हलीवुड कलाकारद्वारा ऐतिहासिक आन्दोलनको घोषणा

लेखकहरूको आन्दोलन

तस्बिर स्रोत, Reuters

साठी वर्ष भन्दा लामो अवधिपश्चात् पटकथा लेखकहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हलीवुडकर्मीहरू काम रोकेर आन्दोलनमा सहभागी हुँदै छन्।

स्क्रीन याक्टर्स गिल्ड (एएसजी)ले स्ट्रिमिङ कम्पनीहरू नाफाको न्यायोचित वितरण अनि राम्रो काम गर्ने वातावरणको विषयमा सहमत होउन् भन्ने चाहेको छ।

झन्डै एक लाख ६० हजार कलाकारहरूले त्यहाँको समय अनुसार बिहीवार मध्यरातबाट काम गर्न छाड्ने छन्।

किलिअन मर्फी, म्याट डेमन र एमली ब्लन्ट जस्ता प्रख्यात कलाकारहरू लन्डनमा आयोजित क्रिस्टोफर नोलनको ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रमबाट बाहिरिएका छन्।

कस्तो असर पर्नसक्छ?

ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रममा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, किलिअन मर्फी, म्याट डेमन र एमली ब्लन्ट जस्ता प्रख्यात कलाकारहरू लन्डनमा आयोजित क्रिस्टोफर नोलनको ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रममा सहभागी भएनन्

कलाकारहरूले काम नगर्ने भएपछि अमेरिकी फिल्म र टेलिभिजन क्षेत्रमा निर्माणका धेरै कामहरू रोकिनेछन्।

द स्क्रीन याक्टर्स गिल्ड (एसएजी) को आन्दोलन लस एन्जलसको समयअनुसार बिहीवार मध्यरातबाट सुरु हुन्छ।

शुक्रवार बिहान सबैभन्दा पहिले क्यालिफोर्नियास्थित नेटफ्लिक्सको मुख्यालय बाहिर धर्ना सुरु हुनेछ र त्यसपछि कलाकारहरूले पारामाउन्ट, वार्नर ब्रोस र डिज्नी अगाडि पनि धर्ना दिनेछन्।

युनियनले कलाकारलाई प्रतिस्थापन गर्न आर्टिफिसल इन्टेलिजेन्स (एआई) र कम्प्यूटरबाट बनाइने आकृति तथा आवाज प्रयोग गरिने छैन भन्ने ग्यारेन्टी पनि मागिरहेको छ।

red line
red line

माग के हुन्?

एसएजीले 'सेल्फ-टेप्ड अडिसन' अर्थात् आफैँले आफ्नो कलालाई भिडिओमा उतारेर प्रतिस्पर्धाहरूमा पठाउनुपर्ने काममाथि कडाखालको नियमन हुनुपर्ने माग गरेको छ।

उसले त्यस्ता अडिसनहरूका कारण अनुचित रूपमा कलाकारले अतिरिक्त लागतको सामना गर्नुपरिरहेको ठानेको छ।

एसएजीद्वारा अनलाइन प्रकाशित एउटा हडतालसम्बन्धी दस्तावेज अनुसार उक्त विरोध प्रदर्शनमा अभिनय, गायन वा नृत्य, साथसाथै विभिन्न विधामार्फत् मनोरञ्जन प्रदान गर्ने कलाकारहरू सहभागी हुनसक्ने उल्लेख गरिएको छ।

उक्त विरोधका पृष्ठभूमिमा विभिन्न कार्यक्रम र प्रचारात्मक अभियान पनि हुनेछन्।

आधिकारिक रूपमा स्क्रिन एक्टर्स गिल्ड-अमेरिकन फेडरेसन अर्थात् एसएजी-एएफटीआरए रूपमा चिनिने उक्त सङ्घले बुधवार प्रमुख स्टुडियोहरूसँग सम्झौता गर्न असमर्थ भएको घोषणा गरेको छ।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Reuters

आन्दोलनको आलोचना

उक्त निकायको वार्ता समितिले हडताल सिफारिस गर्ने विषयमा सर्वसम्मतिले मतदान गरेको थियो।

स्टुडिओहरूको प्रतिनिधित्व गर्ने समूह, अलाएन्स अफ मोशन पिक्चर्स र टेलिभिजन निर्माता वा एएमपीटीपीले उक्त निर्णयको आलोचना गरे।

उनीहरूले भनेका छन्, "हडताल पक्कै पनि हामीले आशा गरेको नतिजा होइन किनकि स्टुडियोहरू कलाकारहरू विना काम गर्न सक्दैनन् जसले हाम्रा टिभी कार्यक्रमहरू र चलचित्रहरूलाई जीवन्त बनाउँछ"।

"सङ्घले अफसोसका साथ यस्तो बाटो रोजेको छ, जसले उद्योगमा निर्भर हजारौँ मानिसहरूलाई आर्थिक कठिनाइमा पुर्‍याउनेछ," एक विज्ञप्तिमा उल्लेख गरिएको छ।