ओलीसँग हात मिलाएका प्रचण्डलाई कांग्रेसले किन दियो विश्वासको मत, राजनीतिमा यसको प्रभाव कस्तो पर्ला

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
प्रतिनिधिसभामा स्पष्ट बहुमत जुटाइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रमुख प्रतिपक्षी दल हुने ठानिएको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि धेरैले यसलाई संशय र रहस्यपूर्ण कदम मानेका छन्।
मङ्सिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसका नेताहरूले सरकारलाई समर्थन गर्नुपर्ने बाध्यताबारे ‘चित्तबुझ्दो’ तर्क दिन सकिरहेका छैनन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षलाई कांग्रेसको सहयोग किन पनि अस्वाभाविक देखिएको छ भने एउटै गठबन्धनबाट चुनाव लडेका प्रचण्ड चुनावपछि कांग्रेसको साथ छोडेर एमालेसँग हात मिलाउन पुगेका थिए।
एमालेसहितका दलहरूको समर्थन जुटाएर प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई समर्थन गर्नुपर्ने बाध्यता कांग्रेसलाई किन आइलाग्यो त? राष्ट्रपति वा सभामुख पदमा भागबण्डा पाइने आशा वा गठबन्धन फाटो ल्याउने दाउमा कांग्रेस लागेको त होइन?
कैयौँले यस्तै आशङ्काहरू व्यक्त गरिरहे पनि कांग्रेस नेताहरूले यसको खण्डन गर्दै आएका छन्।


किन गर्यो कांग्रेसले समर्थन?
कुनै दाउ वा निहित उद्देश्य नभए किन गर्यो त कांग्रेसले प्रचण्डलाई समर्थन?
कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा प्रचण्डलाई समर्थन गर्दै “संविधानको रक्षाको पक्षमा” उनी उभिने विश्वास र राष्ट्रिय मुद्दामा एक ठाउँमा हुनुपर्ने आवश्यकता देखेर कांग्रेसले विश्वासको मत दिने निर्णय लिएको बताएका थिए।
विगतमा सर्वोच्च अदालतले पुर्नस्थापित गरिसकेपछि पनि केपी ओलीले संसद् विघटन गरेको उदाहरण दिँदै त्यस्तो जोखिम कम गर्न सरकारलाई समर्थन गरेको दाबी कांग्रेसका कतिपय नेताहरूले गरेका छन्।
बीबीसीको जिज्ञासामा कांग्रेस नेता रामचन्द्र पौडेलले संसद् जोगाउनकै लागि कांग्रेसले सरकारलाई समर्थन दिएको दाबी दोहोर्याए।
“देशमा अस्थिरता संविधानमाथि असुरक्षा हुने देखेर नै हामीले त्यसको उपचारको लागि मतदान गरिदियौँ,” पौडेलले भने।
ओलीबाट असहयोग हुन सक्ने कुरा प्रचण्डले नगरे पनि उनी निकटका केहीले “असहज” भएको कुरा सुनाएको पौडेलको दाबी छ।
“राष्ट्रपति र सभामुख लगायतका कतिपय कुराहरू टुङ्गो नलागिसकेको हुनाले त्यहाँ फेरि नयाँ समझदारी नयाँ गठबन्धन निर्माण गर्न सकिन्छ कि भन्ने लुप्त स्वार्थ लुकेको पनि हुनसक्छ। तर हाम्रो नेतृत्वले कुनै लेनदेनको कुरा हामीलाई भन्नु भएको छैन,” कांग्रेसकै युवा नेता प्रदीप पौडेलले बीबीसीसँग भने।

