विमानस्थलमा 'ड्रोन आक्रमण' हुँदा रुसको सैन्य विमानहरूमा क्षति

दुई वटा विमानहरू

तस्बिर स्रोत, Getty Images

    • Author, जर्ज राइट
    • Role, बीबीसी न्यूज

रुसको उत्तर–पश्चिमी सहर पस्कोभको एक विमानस्थलमा भएको ड्रोन आक्रमणमा दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी समाचार संस्थाहरूले जनाएका छन्।

उक्त आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ।

स्थानीय गभर्नरले यसअघि सेनाले उक्त आक्रमणलाई प्रतिकार गरिरहेको बताएका थिए। उनले ठूलो आगलागी भएको भिडिओ सामाजिक सञ्जालमार्फत् साझा गरेका थिए जसमा विस्फोटको चर्को आवाज पनि सुनिएको थियो।

पस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको सीमा नजिकै पर्छ।

युक्रेनले पछिल्लो आक्रमणमा आफ्नो संलग्नताबारे कुनै जानकारी दिएको छैन। उसले रुसभित्र भएका आक्रमणहरूबारे कमै मात्र टिप्पणी गर्ने गरेको छ।

पछिल्ला केही सातायता युक्रेनले रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको ठानिएको छ।

यसैबीच मस्कोको भिन्नुकोभो विमानस्थलमाथिको हवाई क्षेत्र बन्द गरिएको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ।

“रक्षा मन्त्रालयले पस्कोभको विमानस्थलमा भएको ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको छ,” पीएसकोभका क्षेत्रीय गभर्नर मिखाइल भेडेर्निकोभले टेलिग्राममार्फत् जानकारी दिएका छन्।

भेडेर्निकोभले आफू घटनास्थलमा रहेको जनाउँदै भने,”प्रारम्भिक जानकारीअनुसार कुनै पनि मानवीय क्षति भएको छैन।“

एकपछि अर्को हमला

रुसको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले चार वटा इल्युशिन ७६ (आईएल–७६) विमानहरूमा क्षति पुगेको जनाएको छ। तीमध्ये दुई विमानहरूमा विस्फोट भई “आगोको लप्कामा परिणत” भएका थिए। रिया समाचार संस्थाका अनुसार आईएल–७६ का अन्य दुई विमानहरूमा भने पछि आगो सल्किएको थियो।

पस्कोभ क्षेत्रमा यसअघि मे महिनाको अन्त्यतिर ड्रोन आक्रमण भएको थियो।

रुसको मध्य मस्कोमा गत साता भएको ड्रोन आक्रमणमा परी तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।

आगलागीको दृश्य

तस्बिर स्रोत, TELEGRAM

सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको केही दिनपछि उक्त घटना भएको हो। सामाजिक सञ्जालमा साझा गरिएको र बीबीसीले विश्लेषण गरेका तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको थियो।

यद्यपि युक्रेनले विशेष ड्रोन आक्रमण गरेकोबारे केही पनि बताएको छैन। तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिले नै रुसी भूमिमा आक्रमण "अपरिहार्य, प्राकृतिक र निःसन्देह निष्पक्ष प्रक्रिया" भएको अभिव्यक्ति दिएका थिए।

अन्य घटनाक्रम कस्ता?

युद्ध भइरहेका यी दुई देशमा मानव सवार वा मानवरहित विमान दुर्घटनाबारे विवरणहरू सार्वजनिक हुने गरेका छन्।

अन्य घटनाक्रम अन्तर्गत मस्कोको समयअनुसार मध्यरातमा ब्ल्याक सीमा युक्रेनी सेनाले गरेको सैन्य कारबाहीमा चार वटा द्रुत गतिका डुङ्गा ध्वस्त पारेको रुसी सेनाले जनाएको छ। सेनाका अनुसार ती डुङ्गाहरूमा करिब ५० जना सैनिक सवार थिए।

यस विषयमा पनि युक्रेनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

रुसी सेनाले युक्रेनको दक्षिणी क्षेत्र ब्रायन्स्कमा तीन वटा र ओरियोलको मध्य क्षेत्रमा एउटा ड्रोन खसालेको जनाएको छ।

गत साता वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको रुसको उड्डयन अधिकारीहरूले बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनी पाइलट

त्यस्तै युक्रेनमा एउटा लडाकु विमान दुर्घटनामा पर्दा एक जना चर्चित लडाकु पाइलट र अन्य दुई जनाको मृत्यु भएको छ।

आन्द्री पिल्शचिकोभले रुसको आक्रमणको प्रारम्भिक चरणमा किएभमाथि हमला हुँदा लडेर प्रसिद्धि कमाएका थिए। त्यति बेला "जुस" नामले चिनिएका उनलाई अधिकारीहरूले उनको वास्तविक पहिचान नखुलाउन भनेका थिए।

युक्रेनी सेनाले उनको मृत्युलाई "दर्दनाक र अपूरणीय" क्षतिको सङ्ज्ञा दिएको थियो र पिल्शचिकोभलाई "तीक्ष्ण र प्रतिभाशाली" भएको जनाउँदै श्रद्धाञ्जली दिएका थिए।

दुर्घटनाग्रस्त भएको दुई एल-३९ प्रशिक्षण विमान उत्तरी युक्रेनमा उडेका थिए।

ती विमानहरूले उडान तयारीका नियमहरू सही ढङ्गमा पालना गरेको वा नगरेको बारे अनुसन्धान भइरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।