ठूलो पानी पार्ने प्रणाली हट्यो तर ठाउँठाउँमा सडक अवरोध कायमै, कहाँ कस्तो अवस्था छ

भोजपुरमा सडकमा खसेको पहिरो पन्छाउँदै सुरक्षाकर्मी

तस्बिर स्रोत, RSS

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

जल तथा मौसम विज्ञान विभागले नेपालमा अब भीषण वर्षाको सम्भावना समाप्त भएको जनाएको छ। यद्यपि शुक्रवारदेखि हुन थालेको वर्षाका कारण अवरुद्ध कतिपय सडकहरू अझै सञ्चालनमा नआउँदा दशैँ मनाएर पुनः यात्रा गर्ने मानिसहरू प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ यता मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुने मानिसको सङ्ख्या ४६ पुगेको जनाएको छ।

रसुवामा खोलाले बगाएर चार जना, इलाममा पहिरोमा परी एक जना र सोही जिल्लामा बाढीमा परी थप एक जना हराइरहेका छन्।

"मोरङका केही क्षेत्र डुबानमा परेका र बाढीमा परी एक जनाको मृत्यु भएको विवरण आएको छ," प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीसँग भनिन्।

प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलवारका निम्ति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेको प्रवक्ता महतले जानकारी दिइन्।

"प्राधिकरणका कार्यकारी प्रमुख सदस्यसचिव रहने उक्त बैठकमा अहिलेसम्मका विवरण प्रस्तुत गर्छौँ र परिषद्ले आवश्यक निर्णयहरू लिन्छ," उनले भनिन्।

सडकमा कहाँकहाँ अवरोध

नागढुङ्गा-मुग्लिन खण्डको जवाङ खोला क्षेत्रको सडक

तस्बिर स्रोत, DAN BAHADUR GURUNG

तस्बिरको क्याप्शन, नागढुङ्गा-मुग्लिन खण्डको जवाङ खोला क्षेत्रको सडक

सडक विभागले सोमवार दिउँसो १२:४५ मा जारी गरेको विवरणअनुसार नागढुङ्गा-मुग्लिन, मुग्लिन-नारायणगढ र नारायणगढ-बुटवल सडकखण्डमा कुनै अवरोध छैन।

मुग्लिन-नारायणगढ सडक सोमवार बिहान ६ बजेबाट सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले एक सूचना जारी गर्दै उक्त सडक खण्डमा "पहिरोकाे जाेखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न" भनेको छ।

त्यस्तै सिद्धार्थ राजमार्ग पनि दुईतर्फी सञ्चालनमा छ।

हेटौँडाबाट काठमाण्डू आउने सडकमध्ये त्रिभुवन राजपथमा कुनै अवरोध छैन भने कान्ति लोकपथ र कुलेखानी-सिस्नेरी-काठमाण्डू सडकमा अवरोध छ। कुलेखानी-फाखेल-काठमाण्डू सडक भने एकतर्फी सञ्चालनमा छ।

बिहानसम्म अवरुद्ध रहेको अरनिको राजमार्ग दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको सडक विभागले जनाएको छ।

बीपी राजमार्ग पूर्ण अवरुद्ध छ। "उक्त सडकखण्डको ४ किलोमिटर सडक बाढीले बगाइदिएको छ," विभागका प्रवक्ता प्रभात झाले भने, "उक्त सडक सात दिनभित्र सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ।"

त्यस्तै मेचीनगर गाउँपालिकामा डाइभर्शन बगाउँदा अवरुद्ध बनेको महेन्द्र राजमार्ग सोमवार अपराह्ण अन्दाजी ५ बजेबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ।

इलाममा सडक र जलविद्युत् आयोजनामा क्षति

अवरुद्ध सडक र एक प्रहरी

तस्बिर स्रोत, SITA NIRAULA

तस्बिरको क्याप्शन, पहिरोले इलाममा विभिन्न सडकहरू अवरुद्ध भएका छन्

सडक विभागका प्रवक्ता झाका अनुसार मेची राजमार्गमा सानाठूला गरी ३० स्थानमा पहिरो झरेको छ। उक्त राजमार्गले पूर्वका तराई र पहाडी भूभागलाई जोड्छ।

