नक्कली शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू सहित १६ जनालाई थुनामा पठाउन अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डू जिल्ला अदालतले आदेश दिएको छ।
उक्त मुद्दाका अभियुक्तमध्ये दुई जनालाई मात्रै धरौटीमा छोड्ने आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
"अभियुक्तहरूमध्ये १६ जनालाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा पठाउने तयारी भइरहेको छ," उनले भने।
आरोपितहरूमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई मात्रै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको उनले बताए।
दुवै पक्षको बहस सकिएपछि शुक्रवार काठमाण्डू जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ती आदेश दिएको थियो।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
तीमध्ये १८ आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएका थिए।
कानुन व्यवसायीहरूको बहस लामो भएपछि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बहस छोट्याउन निर्देशन दिएका थिए।
कुन अपराधमा कति सजाय?

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ।
दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ।
राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५०,००० रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
अभियुक्त को-को हुन्?

जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको थियो।
सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी मुद्दामा गरेको छ।
उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई प्रहरीले फरक फरक समयमा पक्राउ गरेको थियो।
त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए।
प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

तस्बिर स्रोत, RSS
शरणार्थी प्रकरण कसरी सुरु भयो?
सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।
स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।
उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।
तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची गयार गर्न कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?
१ असार: १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश
१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर
८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो
२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो
१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन
२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी
१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ








