकट भएको प्रसङ्ग उल्लेख गरिएको बताउँछन्।

द्रव्य शाहलाई उनकी आमाले गोठमा बस्न पठाएको उल्लेख गर्दै भिख माग्न आइपुगेका एक कनफट्टा जोगीलाई साउनको महिनामा उनले खीर खुवाएको गुरुङले चर्चा गरे।

"द्रव्य शाह चामल दिन गएका थिए। तर उनले म खीर खान्छु भनेपछि घाँटीसम्म आउने गरी उनले खीर भोजन गराए। ती व्यक्ति गोरखनाथ रहेछन्। अनि त्यसबेला तिमीलाई गोरखाको भोग र तिम्रा सन्तानलाई नेपालको भोग भनेर उहाँले आशीर्वाद दिनुभयो भन्ने किंवदन्ती छ।"

गोरखकाली मन्दिरका मूल पुजारी शारदा भट्टराई
तस्बिरको क्याप्शन, गोरखकाली मन्दिरका मूल पुजारी शारदा भट्टराई

नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहसामु पनि बाल्यकालमा गोरखनाथ प्रकट भएको किंवदन्ती पनि छ।

गुरुङका अनुसार गोरखा दरबार मुन्तिरको गुफामा पृथ्वीनारायण शाहसामु देखा परेका गोरखनाथले आफूलाई दही ल्याइदिन माग गरेका थिए।

राजा पृथ्वीनारायण शाहले आफ्नी आमासँग मागेर ल्याइदिएको दही गोरखनाथले खाएको र राजालाई हात थाप्न लगाएको विश्वास गरिन्छ।

गुरुङले भने, "अनि आफूले खाएको दही ओकलेर पृथ्वीनारायण शाहको हातमा राखिदिनुभयो, गुरु गोरखनाथले। घिन मानेर राजाले फ्याकिदिँदा त्यो उनको पाउमा पर्‍यो। त्यत्ति बेला गोरखनाथले यदि तिमीले यो खाएको भए तिम्रो भाग्य सिद्ध हुन्थ्यो, तिमिले खाएनौँ, तर तिम्रो पाउमा पर्‍यो, जहाँ जहाँ तिमीले टेक्छौँ त्यो तिम्रो हुन्छ भनेर वरदान दिएको हो भनेर गोरखा वंशावलीमा लेखिएको छ।"

कतिपयले नेपालको शाहवंश ११ पुस्तासम्म रहने आशीर्वाद गुरु गोरखनाथले राजा पृथ्वीनारायण शाहलाई दिएको विश्वास गर्छन्।

सन् २००१ मा नारायणहिटी राजदरबारमा राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएपछि राजा ज्ञानेन्द्र दोस्रो पटक राजा बनेका थिए।

दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको सत्ता ढलेर मुलुक गणतन्त्रमा जान लाग्दा गोरखनाथले शाहवंशबारे गरेका भनिएको भविष्यवाणीबारे चर्चा हुने गरेका थिए।

तर गुरुङजस्ता कतिपयले गोरखनाथले भन्दा पनि पृथ्वीनारायण शाहको पालामा काठमाण्डू जितेपछि उनी हनुमानढोकामा प्रवेश गर्न लाग्दा यस्तो कुरा उठेको बताउँछन्।

गुरुङले भने, "दरबार प्रवेश गरेपछि राजाले मैले दरबारमा प्रवेश गरेको साइत कतिको शुभ छ भनेर राजज्योतिषी कुलानन्द ढकाललाई प्रश्न गरेका थिए। त्यसपछि सात पुस्तालाई भोग पक्का छ, बाँकी विचार गरेर भनौँला भन्ने जवाफ उनले दिए। विचार गरेर बिन्ती गर्दा ११ पुस्ता पक्का भोग छ भने। एघार पुस्ताभन्दा माथि के गर्नुपर्छ भन्दा गोरखनाथ र गोरखकाली देवीको सेवा गर्नुपर्छ भनेका थिए।"

नेपालमा राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्रको स्थापनाका लागि आगामी वैशाखमा गोरखा दरबारमा आफूहरूले दुईदिने अनुष्ठान आयोजना गर्न लागेको बताउने गुरुङ भन्छन् "अहिले गोरखकालीको, गोरखनाथको र वज्रभैरवको पूजा गरेर राजाले केही सोच बनाएको हुन सक्छ भनेर आकलन हामी गर्न सक्छौँ। त्यो भनेको नेपालमा राजा र धर्मको स्थापना गर्ने नै हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।