कांग्रेसको भूमिकाप्रति एमालेमा आशङ्का
संसद्को पहिलो बैठकमा कांग्रेस सभापति देउवालाई नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा सम्बोधन गरेका थिए।
तर कांग्रेसले पनि एमाले सहितको गठबन्धनका प्रधानमन्त्री प्रचण्डलाई गरेको समर्थनलाई सरकारको प्रमुख साझेदार दल एमालेले नै शङ्काको दृष्टिले हेरेको छ।
“यदि यो समर्थनभित्र सदाशयताबाहेक अरू कुरा छैन भने यदि यो समर्थन कुनै जाल होइन, ढोक्सा होइन भने स्वागतयोग्य छ,” एमाले अध्यक्ष ओलीले मङ्गलवार सदनमा भने।
“जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ। भोलिका निम्ति अरू कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ।”
कांग्रेसको समर्थनले एमाले नेतृत्वमा बनेको गठबन्धनमा आफ्नो वर्चस्व घट्ने आशङ्का मात्र नभएर गठबन्धन नै भत्काउन चलखेल हुन सक्ने आशङ्का एमालेका नेताहरूले गरेका विवरण आएका छन्।
केही गरी एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिए पनि कांग्रेसको समर्थनमा उनले सरकारलाई निरन्तरता दिन सक्ने बाटो बनेको कतिपय राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

तस्बिर स्रोत, RSS

‘लोकतन्त्रमा प्रतिपक्ष नहुँदा अधिनायकवादी व्यवस्था हुन्छ’
अब आउने केही दिनमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका पाउने वा नपाउने भन्ने बहस केन्द्रित हुनसक्छ।
संसद्को सबैभन्दा ठूलो दलले बहुमत पुर्याउन नसकेपछि स्वाभाविक रूपमा प्रतिपक्षमा बस्नुपर्थ्यो। तर उसले त्यसो गरेन। त्यसका पछाडि के कति कारण छन् त्यो बिस्तारै आउला।
शेरबहादुर देउवाले पुष्पकमल दाहाललाई मत हाल्नुपर्ने कारणबारे बताए पनि सर्वसाधारण मानिसले त्यसलाई स्वाभाविक रूपमा लिन सकेका छैनन्।
राजनीतिक रूपले पनि र ऐतिहासिक विगत बोकेको पार्टी भएका कारणले पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने थियो। तर पर्दापछाडि कस्तो खालको परिस्थिति आइपर्यो र शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले दाहाललाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्नुपर्ने भयो?

संसद्मा सरकार नै बन्न नसक्ने स्थिति पनि थिएन। नेपाली कांग्रेसले भोट नहाल्दा पनि सरकार बनाउन चाहिने सङ्ख्या गठबन्धनमा थियो भने नेपाली कांग्रेसले भोट दिनुको अर्थ के हो भनेर सर्सर्ती बाहिरबाट ठम्याउन सकिँदैन।
तर पनि एकथरी मानिसहरू देउवाले दाहाललाई विश्वासको समर्थन दिँदै गर्दा भोलि केही कारणले दाहाललाई ओलीको समर्थन फिर्ता लिने अवस्थामा कांग्रेसको समर्थन कायमै रहिरहन्छ र यो सरकारमा आफ्नो हालीमुहाली रहन्छ भन्ठान्छ। तर म त्यससँग सहमत किन छैन भने राजनीतिमा धेरै लुकीछिपी कुरा गर्दा राजनीतिप्रति साधारण मानिसहरूको वितृष्णा हुन्छ। यथार्थवादी मानिसहरू फेरि राजनीति भनेकै खेला हो भन्छन्।
यी दुई दृष्टिकोणबाट हेर्दा नेपाली कांग्रेस स्पष्ट आफ्नो बाटोमा बस्दा उचित हुन्थ्यो भन्ने मेरो विचार छ।
अब प्रश्न उठ्छ - सरकारलाई समर्थन पनि गर्ने बाहिर पनि बस्छु भन्ने पनि हुन्छ? सरकारलाई समर्थन गरेर बाहिर बस्छु भनेको ‘सेमी-अपोजिशन’ हो। अब यसले संवैधानिक परिषद् र विभिन्न (लेखा समिति) संसदीय समितिको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्छ।
एकातिर सरकारलाई समर्थन गर्ने अर्कोतिर कसरी सरकारका कामकारबाहीबारे स्वतन्त्र रूपमा प्रश्न उठाउन सकिन्छ भन्ने पनि हुन्छ।
तर सैद्धान्तिक रूपमा हेर्दा जुन लोकतन्त्रमा प्रतिपक्ष हुँदैन त्यो अधिनायकवादी व्यवस्था हुन्छ।
कांग्रेसले आफ्नो धरातल, आफ्नो कार्यकर्ताको स्थिति बुझ्नका लागि पनि केही समय एक्लै बस्नुपर्ने थियो। त्यति हुँदाहुँदै पनि यो गठबन्धनमा गडबडी हुँदा संसद्को सबैभन्दा ठूलो दलका हिसाबले सरकारको नेतृत्व गर्ने अवसर उसले पाउन सक्थ्यो।
अहिलेको समर्थन प्रचण्डलाई मात्रै हो कि एमालेसहितको गठबन्धनलाई पनि हो भन्ने स्पष्ट छैन। जे भए पनि यसले प्रतिपक्षको भूमिकालाई कमजोर बनाएको छ।
प्रधानमन्त्री चयन भइसके पनि सभामुख र राष्ट्रपति चयन हुन बाँकी नै छ। यसका लागि पनि कांग्रेसले समर्थन गरेको हो कि भन्ने अनुमानहरू पनि छन्। राजनीतिक दलहरू पदमुखी छन् र राष्ट्रपति वा सभामुखका लागि मोलमोलाइ भएको हो भन्ने पनि हल्ला सुनिन्छ।
त्यसले के बताउँछ भने दलहरू पदका लागि मात्रै हुन् कि नीति बलियो बनाउन हो भन्ने प्रश्न उब्जाएको छ।
तेस्रो दलको नेतृत्वमा बहुमत हुँदाहुँदै पनि पहिलो दलले जसरी समर्थन गरेको छ यसले राजनीतिमा राम्रो दृश्य दिएको छैन।
(बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा आधारित)


