प्रचण्डले पाए विश्वासको मत, कांग्रेससहित १० दलको समर्थन, विपक्षमा २ मत

तस्बिर स्रोत, RSS
सङ्घीय संसद्मा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा बनेको मिलीजुली सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेको छ।
प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका पशुपति शम्सेर जबराले प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत खसेको सदनलाई जानकारी दिए।
प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएनन्। तल्लो सदनमा ती दलका एक-एक सांसद् छन्।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ।
तर उसले "सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने" बताइसकेको छ।
तल्लो सदनमा रहेका १२ दलमध्ये प्रचण्डलाई १० दल र सबै स्वतन्त्र सांसदहरूले विश्वासको मत दिने घोषणा गरेका थिए।
प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको १६औँ दिन मङ्गलवार सरकारले विश्वासको मत प्राप्त गरेको हो।
कांग्रेससहित १० दलको समर्थन

तस्बिर स्रोत, RSS
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पुस २५ को बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले "फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहोर्याएको" बताउँदै प्रधानमन्त्री प्रचण्डका लागि "यो परीक्षणको घडी" भएको बताए।
“संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ,” प्रतिनिधिसभामा बोल्दै देउवाले भने।
“आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्य संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ।”
तर उनले कांग्रेस सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको बताए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत संसद् विघटनका विषयमा ओलीले व्यक्त गरेका धारणाबारे सत्ता गठबन्धनको धारणा माग गर्दै त्यसो नगर्न चेतावनी समेत दिएका थिए।
सरकार गठनका लागि प्रचण्डलाई बहुमत देखाउन सघाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी अझै सरकारमा सहभागी भइसकेका छैनन्।
नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, सहितका दलले सरकारलाई विश्वासको मत दिए तापनि सरकारमा सहभागिताबारे स्पष्टसँग बोलेका छैनन्।
पाँच निर्वाचित स्वतन्त्र सांसदमध्ये किरणकुमार साह एमालेमा र लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
बाँकी तीन स्वतन्त्र सांसदमध्ये अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सरकारलाई विश्वासको मत दिएका छन्।
विश्वासको मत माग्दा प्रचण्डले के भने?

तस्बिर स्रोत, RSS
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले आफू यस पटक "सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र उपस्थित नभएको" बताएका थिए।
“म विश्वास दिलाउँछु - हरेक पटक संसद्मा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु,” उनले भने।
“सिङ्गो सदनको साझा प्रधानमन्त्रीका रूपमा मलाई राष्ट्रनिर्माणको नेतृत्व गर्ने एउटा मौका मिलोस्।”
उनले २०७२ सालको भूकम्पपछि संसद्मा प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई "यो सङ्कटमा अब संसद्मा कुनै पक्ष–प्रतिपक्ष छैन" भनेको स्मरण गरेका थिए।
देश अझै 'सङ्कटमा रहेको' बताउँदै उनले अर्थतन्त्रका सूचकहरू राम्रो नभएको, शान्तिप्रक्रियाका कामहरू बाँकी रहेको, निरपेक्ष गरिबीमा झन्डै ५० लाख नेपालीहरू रहेको, लाखौँ युवालाई विदेशमा काम गरिरहेको बताउँदै "सिङ्गो देश एक ठाउँमा उभिन" आग्रह गरेका थिए।
उनले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग अनुभव र टीम दुवैको अभावमा "विभाजित मनोदशा'मा रहेको र पार्टीभित्रको सङ्घर्षमा बढी रुमल्लिएको बताए।
दोस्रो कार्यकालका बेला राजनीतिक सहमतिको 'अक्षरशः पालना गर्दै' सत्ताहस्तान्तरण गरेको उनले बताए।
प्रचण्डले अर्थपूर्ण र विश्वासपूर्ण सहकार्य तथा विधिको शासनमा जोड दिए।
मतदान सुरुअघि सांसदलहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रचण्डले सत्ता साझेदार दलहरूबीच "मतभेद" भए पनि गठबन्धनको एकताको आधार आफूहरूले तय गरेको साझा नीति कार्यक्रम रहेको बताए।
"हिजो सदन विघटन गर्नु सही थियो, थिएन; यो अहिले सत्ता साझेदारीभित्रको विषय होइन," उनले भने।
"यो संविधान कार्यान्वयन गर्ने कुराप्रति हाम्रो गम्भीरता र प्रतिबद्धता कायम छ।"
उनले "सदनबाटै कानुनसम्मत ढङ्गले ऐन बनाएर" टीकापुर हिंसाको सजाय झेलिरहेका रेशम चौधरी लगायतका "त्यस किसिमले बन्दी बनाइएका नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइने" समेत बताए।
प्रचण्डले अहिले आफू प्रधानमन्त्री भएपछि दौरासुरुवाल लगाएकोमा भएका चर्चा र आलोचनाबारे पनि बोलेका थिए।
ओलीको कटाक्ष

तस्बिर स्रोत, RSS
नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको विषयमा केपी शर्मा ओलीले देउवाले "प्रजातन्त्रको नयाँ भाष्य निर्माण गरेको" बताए।
कांग्रेसले पुष्पकमल दाहाललाई समर्थन गर्नु नपर्ने कुनै कारण नभएको बताउँदै ओलीले भने, “दुई वर्षपछि समर्थन गर्छु भनेकै थियो अहिले किन नमिल्ने!”
ओलीले आफूले दुई पटक गरेको संसद् विघटनको प्रतिरक्षा गरे।
नेपाली काङ्ग्रेसले सरकारलाई मत दिएको विषयमा ओलीले कटाक्ष गर्दै "सदाशयताबाहेक अरू केही होइन भने"... "जाल होइन भने" त्यो स्वागतयोग्य रहेको बताए।










