तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएलाको हवाई क्षेत्र बन्द गर्ने ट्रम्पको धम्कीपछि कराकस क्रुद्ध, अमेरिकाले त्यहाँ के चाहेको छ?
- Author, ईफा वाल्स
- Role, वासिङ्टन
भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा अभिव्यक्तिप्रति आक्रोशित प्रतिक्रिया दिएको छ जसमा उनले उक्त देश वरिपरीको हवाई क्षेत्रलाई बन्दसरह मान्नु पर्ने बताएका थिए।
कराकसस्थित विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई "भेनेजुएलाका जनताविरुद्ध अर्को असाधारण, गैरकानुनी र अनुचित हमला" भनेको छ।
अमेरिकासँग अर्को देशको हवाई क्षेत्र बन्द गर्ने कानुनी अधिकार नरहेको भन्दै दिइएको भेनेजुएलाको उक्त प्रतिक्रियामा ट्रम्पले "औपनिवेशिक खतरा" सिर्जना गरेको आरोप समेत लगाइएको छ।
अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति तयार पारेको छ र लागु पदार्थ बोकेका कम्तीमा २१ डुङ्गाहरूमा हमला गरेको छ।
उक्त कारबाहीमा अहिलेसम्म ८० भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा युद्धको चिन्ता
अमेरिकाले त्यसका प्रमाणहरू उपलब्ध गराएको छैन र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले वासिङ्टनका कदम उनलाई पदबाट हटाउने प्रयासअन्तर्गत भएका बताउँदै आएका छन्।
ट्रम्पले ट्रूथ सोसलमा लेखेका छन्: "सबै एअरलाइन्स, पाइलट, लागुऔषध व्यापारी र मानव तस्करहरू, कृपया भेनेजुएलामाथिको र वरपरको आकाश पूर्ण रूपमा बन्द भएको ठानियोस्।"
ह्वाइट हाउसलाई टिप्पणीका लागि बीबीसीले अनुरोध गरेकामा उसले तत्काल प्रतिक्रिया दिएन।
ट्रम्पले आफ्ना धम्कीहरूमा वृद्धि गरेसँगै अमेरिकी कङ्ग्रेसका केही डेमोक्र्याटिक र रिपब्लिकन सदस्यहरूले उनले संसदीय स्वीकृति नखोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
"भेनेजुएलाप्रति ट्रम्पको लापरवाह कार्यहरूले अमेरिकालाई विदेशमा अर्को महँगो युद्धको नजिक धकेलिरहेको छ," शीर्ष सिनेट डेमोक्र्याट चक शुमरले आइतवार एक्समा पोस्ट गरेका छन्।
"हाम्रो संविधानअन्तर्गत युद्ध घोषणा गर्ने एकमात्र शक्ति कङ्ग्रेससँग छ।"
केही अघिसम्म ट्रम्पनिकट रहेकी रिपब्लिकन सांसद मार्जोरी टेलर ग्रीनले पनि भनेकी छन् : "याद राख, युद्ध घोषणा गर्ने एकमात्र शक्ति कङ्ग्रेससँग छ।"
भेनेजुएलाको प्रतिक्रिया
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले "भेनेजुएला र वरपर सैन्य गतिविधि बढेको" चेतावनी दिएको केही दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो।
जसका कारण कैयौँ प्रमुख एअरलाइन्सहरूले त्यहाँ उडानहरू स्थगित गरेका छन्। त्यसपछि कराकसले ती एअरलाइन्सका उडान तथा अवतरणका अधिकार खारेज गरिदिएको छ।
भेनेजुएलाको विदेश मन्त्रालयले शनिवार जारी गरेको एउटा विज्ञप्तिमा "अन्तर्राष्ट्रिय समुदाय, विश्वका सार्वभौम सरकार, संयुक्त राष्ट्रसङ्घ र सम्बन्धित बहुपक्षीय संस्थाहरूलाई उक्त अनैतिक आक्रामक कार्यलाई दृढतापूर्वक अस्वीकार गर्न" आग्रह गरिएको छ।
सोही दिन भेनेजुएलाको सेनाले आफ्ना तटीय क्षेत्रहरूमा अभ्यास गरेको थियो भने त्यहाँका सरकारी टेलिभिजनले विमानभेदी अस्त्र र अन्य हतियार देखाएको थियो।
अमेरिकाले भेनेजुएलामा हमला गर्न सकिने दूरीमा विश्वकै सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड फोर्ड र करिब १५,००० सेना तैनाथ गरेको छ।
दशकौँपछिको ठूलो तैनाथी
यो सन् १९८९ मा पानामाको आक्रमणपछि अमेरिकाद्वारा यस क्षेत्रमा गरिएको सबैभन्दा ठुलो तैनाथी हो।
तर वासिङ्टनले त्यो लागु औषध तस्करीविरुद्ध रहेकोमा जोड दिएको छ।
ट्रम्पले बिहीवार भेनेजुएलाको लागुऔषध तस्करी रोक्न "स्थलगत" अमेरिकी प्रयासहरू "धेरै चाँडै" सुरु हुने चेतावनी दिएका थिए।
भेनेजुएला सरकारले भने अमेरिकाको उद्देश्य वामपन्थी मादुरोलाई पदच्युत गर्नु रहेको ठानेको बताएको छ।
गत वर्ष पुनः निर्वाचित भएको वर्तमान सरकारलाई भेनेजुएलाका विपक्षी र कैयौँ राष्ट्रहरूले धाँधलीपूर्ण भनेका थिए।
कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताओ पेत्रोले समेत अमेरिकी प्रतिबन्धहरूको सामना गरेका छन्।
उनले अमेरिकाले ल्याटिन अमेरिकामा "हाबी हुन हिंसा प्रयोग गरिरहेको ठानेको" बताइरहे तापनि त्यस क्षेत्रका अन्य नेताहरूले ट्रम्पको अडानको स्वागत गरेका छन्।
अमेरिकाले कार्टेल डे लस सोल्स वा कार्टेल अफ द सन समूह मादुरोको नेतृत्वमा रहेको आरोप लगाएको छ। जसलाई उसले विदेशी आतङ्कवादी सङ्गठनको संज्ञा दिएको छ।
कुनै सङ्गठनलाई आतङ्कवादी समूह ठहर्याउँदा अमेरिकी कानुन कार्यान्वयन र सैन्य निकायहरूलाई यसलाई लक्षित गर्न र ध्वस्त पार्न व्यापक अधिकारहरू प्रदान गर्छ।
भेनेजुएलाको विदेश मन्त्रालयले उक्त ठम्याइलाई "स्पष्ट, कडा र पूर्ण रूपमा अस्वीकार" गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।