मानिसहरू किन सामाजिक सञ्जालमा दर्जनौँ सेलेब्रटीलाई 'ब्लक' गर्न आह्वान गर्दै छन्

तस्बिर स्रोत, Getty Images
प्रयोगकर्तालाई सेलेब्रटीहरूलाई सामाजिक सञ्जालमा 'ब्लक' गर्न आह्वान गरिएको एक अभियानले विगत केही दिनदेखि गति लिएको छ।
ह्याश्ट्याग #blockout र #blockout2024 मार्फत् ब्लक गर्नुपर्ने सेलेब्रटीको सूची र सन्देश दिइएको छ।
विशेषगरी इजरेल–गाजा युद्धसहित संसारभरिका अन्य मानवीय सङ्कट तथा युद्धका विषयमा मौन रहेका सेलेब्रटीहरूलाई निसाना बनाइएको छ।
त्यसो त यी ह्याश्ट्यागहरू केही समयअघि नै प्रयोगमा आएका थिए। तर अमेरिकामा चन्दा सङ्कलनार्थ आयोजित 'मेट गाला' कार्यक्रमपछि यसले थप चर्चा पाएको छ।
उक्त कार्यक्रम सेलेब्रटीहरूको आकर्षक पहिरनका निम्ति प्रसिद्ध छ।
सामाजिक सञ्जालमा पछ्याउनेहरूको सङ्ख्याका आधारमा सेलेब्रटीले गर्ने कमाइमा धक्का पुर्याउनु यो अभियानको उद्देश्य हो।
कसरी सुरु भयो 'ब्लकआउट' अभियान?
मेट गाला न्यूयोर्क महानगरको 'म्यूजीअम अफ आर्ट'ले गत छ मेमा आयोजना गरेको कार्यक्रम हो।
उक्त कार्यक्रम यो वर्षको बहुप्रतिक्षित फ्याशन कार्यक्रममध्येको थियो। यसमा विश्वभरका दिग्गज सेलेब्रटीहरू सामेल थिए।
तर यस वर्ष गाजा युद्धप्रति ध्यानाकर्षण गराउन चाहने प्रदर्शनकारीहरूलाई समेत यस कार्यक्रमले आकर्षित गर्यो।
अघिल्लो मेट गालामा राजनीतिक सन्देश देख्न पाइएको थियो।
सन् २०२१ मा अमेरिकी कङ्ग्रेस सदस्य अलेक्जेन्ड्रिआ ओकासिआ कोर्टेजले 'धनीलाई कर लगाऊ' भन्ने सन्देशका साथ कार्यक्रममा भाग लिएकी थिइन् भने केही सेलेब्रटी युक्रेन तथा 'मी टू' अभियानको समर्थन झल्कने विशेष पहिरनमा प्रस्तुत भएका थिए।

तस्बिर स्रोत, Getty Images
गत मे ८ मा @BlockOut2024 नामक टिकटक खाताबाट एउटा भिडिओ पोस्ट भयो, जसमा अन्य प्रयोगकर्तालाई "आफ्नो माध्यमबाट आम्दानी गर्न नदिने गरी सेलेब्रटीहरूलाई ब्लक गर्न" भनिएको थियो।
अर्को दिन @ladyfromtheoutside नामको टिकटक प्रयोगकर्ताले मोडल हेली कालिलको भिडिओ उद्धृत गरिन् जसमा कालिलले फ्रान्सेली क्रान्तिपूर्वकी 'अभागी' अन्तिम रानी मेरी एन्टोनेटको जस्तै अभिनय गर्दै भनेकी थिइन्, "उनीहरूलाई केक खान देऊ।"
एन्टोनेटलाई 'गिलटीन' नामक यन्त्रको प्रयोग गरेर मारिएको थियो। उनी शाही परिवारको सदस्य थिइन् र उक्त परिवारलाई जनताको दु:खसँग कुनै सरोकार नभएको मानिन्थ्यो।
हेली कालिलले केवल आफ्नो पोसाकका सन्दर्भमा त्यस्तो टिप्पणी गरेको हुन सक्ने भए पनि असंवेदनशील भएको भन्दै उनको आलोचना सुरु भयो।
कालिलको भिडियोलाई उद्धृत गर्दै @ladyfromtheoutside ले लेखिन्, "अब जनताले त्यस्तो आचरण गर्ने समय आयो, जसलाई म 'डिजिटल गिलटीन' भन्न चाहन्छु।"
"त्यस्ता सेलेब्रटी, प्रभावशाली व्यक्ति र सम्भ्रान्तहरूलाई ब्लक गर्ने समय आयो जसले मर्कामा परेका मानिसहरूको सहयोगका निम्ति आफ्नो स्रोतसाधनको प्रयोग गर्दैनन्", चार दिनमा ५,८०,००० लाइक पाएको पोस्टमा उनले भनेकी छन्।
उक्त पोस्टमा आएका कैयौँ कमेन्टमा आफ्नो काम गुमाउनुपर्ने डरले मौन रहने गरेको भन्दै सेलेब्रटीहरूको आलोचना गरिएको छ।
कसरी फैलियो अभियान?

