नक्कली भुटानी शरणार्थी प्रकरण: थुनामा रहेकाहरूबारे कहिलेसम्म निर्णय आइसक्ला?

नक्कली शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा थुनामा रहेकाहरू थुनामै रहने वा बाहिर रहेर मुद्दा सुनुवाइ गर्न पाउने भन्ने विषयमा मङ्गलवारबाट सुनुवाइ सुरु भएको उच्च अदालत पाटनले जनाएको छ।

जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्न असार १ गते निर्णय गरेसँगै त्यसविरुद्ध मुद्दाका केही प्रतिवादी उच्च अदालत गएका थिए।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त मुद्दामा अहिले २० जना थुनामै छन्।

तल्लो अदालतको निर्णयविरुद्ध पुनरावेदनका लागि उच्च अदालत गए पनि र विगतमा पटकपटक उक्त मुद्दा पेसीमा चढे पनि यसअघि यसरी सुनुवाइ हुनसकेको थिएन।

२० जना प्रतिवादी र दुईवटा नेपाल सरकारले हालेको गरी २२ वटा निवेदनमाथि मङ्गलवारबाट सुनुवाइ सुरु भएको अदालतको वेबसाइटमा उल्लेख छ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा पुनरावेदनको निवेदनमाथि सुनुवाइ भइरहेकोरजिष्ट्रार कट्टेलले बताए।

पुनरावेदनको निवेदनमाथि निर्णय सुनाउन कति समय लाग्ला?

"यो न्यायाधीशहरूको तजबिजको कुरा हो। वकिलहरू धेरै हुनुहुन्छ भनेर मंसिर ५ गतेलाई तोकियो। अब मङ्गलवार, बुधवार, बिहीवार, शुक्रवारसम्म सकिन्छ कि भन्ने हिसाबले यसअघिका न्यायाधीशले आजलाई तोक्नुभएको हो," उनले भने।

"अब आज तोकिनुभएका न्यायाधीशहरूलाई उहाँहरूको ब्रह्ममा के लाग्छ त्यसै अनुसार हुन्छ। हामीले भन्ने कुरा भएन।"

यो मुद्दामा बहसका लागि ५० जनासम्म वकिल हुनसक्ने उनले बताए।

उनका अनुसार सामान्यतया यस्ता प्रकारका पुनरावेदनको निवेदनको सुनुवाइ बिहीवार हुने गर्छ।

तर हप्ताभरिमा सुनुवाइ सक्ने हिसाबले मङ्गलवारकै लागि तोकिएको हुनसक्ने उनले बताए।

"बिहीवार, शुक्रवार सुनुवाइ गर्दा समयले भ्याइँदैन कि भनेर यसरी केही विशेष सुनुवाइमा समय किटान गरिन्छ," उनले भने।

"अब ४/५ दिनमा एउटा निकास आउँछ भन्ने हो। मुद्दाको मेरिट, विषयवस्तु, न्यायाधीश अनि फाइल खुलेपछि के हुन्छ र कुराकानीपछि निर्णय कहिले आउँछ भन्ने भर पर्छ।"

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पाँच वर्षयता गरिएको भनिएको ठगी र संगठित अपराधको आशङ्कामा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गतेदेखि आरोपीहरूलाई पक्राउ गरेर छानबिन सुरु गरेको थियो।

सुरुमा मुख्य नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ पक्राउ परेका थिए भने त्यसयता विभिन्न मितिमा पूर्व गृहमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायतका उच्च पदस्थहरूलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गरेको थियो।

बालकृष्ण खाँड

यो मुद्दामा अहिले थुनामा रहनेहरूमा पूर्वमन्त्रीद्वय खाँण, रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, सागर राई, टंककुमार गुरुङ र केशव तुलाधर रहेका छन्।

जिल्ला अदालतले दिएको आदेशविरुद्ध त्यसलाई बदर गरेर आफूहरूलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गर्दै उनीहरू साउन १२ गते उच्च अदालत पुगेका हुन्।

नेपाल सरकारले पनि टंककुमार गुरुङ र केशव तुलाधरविरुद्ध पुनरावेदनको निवेदन दर्ता गरेको छ।

त्यसयता कम्तीमा आधा दर्जनभन्दा बढी पटक मुद्दाको सुनुवाइ पेसीमा चढे पनि निरन्तर सुनुवाइ हुनसकेको छैन।

टोपबहादुर रायमाझी

आरोपितहरूविरुद्ध ठगी र किर्तेसम्बन्धी कसुर, संगठित अपराध र राज्यविरुद्धको अपराध जस्ता मुद्दाहरू लागेका छन्।

यी अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा रहेको छ।

ती दुवै अभियोगमा सात/सात वर्ष जेलसजाय र ७०/७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेलसजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको कानूनी व्यवस्था छ।

त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

जिल्ला अदालतमा जारी मुद्दाको पछिल्लो प्रगति के छ?

काठमाण्डू जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उक्त मुद्दामा फरार रहेका ९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

उनीहरू आफैँ उपस्थित हुन आए बयान हुन्छ र मुद्दा अगाडि बढ्छ।

"उनीहरू आफैँ उपस्थित नभएको हकमा रिट निवेदक पक्राउ पूर्जी तामेल भएपछि तोकिएको समयपछाडि पेसीमा चढ्छ," उनले भने।

"तामेलीको म्याद नसकिँदासम्म मुद्दा पेसीमा चढाउन नमिल्ने हुँदा अहिले मुद्दामा खासै प्रगति भएको छैन।"

यो मुद्दा संयुक्त भएका कारण फरारबारे तामेलीको म्याद नसकिँदासम्म उनीहरूको मुद्दा थाँती राखेर बाँकीको सुनुवाइ गर्न प्रक्रियाले नमिल्ने उनले बताए।

अदालतले मुद्दाको प्रकृति हेरेर मुद्दाको मार्ग तय गरेको र नक्कली भुटानी शरणार्थी सम्बन्धी यो मुद्दा विशेष मार्गमा रहेको उनले बताए।

त्यसको अर्थ मुद्दा दर्ता भएको मितिले १८ महिनाभित्र टुङ्गो लाग्नुपर्छ। जसको अर्थ २०८१ सालको पुष १ गतेभित्र यो मुद्दा टुङ्गो लाग्नुपर्छ।

"तर प्रतिवादी धेरै भएको हकमा त्यो समयभन्दा बढी पनि लाग्न सक्छ," उनले भने।

शरणार्थी प्रकरण कसरी सुरु भयो?

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।

स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।

तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची गयार गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमान्डू जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?

साउन १२: थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

१ असार: १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।