बाढीले मेची कोरिडोरको माईखोलामा एउटा पुल र पुवाखोलामा एउटा बेलिब्रिज बगाइदिएको छ। माइखोलामा डाइभर्शन नबन्दासम्म आवागमन कठिन हुने विभागले जनाएको छ।

शुक्रवारदेखि भएको अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोमा परी इलाममा मात्रै ३७ जनाको ज्यान गएको थियो।

बाढीले इलामका सानाठूला गरी १५ वटा जलविद्युत् आयोजना समेत प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।

"माई कोरिडोरस्थित केही बत्ती बलिरहेका र केही बन्दै गरेका आयोजनाहरू प्रभावित भएका छन्," इप्पानका अध्यक्ष गणेश कार्कीले भने, "त्यसमध्ये जोगमाई खोला हाइड्रो र थप एउटामा ठूलो क्षति भएको विवरण आएको छ तर यकिन मूल्याङ्कन भइसकेको छैन।"

झापा र मोरङमा डुबान

अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लाका करिब ६,००० घरपरिवारका करिब २७,००० मानिस प्रभावित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा प्रतिकूल प्रभाव झापा र मोरङमा देखिएको छ। मोरङको विराटनगरमा बाढीमा परी ज्यान गुमाउने महिला भारतीय नागरिक भएको स्थानीय प्रशासनले जनाएको छ।

झापामा ५,५०० घरपरिवारका २५,००० जना र मोरङमा ४०० घरपरिवारका झन्डै २,००० जना बाढी र डुबानबाट प्रभावित भएको बताइएको छ।

प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

विमानस्थलमा चाप

विराटनगर विमानस्थलमा सोमबार बिहान देखिएको दृश्य

तस्बिर स्रोत, BIKRAM NIRAULA

तस्बिरको क्याप्शन, विराटनगर विमानस्थलमा सोमबार बिहान देखिएको दृश्य

बाढी र पहिरोले सडकमार्ग प्रभावित भएपछि सोमवार बिहानैदेखि विराटनगर विमानस्थलमा यात्रुको घुइँचो देखिएको छ।

काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यात्रुहरूको चाप छ।

"अन्तर्राष्ट्रिय उडानहरू नियमित उडानमा छन् तर आन्तरिकतर्फ उडानहरू थपिएका छन्," विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने, "दशैँ मानेर काठमाण्डू भित्रिने यात्रुहरूको चाप बढेकाले रातिको समयमा पनि उडान जारी राखेका छौँ।"

यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले सोमबार काठ्माण्डू-भैरहवा र भैरहवा-काठमाण्डू रूटमा "उद्धार उडान" गर्ने भएको छ।

"परिस्थिति आएमा र जहाजको उपलब्धता भएमा यस्ता उडानहरू थप्न पनि सक्छौँ," निगमका प्रवक्ता सुवास डाँगीले बीबीसीसँग भने।

बाहिरिन थाल्यो मनसुन

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भीषण वर्षाको सम्भावना समाप्त भएको जानकारी दिइन्।

बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसम प्रणाली भारतको ओडिसा हुँदै जमिनमा प्रवेश गरेको थियो र त्यसले शुक्रवार रातिदेखि नै काठमाण्डू उपत्यकासहितका स्थानमा सक्रिय वर्षा गराएको थियो।

"आउँदो तीन दिन नेपालमा भारी वर्षाको सम्भावना छैन," मानन्धरले भनिन्, "मनसुनी प्रभाव भने कायमै रहेकाले सोमवार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना भने रहन्छ।"

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको जनाएको छ।

नेपालबाट सामान्यता: अक्टोबरको दोस्रो साताबाट मनसुन बाहिरिने गर्छ।

"नेपालका सबै भागबाट एकैपटकमा बाहिरिने भन्ने हुँदैन। पश्चिमबाट बाहिरिएको केही दिनपछि मात्रै पूर्वबाट बाहिरिन्छ तर त्यसका निम्ति केही दिन कुर्नुपर्ने देखिन्छ।"

विराटनगरबाट विक्रम निरौला र इलामबाट सीता निरौलाको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।