युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

तस्बिर स्रोत, Getty Images
नयाँ शैली आवश्यक भएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई हटाएका छन्।
डेढ वर्ष अगाडि सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण अतिक्रमण थालेको समयभन्दा पहिलेदेखि नै रेज्नीकोभले युक्रेनको रक्षामन्त्री पद सम्हालिरहेका थिए।
आफ्नो नियमित रात्रिकालीन सम्बोधनका बेला राष्ट्रपति जेलन्स्कीले रक्षामन्त्रालयमा अब ‘नयाँ शैली’ अपनाउनुपर्ने समय आएको बताए।
“मन्त्रालयले नयाँ शैली अपनाउनुपर्ने तथा सेना एवं समग्र समाजसँग अन्य माध्यमका अन्तर्क्रिया गर्नु पर्ने आवश्यकता रहेको मेरो विश्वास छ,” जेलेन्स्कीले भने।
किन हटाइयो रक्षामन्त्री?
रेज्नीकोभको विस्थापनलाई कतिपयले अनुमान गरिसकेका थिए।
त्यसलाई जेलेन्स्कीले सबै सरकारी विभागहरूमा भ्रष्टाचार नियन्त्रण गर्न खोजेका प्रयाससँग जोडेर हेरिएको छ।
हुन त रेज्नीकोभलाई प्रत्यक्ष कुनै गल्तीको अभियोग लागेको छैन।
तर उनको मन्त्रालयले खरिदसम्बन्धी विभिन्न काण्डहरू झेलिरहेको छ।
युक्रेनी सञ्चारमाध्यमहरूमा रेज्नीकोभलाई अब लन्डनमा कियभका नयाँ राजदूत बनाइन सक्ने विवरण आएका छन्। लन्डनका वरिष्ठ राजनीतिज्ञहरूसँग उनको राम्रो सम्बन्ध विकास भएको ठानिन्छ।
युक्रेनमा युद्ध सुरु भएयता ५७ वर्षीय रेज्नीकोभ निकै परिचित हुन थाले।
युक्रेनका पश्चिमा सहयोगी देशहरूसँग उनी नियमित बैठक गर्थे अनि युक्रेनका लागि थप सैन्य उपकरणको निम्ति पैरवी गरिरहन्थे।

तस्बिर स्रोत, MAGNUM PHOTOS
नयाँ रक्षामन्त्रीको चयन
रेज्नीकोभको ठाउँमा जेलेन्स्कीले हाल युक्रेनमा निजीकरण कार्यक्रम चलाइरहेका रुस्तेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनयन गरेका छन्।
तर उक्त मनोनयनलाई युक्रेनी संसद्ले अनुमोदन गर्न बाँकी छ।
उमरोभले रुसी आक्रमणको प्रारम्भिककालमा भएका शान्ति वार्ताहरूमा युक्रेनको प्रतिनिधित्व गरेका थिए।
सन् २०२२ को मार्चमा शान्ति वार्ताका बेला उनमा विष खुवाइएको लक्षण देखा परेका शङ्का गरिएका थिए। तर पछि उनले ती विवरणको खण्डन गरेका थिए।
त्यतिखेर बीबीसीसँग बोल्दै उनले समाधान निकाल्न साहस चाहिने भन्दै ‘बर्बरतापूर्ण अतिक्रमणको राजनीतिक र कूटनीतिक समाधान खोज्न’ आफू दृढ रहेको बताएका थिए।
प्रत्याक्रमणको चरण
रेज्नीकोभको विस्थापन त्यतिखेर भएको छ जतिखेर युक्रेनले पश्चिमा सहयोगीहरूबाट प्राप्त अत्याधुनिक अस्त्रको बलमा रुसविरुद्ध विस्तारै अनि रक्तपातपूर्ण प्रत्याक्रमण गरिरहेको छ।
युद्धका अग्रमोर्चामा प्रगति निकै धीमा गतिमा भएका छन् तर आइतवार वरिष्ठ युक्रेनी जर्नेलहरूले तिनका फौजले दक्षिणी भागमा रुसी रक्षा पङ्क्तिको एउटा महत्त्वपूर्ण लाइन भत्काएर अघि बढेको बताएका छन्।
यसबीच रुसले रात्रिको समयमा आफ्ना भूभागमा कैयन् ड्रोन हमलाका प्रयास भएका बताएको छ।








