लुम्बिनीमा एमाले सरकार ढाल्न किन अघि सरेनन् कांग्रेस-माओवादी?

प्रदेश प्रमुख र मुख्यमन्त्री

तस्बिर स्रोत, ocmcm.lumbini.gov.np

    • Author, माधव नेपाल
    • Role, बुटवल

केन्द्रको राजनीतिमा फेरिएको समीकरणसँगै नेकपा एमालेका नेता लीला गिरीले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकार पनि सङ्कटमा परेको छ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका साना दल र केही स्वतन्त्र गरी प्रदेशसभाका ५८ जना सांसदहरूको समर्थनमा पुस २६ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर केन्द्रको समीकरण अनुसार नै जाने हो भने नेकपा एमालेका २९ जना र राप्रपाका ४ जना सांसदहरूको मात्रै गिरीले समर्थन पाउने देखिएको छ।

यद्यपि गिरी नियुक्त हुँदा समर्थन गरेका दलहरूले आजसम्म समर्थन फिर्ता लिएका छैनन्।

लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन्। मुख्यमन्त्रीका लागि बहुमत पुराउन ४४ सदस्यको समर्थन आवश्यक पर्छ।

कांग्रेसको तयारी

"हामी सहमतिबाट नै अगाडि बढ्न चाहन्छौ," माओवादी केन्द्रका नेता एवं मन्त्री जोख बहादुर महराले बीबीसीलाई भने, "एमालेले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउनु पर्छ भन्ने हाम्रो मान्यता हो अन्यथा त्यसको असर प्रदेशमा नपर्ला भन्न सक्ने अवस्था छैन।"

प्रदेशसभामा माओवादीका १० जना सांसदहरू छन्। ती मध्ये तुलाराम घर्ती मगर सभामुख भएका छन्।

"राष्ट्रपतिको निर्वाचन अघि गिरीको सरकार ढल्दैन," नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता एवं सांसद प्रचण्डविक्रम न्यौपानेले भने, "त्यसपछि भने केन्द्रको सरकार जसरी अगाडि बढ्छ, त्यही अनुसार नै हुने हो यहाँ पनि।"

मुख्यमन्त्री

तस्बिर स्रोत, ocmcm.lumbini.gov.np

अहिले लुम्बिनी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले हो।

"सरकार बनाउन संविधानको अर्को धारा प्रयोग हुन सक्ने अवस्था पनि छ," न्यौपानेले भने, "त्यसको लागि कांग्रेसले कानुनविद्सँग परामर्श गरिरहेको छ।"

प्रदेशसभामा एमाले पछिको दोस्रो ठूलो दल नेपाली कांग्रेस हो। यहाँ कांग्रेसका २७ जना सांसदहरू छन्।

आलोपालो के हुन्छ?

"सबैभन्दा ठूलो दलको हैसियतले छोटो समयका लागि सरकार बनाउने प्रयास गर्नु भन्दा सरकार छाडेर जनताकै माझमा जान उपयुक्त हुन्छ," एमालेका सांसद भोजप्रसाद श्रेष्ठले भने, "अस्थिरता लम्बाउने कुरा उपयुक्त होइन।"

गिरीको सरकार बनाउँदा एमाले र माओवादीबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको थियो।

रेखा
रेखा
प्रदेश सभा

तस्बिर स्रोत, assembly.lumbini.gov.np

अब एमालेको सरकार ढल्यो भने त्यसपछिको सरकारको नेतृत्व कसले गर्छ भन्ने अझै निश्चित देखिन्न।

"ठूलो दलको हिसाबले हाम्रो दाबी स्वाभाविक हो," कांग्रेस सांसद प्रचण्डविक्रम न्यौपानेले भने, "कांग्रेसबाट विधान अनुसार संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नै मुख्य मन्त्री हुने हो।"

माओवादीको संसदीय दलका नेता जोख बहादुर महरले भने सहमतिमै निर्णय हुने बताए। मन्त्री रहेका महराको भूमिकालाई लिएर पार्टीकै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउने गरेका छन्।

लुम्बिनी प्रदेशमा साना दलको समर्थन बिना ठूला दल एमाले र कांग्रेसले पनि सरकार बनाउन सक्ने अवस्था भने छैन। स्वतन्त्र र साना दलका २१ जना सांसदहरू छन्।