तस्बिर स्रोत, Getty Images
त्यसपछि धेरैभन्दा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे लेख्न तथा भिडिओ बनाउन सुरु गरे।
'ब्लकआउट' शब्द भएको पोस्टमा फेसबुकमा गत सप्ताहान्त लगभग १० गुणाले अन्तर्क्रिया बढ्यो।
गूगलमा 'ब्लकआउट' खोज्नेहरूको सङ्ख्या सात गुणाले बढ्यो।
लगत्तै मानिसहरूले ब्लक गर्नुपर्ने सेलेब्रटीहरूको सूची पोस्ट गर्न थाले।
मानिसले बनाएका सूचीहरू भिन्दाभिन्दै छन्, तर किम कार्दाशिअन, टेलर स्विफ्ट, बियोन्से, जस्टिन बिबर, जेन्डया, कानी वेस्ट, माइली साइरस र सलिना गोमेज ती सूचीमध्ये केहीमा देखिएका साझा नाम हुन्।
केही सामाजिक सञ्जालले प्रयोगकर्तालाई उनीहरूले पच्छ्याएका खातामात्रै देखाउँदैनन्, नपच्छ्याएका खाता पनि 'तपाईँका निम्ति', 'सिफारिस गरिएको' वा 'यो पनि हेर्नुहोस्' जस्ता तरिकाले देखाउँछन्।
ब्लक गरिसकेपछि सामाजिक सञ्जालका एपहरूमा त्यसरी समेत ती खाताहरू देखा नपर्ने सुनिश्चित हुन्छ।
यो अभियानको प्रभाव कस्तो पर्यो?
कसैको खातालाई कति जनाले ब्लक गरे भनेर हेर्न सम्भव छैन। त्यसैले यो अभियानको प्रभाव सङ्ख्याको हिसाबले कस्तो छ भन्ने मापन गर्न असम्भव छ।
तर अधिकांश सामाजिक सञ्जालका एप्लिकेशनले प्रयोगकर्तालाई कुनै खाता ब्लक गरिरहँदा त्यसलाई 'अनफलो' गर्न समेत आग्रह गर्छन्।
सामाजिक सञ्जालको लेखाजोखा गर्ने 'सोशल ब्लेड' नामको वेबसाइटका अनुसार अहिले आलोचनाको केन्द्रमा रहेकी मोडल हेली कालिलले टिकटकमा १,००,००० फलोअर गुमाएकी छिन्। उनलाई पच्छ्याउनेको सङ्ख्या एक करोडबाट घटेर ९९ लाखमा झरेको छ।
निषेधको अनुरोध गर्दै सामाजिक सञ्जालमा फैल्याइएको सूचीमा देखापरेका अन्य सेलेब्रटीलाई पछ्याउनेको सङ्ख्यामा भने उल्लेख्य परिवर्तन देखिएको छैन।
यसको मतलब ठूलो सङ्ख्याका प्रयोगकर्ताहरूले ती खाताहरूलाई ब्लक गरिराखेका छैनन् भन्ने चाहिँ होइन।
कुनै प्रयोगकर्ताले आफूले पछ्याउँदै नपछ्याएको खातालाई ब्लक गरेको खण्डमा उक्त कार्यले कुल फलोअर सङ्ख्यामा कुनै फरक पार्दैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