कसरी फेरिएको थियो समीकरण?
यसअघि एउटै गठबन्धनबाट चुनाव लडेका कांग्रेस र माओवादीले सीके राउतको जनमत पार्टी र रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसहितका नयाँ दलहरूको समर्थन जुटाएर नयाँ सरकार गठनका लागि बहुमत "सुनिश्चित" गरिसकेका थिए।
तर अन्तिम समयसम्म पनि पहिलो कार्यकाल सरकारको नेतृत्व पाउनुपर्ने अडानमा कांग्रेस देखिएपछि प्रचण्डले एमालेसहितका दलहरूको समर्थन जुटाएर सरकार बनाए।
प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन ओलीले नै पहल गरे। ओली निवास बालकोटमा संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका नेताहरू जुटेर बहुमत समर्थन जुटाइयो।
प्रतिनिधिसभासहित धेरैवटा प्रदेशमा ठूलो दल बनेको कांग्रेस सङ्घसहित सातै प्रदेशमा सरकारविहीन बन्ने भएपछि नेतृत्वको आलोचना समेत भइरहेको छ।
बहस यतिमा मात्रै सीमित नभएर संसद्लाई प्रतिपक्षी विहीन बनाएको आरोप पनि कांग्रेस नेतृत्वमाथि लागेको छ।

तस्बिर स्रोत, RSS
के संसद् प्रतिपक्षविहीन बनेको हो?
कांग्रेसका युवा नेताहरू अन्तिम समयसम्म पनि प्रचण्डलाई विश्वासको मत दिनु नहुने पक्षमा थिए। गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका नेताहरूले यस्तो निर्णयमा आफूहरूले असहमति राखेको बताएका छन्।
“मैले यो राजनीतिक नैतिक र कतिपय अवस्थामा कानुनी हिसाबले पनि नमिल्ने कुरा हो भनेर राखेको हुँ। पार्टी निर्णय मानेको हो तर व्यक्तिगत रूपमा असहमति छँदै थियो,” सांसद प्रदीप पौडेलले भने।
कांग्रेसले प्रधानमन्त्रीलाई मत दिए पनि संसद्मा प्रतिपक्षकै भूमिकामा रहने नेताहरूले बताएका छन्। तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेसले संसद्मा प्रतिपक्षी बेन्च पाउँछ वा पाउँदैन र प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँछ वा पाउँदैन भन्नेबारेमा समेत अन्योल देखिएको छ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यसबारे छिट्टै सचिवालयले एउटा निर्क्योल गर्ने बताए।
सरकारलाई मत दिएको दलले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले कांग्रेसले सहभागिता जनाउन पाउने वा नपाउने विषयमा समेत कानुनका जानकारहरूले फरकफरक तर्क गरेका छन्।








