राजतन्त्रका पक्षमा भएको प्रदर्शनपछि प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता प्रचण्डद्वारा प्रतिवाद

कोशी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै भएका प्रदर्शनबारे प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित प्रमुख दलका नेताहरूले प्रतिक्रिया जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राजधानीमा भएको प्रदर्शनबारे टिप्पणी गर्दै अहिलेको भन्दा राम्रो प्रणालीमा छलफल गर्न आफूहरू तयार रहेको बताएका छन्। कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र पक्षधर शक्तिहरूको प्रदर्शनलाई "स्वार्थप्रेरित" भएको आरोप लगाए।

राजतन्त्र पक्षधर समूहहरूले शक्ति प्रदर्शन गरेपछि संसद् र सामाजिक सञ्जालमा राजतन्त्रात्मक शासन व्यवस्थाको पक्ष र विपक्षमा बहस भइरहेको छ।

मङ्लवार नै प्रतिनिधिसभामा बोल्दै नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ पार्टीहरूको आलोचना गर्दै "राजतन्त्र पक्षधर शक्तिहरूलाई पनि लोकतन्त्रभित्रै आफ्नो ठाउँ" खोज्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले शान्तिपूर्ण, संवैधानिक लोकतान्त्रिक प्रणालीको बाटोबाट मात्रै अर्को कुनै विकल्पमा जान सकिने बताए।

"अहिले व्यवस्थाविरुद्ध, संविधानविरुद्ध पनि आवाज उठ्न खोजेको देखिन्छ। तर अस्पष्ट के छ भने - चाहियो के त? योभन्दा राम्रो प्रणाली कुनै छ भने ठिक छ। राम्रो प्रणालीमा छलफल गरौँ न त," ओलीले भने।

"जसो पायो त्यसै एकाध व्यक्तिका स्वार्थपछाडि देश लाग्न सक्दैन। राम्रो प्रणाली के हो? त्यो सुधारका लागि त सधैँ संविधान तयार छ, सरकार तयार छ र सार्वभौम जनता तयार छ।"

कोशी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

ओलीले नागरिक सर्वोच्चता भएको प्रणाली संविधानले सुनिश्चित गरेका कारण अन्य कुनै वादतर्फ नेपाल नजाने बताए।

"सर्वसम्मतजस्तै गरेर बनेको ६०१ को दुई-दुई पटकको संविधानसभाबाट बनाइएको संविधानमा हामीले व्यवस्था गरेका छौँ कि जनता सार्वभौमसत्तासम्पन्न छ," ओलीले भने।

प्रधानमन्त्री ओलीले संविधानभित्रैबाट संसद्को दुईतिहाइ बहुमतबाट राजनीतिक समाधान खोज्न राजतन्त्र पक्षधर शक्तिलाई चुनौती दिए।

गणतन्त्रमा 'सत्ताधारी गठबन्धनबाटै खतरा'

प्रतिनिधिसभामा बोल्दै पुष्पकमल दाहाल प्रचण्ड

तस्बिर स्रोत, Prachanda Secretariat

यता प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनसँग रहेको दुईतिहाइ बहुमत गणतन्त्रका लागि घातक हुन सक्ने टिप्पणी गरे।

राजतन्त्र समर्थकहरूको जुलुस र गतिविधितर्फ सङ्केत गर्दै उनले भने, "म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ। सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु - तपाईँहरू पनि यसका लागि भागीदार हुनुहुन्छ।"

"विदेशी षड्यन्त्रहरू होलान्। विगतमा पनि हामीले देख्ने गरेका हौँ। अस्तिका प्रदर्शनहरूमा पनि देख्यौँ। म त्यसलाई पहिलो ठान्दिनँ। मुख्य कुरा त्यहाँ फोटो जजसको टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि।"

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू फर्किँदा ठूलो सङ्ख्यामा भेला भएका समर्थकहरूले उनको स्वागत गरेका थिए। त्यस क्रममा केही प्रदर्शनकारीले उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथको तस्बिर बोकेका थिए।

प्रचण्डले दुईतिहाइ बहुमतको अहङ्कारका कारण राजतन्त्र पक्षधरहरूको प्रदर्शन देखिएको आरोप लगाए।

"सङ्ख्याको अहङ्कार त छँदै छ। यसबीचमा तपाईँहरूले पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा नाघ्दै हुनुहुन्छ," उनले भने।

नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था परिवर्तनमा आफ्नो नेतृत्वमा एक दशकसम्म भएको सशस्त्र द्वन्द्व प्रमुख कारक रहेको दाबी गर्दै आएका प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा पूर्वराजालाई पनि राजनीतिक अधिकार रहने बताएका छन्।

"लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरूले राखेका छौँ र संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्," उनले भने।

"तर लोकतन्त्र नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एक पटक आफ्नो बाटो देखाउने छम, म चुनौती दिन चाहन्छु।"

सरकारप्रति प्रचण्डको आक्रोश

संसद्‌मा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर दुवै शक्ति अटाएको उदाहरण दिँदै उनले लोकतन्त्रलाई सत्तारूढ दलहरूबाटै खतरा भएको आरोप लगाए।

"हिजो राजा महाराजाझैँ पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीलाई। लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ?" प्रचण्डले भने।

पुष्पकमल दाहाल प्रचण्ड

तस्बिर स्रोत, Prachanda Secretariat

भूतपूर्व प्रधानमन्त्री प्रचण्डले सत्ताको चालक बस्ने सीटमा "बिचौलिया भएको" आरोप लगाए।

गत वर्ष ओलीले अकस्मात् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको सहमति गरेपछि प्रचण्ड एमाले-माओवादी गठबन्धन सरकारबाट बाहिरिनुपरेको थियो। उनले कांग्रेस र एमालेले बनाउन लागेको सरकारतर्फ इङ्गित गर्दै त्यसलाई "माफियाहरूले चलाउन सक्ने" टिप्पणी गरेका थिए।

"तपाईँहरूलाई कसैले मिलाएको हो। आफैँ मिल्नुभएको होइन, यो प्रतिगमनतिरको यात्रा हो भन्ने कुरा सहमति गर्दाको ठाउँ, तयारी, समय, तरिकाले देखाउँछ," विश्वासको मतमा विफल भएपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीका रूपमा अन्तिम पटक बोल्दै उनले भनेका थिए।

मङ्गलवार उनले सरकारले लोकतन्त्र र जनचाहनालाई उपेक्षा गरेका कारण राजनीतिक दलहरूप्रति वितृष्णा देखिएको आरोप लगाए।

"सरकारको दुईतिहाइको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले चाहिँ देखेको छैन। त्यो बिचौलियाहरूले चलाएका छन्," उनले भने।

गगन थापा र अरू नेताले के भने

प्रतिनिधिसभा बैठक

तस्बिर स्रोत, RSS

सत्ताधारी गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिवर्तनका पक्षमा रहेका शक्तिहरूलाई एक ठाउँमा आउन आह्वान गरे।

"यो संविधान जोगाउने कुरामा कुनै पनि खालको प्रतिगामी शक्तिलाई यहाँभित्र कुनै पनि षड्यन्त्र रोक्ने कुरामा सबै दलसँग सहकार्य गर्न हामी तयार छौँ," उनले भने।

नेपालले विगतमा फरकफरक राजनीतिक प्रयोग गरेको बताउँदै थापाले अब राजनीतिक प्रयोगको पक्षमा नलाग्न युवाहरूलाई आह्वान गरेका छन्।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पूर्वराजाले दलहरूसँग भएका सहमति तोडेको आरोप लगाए।

संसद्‌को शून्य समयमा बोल्ने सांसदहरूले पनि राजतन्त्र पुनर्स्थापनाको माग गर्खै भएका प्रदर्शनबारे चर्चा गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राजतन्त्रलाई भूतसँग तुलना गरिएकोमा आपत्ति जनाइन्।

"राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद गरेको नारा उहाँले सुन्नुभएको थिएन होला। मित्र, यो त ट्रायल मात्रै हो। अरू ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ त्यो देखेर नआत्तिनुहोला। लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला," उनले भनिन्।

नागरिकलाई आफ्नो कुरा राख्ने अधिकार भएको भन्दै उनले आइतवार देखिएको भिड सरकारकै कारण जम्मा भएको आरोप लगाइन्।

"बुझिराख्नुहोस्, तपाईँहरू जति दिन सरकारमा बस्नुहुन्छ त्यति यो भिड अझै बढ्दै जान्छ," उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।